नाटक: रोगन

अभावकाे पर्खालभित्र आफ्नै रंग भुलेर अरूकाे घर रङ्ग्याउनेहरू

Breaknlinks
Breaknlinks

जसरी रंगहरुको विविधता मिलेर रङ्गिन ईन्द्रेणी बन्छ। त्यस्तै भिन्न लक्षण बोकेका पात्रहरुको अभिनयको मिश्रणले साँच्चै ईन्द्रेणी जस्तै सुन्दर बनेको छ, राेगन। अझ भनौँ, ईन्द्रेणी त क्षण भरको लागि हो। तर, रोगनले साढे १ घण्टा लामो समयसम्म आफ्नो रङ्गिन रङहरु देखाउँन सक्नु चानचुने कुरा हुँदै होईन।

यस नाटकमा देखिने हरेक पात्रको आफ्नै अभावहरू छन्। उनीहरु आफ्नो अभावको पीडाबीच पनि एउटा सुनौलो दिन आउने आशमा काम गर्दै छन्। आफ्नो अभाव पूर्तिका लागि उनीहरुले भोकै प्यासै काम गर्दै छन। रंग रोगन गर्दै छन्।

नाटकमा देखिने पात्रहरू सबैको आफ्नै पीडा र रोदनहरु छन। उनीहरु रंग लगाइरहेका छन। ठूला भवनका भित्ताहरु पोतेकै छन्। आफ्नो कपडामा पोखिएका रङ्गहरुको अनियन्त्रित मिश्रणले उनीहरुको आफ्नो रंग छोपिएको छ। तर, उनीहरुलाई त्यो सोच्ने र नियाल्ने फुर्सद भने छैन। आफ्नो प्राथमिक रंग भुलेर पनि अभाव पूर्तिको लागि उनीहरु रङसँग खेलिरहेका छन।

उनीहरु रंगको फरकपनमा अल्झिरहेका छन्। अझ भनौँ, उनीहरुलाई यहाँको व्यवस्था र अवस्थाले अल्झाइरहेको छ। पुरानो ठेकेदारले सपना बाड्यो, झुठो आशमा काम लगायो। तर, त्यसको प्रतिफल उनीहरुले कहिल्यै पाएनन्। एउटा ठेकेदारले दिएको झुटको घाउ नपुरिदै फेरि अर्को ठेकेदार सपना बाड्न आइपुग्छ। उसले पनि सपना बाड्छ, लोभ देखाउँछ। तर, उसले पनि उनीहरुको भोक/रोग शोकबाट मुक्ति नदिने कुरा छर्लङ्ग छ।

कहिले नभेटिने ठेकेदार, हराएका घरमुली, फेरिईरहने नयाँ मालिकहरु, रङ्ग लगाउँन जिम्मा लिने ठेकेदारहरु सबैले आशा देखाइरहन्छन्। जसरी राज्य संचालनमा रहेका व्यक्तिहरूले चुनावमा जनता झुलाउँछन। त्यस्तैगरी झुलाउने ठेकेदारहरुले रङ्ग लगाउने पात्रहरुलाई झुलाइरहेछन।

दृश्यमा देखिने मालिक वर्गले अमेरिका र भारतलाई प्रत्यक्ष ईङ्गित गरेको छ। फातिमा सुमारको रुप दिने पात्र, त्यस्तै हिन्दी भाषा बोल्ने पात्रले भारतकाे प्रतिनिधित्व गरेको छन। नाटकको सामान्य पात्र र प्रस्तुतिबाट असाधारण सन्देश दिनसक्नु नाटकको समग्र सफलता हो।

नाटकमा नेपाली राजनीतिक अस्थिरता, वर्ग विभेद र वैदेशिक हस्तक्षेपलाई अत्यन्तै सरल तरिकाले रंगसँग मिसाएर प्रस्तुत गरिएको छ। सामान्य नागरिकहरुको सिंहदरबार सँगको दुरीलाई एउटा सेतो घर कल्पना गरेका छन्। जन्मिन समेत अनुमति लिनुपर्ने, मर्नलाई पनि अनुमति लिनुपर्ने दृश्यले हाम्रो दर्दनाक अवस्थालाई देखाइएको छ।

नाटकमा प्रयोग गरिएका पात्रहरूबीचकाे संवादले नाटकलाई साँच्चै जीवन्त बनाएको थियो। एकदमै झिना गल्तीहरुको बिचमा नाटक निकै उत्कृष्ट रहेको छ। निर्देशन पक्ष, प्रस्तुति, कथा संवादले नाटकलाई आँखामा नबिझ्ने गरी प्रस्तुत गरेका छन्।

नाटकमा कलाकार समीक्षा पौडेल, सनिपहाङ राई, श्याम कार्की, युदिप सिटौला, सुजेन सिलवाल, समिशन जिसी, सागर कार्की, रेनुसा थापा, गीता सोब, सन्तोष गिरी, सुजन खतिवडा, रिमेश सोनी, सोभियत सापकोटा, सिरपा मानन्धर, सिद्धार्थ सिंह, सम्योग गुरागाईं, गौरव कायस्थको अभिनय रहेको छ। नाटकको कथा लेखन संयोग गुरागाई र निर्देशन राजन खतिवडाले गरेका हुन्।

प्रकाशित मिति: : 2022-03-19 21:17:00

प्रतिकृया दिनुहोस्