जुम्लाको तीला गाउँपालिका–१ राराका तारक बस्नेत २२ वर्षका भए। घरको आर्थिक अवस्था राम्रो नभएका कारण उनले पढ्न पाएनन्। उसो त घरको अवस्था अहिले पनि राम्रो बनिसकेको छैन।
उनकी आमा बेलाबेला बिरामी परिरहने हुनाले उनको स्कुल जाने रहर, रहरमै सीमित भयो। त्यसैले सानै उमेरमा उनले कुनै न कुनै हिसाबबाट अर्थोपार्जनसँग जोडिनुपर्ने भयो।
पहिलोपल्ट १७ वर्षको उमेरमा उनी कमाउनलाई भनि इन्डिया गएका थिए। त्यसपछि इन्डियाको कन्न पर्याकमा आउजाउ चलिरहयो। त्यहाँ उनले हाउस वाइरिङको काम पाए। त्योभन्दा पहिला उनले हाउस वाइरिङको काम जानेका थिएनन्। कहिले नसिकेको काम भएपनि गर्दै, सिक्दै गरौंला भन्ने सोचेर काम थाले। त्यो विधि उनलाई फाप्यो पनि। नजानेका मान्छेका लागि यो उत्तम विधि रहेछ।
गर्दै सिक्दै गरेका उनले ठेकेदारकोमा नियमित काम पाए। त्यो कामले उनलाई दैनिक पाँच सय बराबरको ज्याला कमाउने बनायो। खाना लाउन कटाएर दिनको नेपाली पाँच सय जति बचाइरहेका उनले सोचेका थिए, ‘यहाँबाट कमाएको पैसा लिएर गाउँमा खर्चपर्च चलाउँला र त्यो सकिएपछि फर्किएर यतै आउँला।’
त्यसरी नै उनले पनि गुजारा चलिजाला भन्ने सोचेको थिए। तारादेवीको गीत जस्तै सोचेजस्तो जीवन नहुने रहेछ। समयको सुई उनले सोचेजसरी चलेन। त्यहि बेला विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोनाको पहिलो लहर आयो। चीनबाट सुरु भएर युरोप, अमेरिका हुँदै कोरोना भारतसम्म आइपुगेपछि तारकलगायत इन्डियामा काम गरिरहेका नेपाली कामदारहरुले सोच्नुपर्ने दिन आइलागे।
सोचविपरित समयको सुई दौडिएपछि उनले आफू पनि बदलिनुबाहेक विकल्प थिएन। संसारभरका परदेशीहरुलाई पराई देशले बास दिएनन्। अरु बेला सस्ता कामदारको रुपमा लगाउन पाएका साहुहरुले विपद्को बेला एक छाकको लोभ गरेर तिम्रै घर जाउ भनी फर्काइदिए।
रोटी र बेटीको सम्बन्ध भएको इन्डियाले पनि नेपाली कामदारहरुलाई आफ्नो बाटो लाग नै भन्न लाग्यो। त्यसपछि कोरोनाबाट बच्न भनि सिमाना कटाउन नेपालीको ताँती लाग्यो। त्यही ताँतीका एक सदस्य थिए, तारक। त्यो लाइनले कोरोना फैलनबाट रोकेन, बरु झन फैलने वातावरण बनायो।
उनी क्वारेन्टाइनका चिसा बेडमा दिन कटाउँदै आफ्नै घर रारामा पुगे। त्यसपछि आफ्नो देश नछोड्ने भनेर कुल देउताको कसम खाए। देउतालाई जसरी हुन्छ केही काम मिलाइदिन र आफ्ना लागि दाइने भइदिन भेटी चढाए। भेटी चढाएर पनि उनले भनेजस्तो काम पाउन सकेनन्। कोरोनाको दोस्रो लहरसम्म पनि उनी बेरोजगार नै बस्नुपर्ने भयो।
उनले इन्डियामा सिकेको सीप भनेको हाउस वाइरिङ मात्रै थियो। राष्ट्रिय प्रसारण लाइन नपुगेको र गाउँमा राम्रो बिजुली नपुगेको तिला गाउँपालिकामा उनको सीपले काम गरेन। त्यसैले उनले सबैभन्दा नजिकको सरकारका प्रतिनिधि वडा अध्यक्षलाई सहयोग मिलाइदिन आग्रह गरेका थिए।
लामो समय बेरोजगार हुँदा उनले पुरानो घर भत्काएर नयाँ बनाए। त्यो घर बनाउँदा गाउँका सिपालु मिस्त्रीहरुले गरेको काम हेरेर उनले सिके। घरका झ्याल ढोका, तीनका खापा सबै आफैँले बनाए। कुनै पनि तालिम नलिइक नै उनले काठकाे काम गर्न सिके। त्यसमा उनको रुचिले पनि ज्यादा प्रभाव पारेको छ। जसबाट उनले अब यही काम गर्दा पनि केही कमाइ हुन्छ कि भन्ने आश मान्न थाले।
त्यही बिचमा काेरोनाले प्रभावित भएका, पुरानो व्यवसाय विस्तार गर्नका लागि अप्ठ्याराेमा परेका र सानो सहयोगले उत्प्रेरित हुन सक्नेलाई वडाको सिफारिसमा वर्ल्ड भिजन इन्टरनेशनल नेपालको सहयोग तथा किर्डाक नेपालको साझेदारीमा संचालित साना व्यवसाय तथा रोजगारीको माध्यमबाट आम्दानी वृद्धि गर्ने (Raising Income through small Enterprise and Employment -RISE project) परियोजनाले मिस्त्री काम गर्न सामग्री सहयोग गर्यो।
उक्त परियोजनाबाट उनले ड्रिल मेसिन, राउटर, इलेक्ट्रोनिक रन्दा, ग्यालेन्डर, हाते रन्दा, आरी, बटनलगायत सामग्री सहयोग पाए। त्यो सामग्री पाएपछि उनलाई काम गर्न निकै सहज भयो। उनले सोचेजस्तै भयो। भर्खर मन लगाएर सिकेको सीप विस्तार गर्नका लागि उनलाई ठुलो हौसला मिल्यो।
हाल उनले सानो सहयोगबाट आफ्नो भविष्य बन्न सक्ने कल्पना गर्न थालेका छन्। ‘मलाई त अब यही काम नै गरौंला भन्ने लागेको छ,’ उनले भने, ‘मेसिन पनि छँदैछन्। जतिबेला पनि काम गर्न सक्ने भएको छु।’
सुरुमा आफ्नै घरलाई उनले प्रयोगात्मक कक्षा बनाए। त्यो प्रयोग सफल भयो। त्यसपछि अरु गाउँलेहरुले पनि पत्याउन थाले। आजभोलि उनलाई गाउँमा घर बनाउनेहरुले काठ कामको लागि सम्झिने गरेका छन्।
उनले काम थालेदेखि हालसम्म आफ्नो घर छोडेर अरु दुई जनाको ठेक्का पनि लगिसकेका छन्। त्यसबाट उनले इन्डियामा महिना दिनमा कमाइ हुने जति ८/१० दिनमै कमाए।
‘उता हुँदा महिना दिनमा मुस्किलले पन्ध्र हजार जति बच्थ्यो। अहिले त्यति त ८/१० दिन कस्सिएर गर्यो भने त्यति बच्छ,’ उनले भने, ‘घरमै बसी आमाले पकाएको खाना खाएर काम गर्न पाउनु पनि भाग्यकै कुरा रहेछ । अब त म मरिगए पनि इन्डिया जान्न।’
हाल उनका भाइ पनि इन्डिया गएका छन्। उनले भाइलाई यतै सँगै मिलेर काम गरौं भनेका थिए। तर भाई अरु साथीहरुसँग भागेर गइहाले। उनलाई अब भाइले उता गएर दुःख के हो बुझरे चाँडै फर्की आउँछ भन्ने लागेको छ।
‘हामीले पनि उता हुँदा खुब अपमानित हुनुपरेको थियो। साहुलाई जीउजीउ गरी कमाएर थोरै बचतसम्म पनि गर्न नपाई फर्कनु परेको थियो,’ उनले भने, ‘भाइले पनि पराई देश के हो भनेर बुझेर आउला। अनी दुबै जना मिलेर अरु धेरै ठेक्का लिएर सँगै काम गरौंला भन्ने सोचेको छु।’
उनले हालसम्म सिकेका दुबै सीप गर्दै, सिक्दै गरेका हुन्। हाउस वाइरिङबाट करिअर सुरु गरेका उनी हाल काठ कामका लागि दक्ष मिस्त्री बन्ने दौडमा छन्। सफलताको पहिलो खुड्किलो उनले पार गरिसकेको छन्। त्यही अनुरुप काम पनि आइरहको छ।
आजभोलि बिजुलीबाट चल्ने मेसिनमा केही खराबी आयो भने तारक आफैँ बनाउँछन्। नयाँ सीपका लागि सहयोग पाएका मेसिनलाई मर्मत सम्भार गर्नु परेमा पुरानो सीप काम लागेको छ। उनी खुसी छन्, जतिबेला पनि मुस्कुराइरहेका भेटिन्छन्।