हाम्रो पहिलो भेट
महिला मुक्ति आन्दोलनको दिन भएको थियो
गुप्तचर र आन्दोलनकारीहरुले घेरिनुभएको थियो तपाईं
तपाईंको हातमा
‘आदिवासी आवाज’ नामको बुलेटिन थियो
बुङ्बुङ्ती उडिरहेको धूलो
र चर्को घाममुनि
कलेजी रङको कुर्ता सुरूवालमा
ठिंग उभिनुभएको थियो तपाईं
देहातको कुनै खडेरीग्रस्त खेतमा
मुस्किलले
पसाउन लागेको केराको बुङ्गाझैं
अथवा
असंख्य हिन्दुहरुका बीचमा तसलीमा नसरीनझैं
वा
असंख्य मुस्लिमहरुका बीचमा मलालाझैं
अथवा
असंख्य बुद्धिस्टहरुका बीचमा बुद्धझैं
वा
असंख्य क्रिस्चियनहरुका बीचमा जिससझैं
अथवा
घना अन्धकारबीच
बतासले हल्लाइरहेको दीपझैं
कुनै सुदूर सपनाको उज्यालोले
धप्प बलिरहनुभएको थियो तपाईं।
शृङ्गारका नाममा
घुच्चुकमाथि
गुजुल्टो पारिएको केशराशिभित्र नीलो डट्पेन थियो
कलिलो खुट्टामा आधा खिइएको कालो सेन्डिल
र सेन्डिलभित्र –
यात्राले चिथोरेको जब्बर कुर्कुच्चा थियो
त्यही कुर्कुच्चाको गति कल्पेर मैले
पहिलोपल्ट सोधेको थिएँ–
‘हजुरको शुभ नाम के होला ?’
अन्कनाउँदै
उत्तर दिनुभएको थियो तपाईंले –
‘...गीता ’
सर्माउँदै
फेरि सोधेको थिएँ मैले –
‘घर कता पर्यो कुन्नि ?’
सहजै
बताउनुभएको थियो तपाईंले –
‘गोरखा ’
के गर्दै हुनुहुन्छ ?
`पढ्दै छु´
कहाँ ?
`पद्मकन्यामा´
हातको त्यो के होला ?
`हाम्रो पत्रिका´
तपाईं पत्रकार हो ?
`सिक्दै छु´
फोन नम्बर पाउन सकिन्थ्यो कि ?
`पत्रिकामा छ´
त्यसपछि
हात फैलाएको थिएँ मैले
पत्रिका थमाउनुभएको थियो तपाईंले।
म्याडम गीता !
वास्तवमा त्यतिबेला
तपाईंलाई पत्तै भएन कि,
आफ्नो जीवनमा आइपर्ने यति ठूलो घुम्तीको
यति कठिन र पट्यारलाग्दो यात्रा तय गर्न तपाईं
कति सजिलै
यसरी स्टेट्मेन्ट दिइरहनुभएको छ
मानौं-
एउटा चाटुकार साहुले अचानक
इमानदार नोकर फेला पारेपछि
स्वाङ पार्दै अन्तर्वार्ता लिइरहेको छ, तपाईं दिइरहनुभएको छ।
मानौं-
विश्व शान्तिका लागि
ट्रम्प प्रश्न सोधिरहेछ, सुलेमानी उत्तर दिइरहेछ।
कलेज पस्नुअघि
कलेजबाट निस्कनासाथ
अफिस छिर्नुअघि
अफिसबाट निस्कनासाथ
जुलुसमा मिसिनुअघि
जुलुसबाट फर्किनासाथ
डेरा पुग्नुअघि
डेराबाट निस्कनासाथ...
एक दिन आखिर
हार खानुभो तपाईं
र तयार हुनुभो –
एक आधुनिक बँधुवा मजदुर हुन
हुनुभो – म्याडम गीता।
बच्चाहरु भए
कलेज छुट्यो
पत्रकारिता छुट्यो
समाजसेवा
आन्दोलन
जुलुस धर्ना
भाषण सब छुट्यो।
आइलाग्यो –
जुठो भाँडा
मैलो लुगा
फोहोर चोटाकोठा
श्रीमानको कमिजको खुस्किएको टाँक
आइरन, पालिस, कुचो, टिफिन, स्कुल फी
र कवि।
यसरी,-
तपाईंको यात्राको दूरी
मात्र साढे एक किलोमिटरमा खुम्चियो अचानक
तय भयो – घरदेखि बच्चाहरुको स्कुल
र स्कुलदेखि लोग्नेको घर।
आश्चर्य !
तर आज तपाईं
यी सब छोडेर
अघिदेखि नुहाइरहनुभएको छ बाथरूममा
र म,
तपाईंले आफ्नो शरीरमा खन्याइरहनुभएकाे
पानीको कडा संगीत
सुनिरहेको छु यहाँ।
म्याडम गीता !
म कम्युनिस्ट कवि हुँ
लौ न,
हाम्रो पहिलो भेटको त्यो महान् दिनको याद आयो मलाई
म, क्रान्तिले उद्वेलित भइरहेछु अहिले
यदि तपाईं –
खोल्नुहुन्छ भने बाथरूमको ढोका
तपाईंलाई म
निसर्त टाबेल टक्र्याउन तयार छु।