पुर्वी मोरङकै कांग्रेस राजनीतिमा सम्भावना बोकेका कार्यकर्ताहरुलाई कांग्रेसको मोरङ १ नम्बर क्षेत्रीय समितिले षड्यन्त्रपुर्वक पाखा लगाएको आरोप लागेको छ।
वडा अधिवेशनको पुर्वसन्ध्यामा विज्ञप्ति जारी गरी तरुण दल मोरङका सचिवसमेत रहेका उर्लाबारीका प्रभावशाली युवा नेता सचिन शाक्यले क्रियाशील सदस्यता वितरणमा हेराफेरि गरिएको जनाएका छन्। वडा अधिवेशनमा उम्मेद्वार बनेका कार्यकर्तालाई उम्मेद्वारीबाट वञ्चित गर्ने कार्य भएको भन्दै उनीसहित उर्लाबारी–६ का सातजना क्रियाशिल सदस्यले वडाअधिवेशन बहिस्कार गरेका छन्। शाक्यसंगै बलराम बोहोरा, रुद्र रिजाल, विवेक खतिवडा, पुजा राई, यज्ञ भण्डारी र प्रवीन राईले वडाअधिवेशन बहिस्कार गरेका हुन्।
क्रियाशिल सदस्यको नाम फेरबदल गरिएको, कसैको बावुको नाम र वतन नै फेरिएको, कोठे बैठक गरेर क्रियाशिल सदस्यता वितरण गरिएको तथा कांग्रेसप्रति निष्ठावान र बफादार कार्यकर्तालाई क्रियाशिल सदस्यताबाट हटाइएको शाक्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। उनले उर्लाबारीको अधिवेशनप्रति आफुहरुको घोर भत्र्सना रहेकोपनि जनाए। उर्लाबारी –६ का वडा सदस्यसमेत रहेका शाक्यले आन्तरिक लोकतन्त्रको दृष्टिकोणबाट नेपाली कांग्रेसका कार्यकर्ताहरु ठूलो अपमानित हुनु परेको बताए।
उनले भने–‘आन्तरिक लोकतन्त्रको दृष्टिकोणबाट नेपाली कांग्रेसका कार्यकर्ताहरु यो भन्दा ठूलो अपमानित कहिलै पनि भएका थिएनन्। आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको कुराको अनुभूति भयो।यस्तै, कांग्रेसका पुराना कार्यकर्ता रुद्र रिजालले क्षेत्रीय समितिले निस्क्रिय मान्छेलाई उठाएर जबरजस्ती टिका लगाइको आरोप लगाए ।
वडा सभापतिका प्रत्यासीसमेत रहेका बलराम बोहोराले आफूले पार्टीप्रति गरेको योगदानको कदर नभएको बताए । वडा नम्बर –६ मा कांग्रेसका ९७ जना क्रियाशिल सदस्य रहेका छन् । स्रोतका अनुसार आफ्ना निकटवर्तीलाई नेतृत्वमा ल्याउन पार्टीका क्षेत्रीय सभापति खड्ग फागोले निर्वाचनको मनोनयनमै हस्तक्षेप गरेका हुन् । ६ नम्बर वडामा उनी निकटका महेन्द्र श्रेष्ठलाई वाड सभापति बनाउन र नगरको सभापतिमा आफ्नै भाञ्जा सुरेन्द्र लिम्बूलाई स्थापित गर्न फागोले बलजफ्ति गरेको एक कार्यकर्ताले बताए ।