हमास-इजरायलबीचको युद्ध ‘विराम’ हुने खबरले कम्ता उत्साहित थिएनन्, कञ्चनपुर भीमदत्त नगरपालिका-३ का महानन्द जोशी। जसरी अहिले गाजा अनि इजरायल र प्यालेस्टाइनमा खुसी र उत्साह छ।
महानन्द विपिन जोशीका बा हुन्। विपिन उनै हुन्, जसको युद्दसँग कुनै सम्बन्ध छैन, सहयोग न समर्थन। तर, ‘सिक्दै कमाउँदै’ कार्यक्रमका लागि इजरायल गएका उनी १५ महिनादेखि अपराधी झैं हमासको कब्जामा छन्।
हमास-इजरायलको युद्धविरामको खबरले विपिनका बालाई उत्साहित बनाउने अन्य कुनै कारण थिएन, मात्र छोरा विपिन रिहा हुन्छन् कि भन्ने आशा पलाएर हो।
युद्धविराम हुने खबर सार्वजनिक भयो। हमासले कब्जामा लिएकाहरूलाई छाड्ने भन्यो। पहिले ३४ जनाको नाम भनिएपनि युद्धविराम हुँदा आइतबार ३३ जनाको नाम हमासले सार्वजनिक गर्यो। ३ जनालाई आइतबार नै रिहा गर्यो।
तर सार्वजनिक भएको ३३ जनाको नाममा विपिनको नाम नभएको थाहा पाएपछि युद्धविरामको खबरले उत्साहित बनेका विपिनका बालाई फेरि दुखी तुल्याएको छ। ‘बाबु (विपिन)को नाम नभएको थाहा पाएपछि फेरि दुःखित छौँ’, बिएल नेपाली सेवासँगको छोटो फोन कुराकानीमा विपिनका बा महानन्दले भने।
विपिन सुदूरपश्चिम विश्वविद्यालयमा कृषिविज्ञान पढ्थे। उनी इजरायल सरकारसँगको समन्वयमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत २७ भदौ २०८०मा इजरायल गएका थिए।
विपिनसँगै कृषि फर्ममा काम सिक्दै गरेका १७ जना नेपालीमध्ये २० असोज २०८० मा १० जनाले हमासको आक्रमणमा ज्यान गुमाए। चार जना घाइते भएका थिए र दुई जना सकुशल थिए। विपिन भने सम्पर्कबिहीन भए।
पछि नेपाल सरकारले उद्धार गरेका विद्यार्थीहरूले हमासले प्रहार गरेको बम छेकेर विपिनले आफूहरूलाई बचाएको बताएका थिए। त्यसको केही समयपछि विपिन हमासको नियन्त्रणमा रहेको खबरहरू सार्वजनिक भए।
त्यसपछि विपिनको उद्धारका लागि १५ महिनामा दुई पटक परिवर्तन भएका सरकारका प्रमुखहरूले प्रयास गरेका छन्। कतारलाई समन्वयन गरिदिन आग्रह गरिरहेका छन्।
कतार हमास-इजरायल युद्धविरामको मध्यस्थकर्ता हो। पछिल्लो समय परराष्ट्रमन्त्री भएकी आरजु राणा देउवाले पटक-पटक विपिनको रिहाका लागि छलफल गरिरहेकी छन्।
तर, हमास-इजरायलको युद्धविरामको पहिलो चरणमा विपिन रिहा हुन सकेनन्। ‘बाबुको खबर के छ थाहा छैन। अब तपाईंहरू (पत्रकार)ले पनि भन्नुपर्यो। म सरकारलाई पनि भन्छु, छिटो बाबुको रिहा गरेर देश ल्याइयोस्’, विपिनका बाले भने।