किन रहस्यमय बन्यो संखुवासभा सामूहिक हत्या प्रकरण ? थप ६ जना माथि अनुसन्धान गर्दै प्रहरी

सङ्खुवासभाको मादी नगरपालिका–१ को उमलिङ खोलागाउँमा भएको सामूहिक हत्या काण्ड रहस्यमय बन्दै गएको छ।

प्रहरीले थप ६ जनामाथि अनुसन्धान सुरु गरिरहेको छ। मुख्य अभियुक्त लोकबहादुर कार्कीका भाइ नरेश उनका बुबा, काका, काकी र दुई जना छोराहरूमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको हो।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरी स्रोतले जनाएको छ। हत्यामा संलग्न लोकबहादुर र उनका भाइ नरेश बाहेक अन्य ५ जनामाथि प्रहरीले अनुसन्धान थालेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको भनाई छ।

उनीहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खादबाँरी लगिएको छ। अहिलेसम्म प्रहरीले आधिकारिक रूपमा पक्राउ पर्नेहरूको बारेमा भने कसैलाई जानकारी दिएको छैन। तर प्रहरीले केही दिन भित्रै मादी हत्या काण्डका विषयमा सार्वजनिक गर्ने जनाएको छ।

अनुसन्धानका क्रममा रहेकाले अनुसन्धानमा राखिएकाहरूको नाम प्रहरीले बताएको छैन। अनुसन्धानको दायरामा परेका ६ जना मध्ये केही व्यक्ति हत्यामा समेत संलग्न हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको एक अनुसन्धान अधिकृतले जानकारी दिए।

लोकबहादुरको घरमै मृतक रञ्जनाको मोबाइल फेला परेपछि प्रहरीले लोकबहादुरको भाइ नरेश माथि अनुसन्धान सुरु गरेको हो। लोकबहादुर र उनका भाइ नरेशसँगको बयानका आधारमा प्रहरीले थप ५ जनालाई प्रहरी अनुसन्धानको दायरामा ल्याएको प्रहरीले बताएको छ।

घटनाको पाँचौँ दिन अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरिएको थियो। मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान टोली पुनः घटना स्थल केन्द्रित बनेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक लालध्वज सुबेदीले बताए।

हत्या आरोपमा पक्राउ परेका लोकबहादुरको घरबाट बिहीबार मोबाइल भेटिएको थियो। रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै गायब थियो। मोबाइल बन्द भएकाले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो। घटनाबारे थप प्रमाण फेला परेपछि थप प्रहरीको टोली घटना स्थल पुगेर पुनः अनुसन्धानमा लागेका छन्।

लोकबहादुरलाई सार्वजनिक गरेकै दिन सङ्घीय इकाई प्रहरी कार्यालय धरानका एसपी भीम दाहाल, प्रदेश १ प्रहरी प्रमुख डिआइजी अरुणकुमार बिसी, केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी रुगमबहादुर कुँवरसहितको अनुसन्धान टोली घटना स्थलबाट फर्किएका थिए।

थप अनुसन्धान र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा सहितको १० जनाको टोली भने घटना स्थलमै थियो। सामूहिक हत्याको आरोपमा गएको आइतबार प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ।

मादी नगरपालिका–१ का ५७ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वता कार्की, ५८ वर्षीया श्रीमती मनमाया कार्की, ३२ वर्षीया बुहारी रञ्जना कार्की, १० वर्षीय नाति दीपक कार्की र ५ वर्षीया नातिनी गोमा कार्कीको बीभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो।तेजबहादुरको शव घरको आँगनमा फेला परेको थियाे भने श्रीमती मनमाया र बुहारी रन्जनाको घरनजिकै खोल्सीमा भेटिएको थियाे। तेजबहादुरका नाति र नातिना दीपक र गोमाको शव घरदेखि माथि मकै बारीमा भेटिएको थियो।

प्रकाशित मिति: : 2021-09-19 21:05:00

प्रतिकृया दिनुहोस्