करिब ५ वर्षको अन्तरालपछि स्थानीय तहको निर्वाचन हुँदैछ। त्यसैले राजनीतिक दलहरू आफ्नो पक्षमा जनमत जुटाउन कार्यकर्ता भेला, प्रशिक्षणलगायत कार्यक्रममा जुट्न थालिसकेका छन्।
फेरि पनि जनता आफूले मन पराएका उम्मेदवारलाई मत दिएर स्थानीय जनप्रतिनिध चुन्नेछन्। आउँदो वैशाख ३० गतेका लागि तोकिएको निर्वाचनको पर्खाइमा छन्, आम नेपाली। विगतलाई हेर्ने हो भने पछिल्ला ५ वर्षको अवधिमा कतिपय जनप्रतिनिधिले सोचेभन्दा राम्रो काम गरी आफ्नो क्षेत्रकाे विकास गरेका छन्। भने, केही जनप्रतिनिधिहरूका वाचा पर्चामै सिमित भए।
गाउँ–गाउँमा सिंहदरबार भनिएकाे स्थानीय सरकारले गाउँमा गरेका गतिविधिलाई नागरिकहरूले नजिकबाट नियाल्न पाएका छन्। त्यसैले जनप्रतिनिधिकाे कार्यशैलीप्रति आममानिस सचेत बनेका छन्। हाल स्थानीय तहका विभिन्न पदमा उम्मेदवारी दिने आकांक्षीहरू देखा परेसँगै मानिसहरू पनि कस्ता व्यक्तिलाई निर्वाचित गर्ने भन्ने कुरा साेच्न थालेका छन्। यही सन्दर्भमा हामीले पर्साका केही मानिसलाई अबकाे स्थानीय तहमा कस्ता जनप्रतिनिधि आउनुपर्ला भनेर साेधेका छाैँ:-
प्रभाकर गुप्ता, केन्द्रिय सदस्य, अनेरास्ववियु (क्रान्तिकारी)
जनप्रतिनिधि भनेको जनताद्वारा चुनिएर आएको प्रतिनिधि हो भन्ने बूझनुपर्छ। मुख्य रूपमा स्थानीय मुद्दालाई ध्यानमा राखी काम गर्ने जनप्रतिनिधि हुनु पर्यो। संघीय र प्रादेशिकभन्दा स्थानीय तहको चुनाव फरक हुन्छ। संघ र प्रदेशले नीति निर्माण गर्ने चुनाव हो। तर, स्थानीय चुनाव भनेको नीति निर्माण कानून तथा योजना कार्यक्रम बनाउने, शासकीय पद्दति लागू गर्ने सरकार हो। जनताको मुद्दा स्थानीय स्तरको मुद्दा विकास निर्माणको मुद्दालाई जोड्तोडले स्थापित गर्ने आफ्नो वर्ग र समुदायको पक्षमा निर्धक्क बोल्ने उम्मेदवार हुनुपर्ने हो।
स्थानीय आवश्यक्ताअनुसार राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक नीति योजना र कार्यक्रमको निर्माण गर्ने उम्मेदवार हुनुपर्छ। शिक्षा, स्वास्थ्य, रोजगारीको साथै उत्पादनसँग जोडेको मुद्दा उठान गर्न सक्ने जनप्रतिनिधि हुनुपर्छ। मेरो विचारमा राजनीति नै न बुझेको नयाँ अनुहार, सेलेब्रेटीलाई उम्मेदवार हुनबाट निषेध गर्नुपर्छ।
दिलिपराज कार्की, युवा नेता, नेपाली काँग्रेस
स्थानीय क्षेत्रकाे विकासकाे लागि सही भिजन भएकाे, स्थानीयकाे मर्म बुझेकाे, इतिहास बुझेकाे तथा शिक्षित र सभ्य आचरण भएकाे मानिसलाई जनप्रतिनिधिमा निर्वाचित गर्नुपर्छ।
समुदायमा लगानी गरेका र समाजलाई व्यवस्थित गरेर यसको आवश्यकतासहितकाे विकास गर्न सकेपनि व्यक्तिकाे रूचि फरक हुनसक्छ। त्यसैले नयाँ पुस्ताहरुले पैसाको प्रलोभनमा पर्ने र व्यक्तिगत स्वार्थ पूरा गर्ने मात्रै साेच भएका व्यक्तिबारे गभ्मीर भएर साेच्न जरूरी छ। अहिलेका युवा समाजिक जीवन उकास्नलाई लगानी गर्न चाहने र विकृति विसङ्गतीलाई न्यूनीकरण गर्न चाहने, नि:स्वार्थ नेतृत्वकाे खोजीमा छन। महिला, बालबालिका, वृद्धा, विद्यार्थी, अपाङ्ग र अल्पसंख्यकलाई सम्मान र अवसर दिने योजनामुखी नेताको चाहना गरेका छ्न, अहिलेका जनताले।
स्वास्थ्य, शिक्षा, रोजगारी खानेपानी, सफानगर, सफा समुदाय र सबैलाई सुपथ मुल्यमा खाद्यान्नको सेवा दिनेबारेमा सोच्ने र यी लक्ष्य पूरा गर्ने जिम्मेवार व्यक्तिको खोजीमा छ्न, अहिलेका युवा। कृषिमैत्री, स्थानीय आविस्कारलाई बुझ्ने र बढवा दिने अग्रगामी सोचका व्यक्तिलाई रोज्ने छ्न। सुरक्षा र जवाफदेहिता र सीप शक्तिलाई प्राथमिकतामा लमकाउने विचार धारकलाई रोज्ने छ्न, भन्ने मेराे मान्यता छ।
रिना बजगाईं, उपाध्यक्ष, महिला उद्यमी संघ बारा
युवा भएको नाताले देशमा विकाश होस्, देशले काचुली फेरोस् जस्तो लाग्छ। तर, बिडम्बना यो छ कि पार्टीको नाममा भोट माग्नु मान्छेको पेशाजस्तो भएको छ। युवाको चाहानाको कुनै कदर छैन, अहिले। अनि युवालाई कुनै पार्टीले अवसर पनि दिँदैनन्। मानिसको मस्तिष्कमा ‘अझै त तेरो उमेर छ, अहिले बुढा पाकालाई अवसर दिनुपर्छ’ भन्ने सिद्धान्तकाे जबसम्म परिवर्तन हुँदैन तबसम्म युवाले जति राम्रो काम गरे पनि युवाले पाउँदैनन्। मन अनि इच्छा त युवाको पनि हो र देशलाई पनि उनीहरूकाे जरुरी छ तर दुर्भाग्य पार्टीलाई जरुरी युवाको कहिले भएन। अहिलेको समस्या भनेको ६०/७० वर्षका नेता आफूलाई युवा भन्न रुचाउने हाे।
सकेसम्म युवालाई अवसर दिनुपर्छ। नपाए आफूभन्दा सक्षम देश र जनताको निमित्त लड्नेलाई नेतृत्व गर्ने अवसर दिनुपर्छ। संविधानले दिएको स्थानीय सरकार जसलाई गाउँ नगरका सिंहदरबार भनिन्छ, त्यसको अनुभूति गराउनुपर्यो। घरघरमा सिंहदरबार भन्ने नारा र अधिकार प्रयोग गर्ने, जनभावनाको कदर गर्ने, जनताको मर्म बुझेर अवस्थता अनुसार काम गर्ने सक्ने खालकाे व्यक्ति जनप्रतिनिधि हुनुपर्छ।
अहिले त जुन पार्टीले जितेका छन्, उनैहरूकाे हैकम चल्छ। जुन साेचबाट सबै जना बाहिर आउनुपर्छ। हाम्रा जनप्रतिनिधि हामीले छान्ने हो, त्यसैले सकारात्मक विचारधारा भएका असल, इमान्दार र निष्ठावाना युवालाई राेज्नुपर्छ।
जय साह, सामाजिक अभियान्ता, सानो पाइला वीरगञ्ज
स्थानीय चुनाव मूलतः सामाजिक र स्थानीय विकासमा केन्द्रित हुन्छ। आउँदो स्थानीय चुनावमा देशैभरि वडादेखि पालिकासम्म धेरै जसो युवाहरू उम्मेदवारीको चाहना देखाइरहेका छन्। जुन देशमा युवाहरूको जनसङ्ख्या लगभग ४०% को हाराहारीमा छ, त्यो सन्दर्भमा युवाहरूले उम्मेदवारीमा चाहना व्यक्त गर्नु आफैंमा एउटा शुभ संकेत हो। तर, स्थानीय तहको वडादेखि पालिकासम्मको प्रमुख पद भनेको एउटा कार्यकारी भूमिका हो।
युवाको उम्मेदवारीमा चासो आउनु राम्रो संकेत भएपनि जनप्रतिनिधिले कार्यकारी भूमिका निर्वाह सक्नुपर्ने हुनुपर्छ। जनप्रतिनिधिहरू समुदायमा भिजेका, समुदायको समस्या बुझेका र ती समस्याको समाधान निकाल्न सक्षम, स्थानीय विविधताबारे अवगत, जनताको आवश्यकता बुझेका, सामाजिक र मानव विकासको अनुभव भएका हुनुपर्छ। अहिले देशको आर्थिक तथा सामाजिक अवस्था कमजोर देखिरहेको छ। त्यसैले, जनप्रतिनिधिहरूमा स्थानीय बजार, अर्थतन्त्र र सामाजिक क्षेत्रको उत्थान गर्न सक्नुपर्ने क्षमता हुनुपर्छ। हाेइन भने, फेरी उही भ्रष्टाचार, नातावाद र कृपावादमा जनप्रतिनिधिहरू लिप्त हुने देखिन्छन्। र, स्थानीय तहको विकास सम्भव देखिँदैन। त्यसैले हामी युवा हुने बितिक्कै युवा उम्मेदवारलाई नै समर्थन गर्नुपर्छ भन्ने छैन। उम्मेदवारहरूले कार्यकारी भूमिका निर्वाह गर्न सक्नुपर्ने अनुभव र क्षमता हुनुपर्छ। यस कार्यकारी भूमिकाको निर्णयहरूले हजारौं जनताहरूको दैनिक क्रियाकलापहरूमा प्रभाव पार्ने गर्छ। तसर्थ, हामी भावना र समवेदनाबाट मुक्त भएर एक सक्षम र सशक्त जनप्रतिनिधि चयन गर्नुपर्छ।
राजन श्रीवास्तव, संयाेजक, भोलेन्टियर समूह
स्थानीय चुनावमा अबको जनप्रतिनिधि युवाको पक्षमा आवाज उठाउने र युवाहरूको भविष्य निर्माण गर्न सक्ने हुनुपर्छ। सबैलाई थाहा भएको कुरा हो, युवाहरू विभिन्न कार्य गर्न गराउन एवं क्रियाकलापमा अग्रसर हुने गर्छन्। खासमा भन्नुपर्दा बिरुवा सानाे हुँदा उसको रक्षा जुन प्रकारले गरिन्छ, भोलिपर्सी बिरुवाको भविष्य पनि त्यही प्रकारको हुने गर्छ। ठिक त्यही प्रकारले युवाहरुको भविष्य सुनिश्चित गर्नुका साथै सशक्त बनाएर रोजगार दिन सक्ने योजना भएका जनप्रतिनिधि हुनुपर्छ। अहिलेको अवस्था हेर्दा चारैतिर विकास गर्ने होडबाजी चलेको छ। तर, विकास भनेकै युवाको भविष्य सुनिश्चित एवं रोजगार भएरै हुने हो। अबका जनप्रतिनिधि सामाजिक कार्यमा योगदान गर्ने, स्वास्थ र शिक्षाको क्षेत्रमा सुधार ल्याउन सक्ने हुनुपर्छ।
सुशिला भण्डारी, शिक्षिका
एकपटक चुनिएका जनप्रतिनिधि पाँच वर्षको कार्यकालसम्म रहँदा पनि जनताको घरदैलोमा चुनावको खुसी छर्न सकेका छैन। जनप्रतिनिधीले गरेका विकासका कार्यले जनता सन्तुष्ट हुन नसकेको वा जनप्रतिनिधि बढी व्यक्तिगत स्वार्थमा लिप्त भएर हो। चुनाव आयो भनेर जनतामा खुसी छाएको छैन्। कतिपय ठाउँमा त जनप्रतिनिधि कुट्ने, लख्ट्ने गरेको पनि सुन्न सकिन्छ। युवाहरु स्वदेश पलायन हुने क्रम घटेको छैन। चुनावमा भोट हाल्नु हाम्रो अधिकार हो। तर, यो अधिकार प्रयोग गरी सही जनप्रतिनिधि चुन्नु पनि हाम्रो कर्तव्य हो।
हाम्रो चाहानामा त जनप्रतिनिधि यस्तो होस् कि ऊ पार्टीगत रुपमाभन्दा पनि व्यक्तिगत रुपमा काम गर्ने, भिजनसहितको एजेण्डा भएको, एजेण्डामा जे–जे काम गर्छु भन्छन् त्याे गर्न सक्ने, जनताप्रतिको जिम्मेवारी पालना गर्ने, विकास निमार्णका कार्य गर्दा बजेटलाई स्थानीय जनतालाई नै थाहा दिने गरी सार्वजनिक बजेट प्रस्तुत गर्ने, शिक्षित, विषयगत जानकारी पनि भएको, स्थानीय जनताले चिनेको र सोही स्थानमा बसोबास गर्ने, आफ्नो स्थानीय समस्या वस्तुस्थितिलाई बुजेको, नेतृत्व गर्ने क्षमता भएको, न्यायसंगत तरिकाले कार्य गर्ने, जसले सामाजिक कार्यमा सधैं सेवाको भावले अघि बढ्ने, फलको आश नगरी कर्म गर्ने व्यक्ति भयो भने पक्कै नि केही आश गर्न सकिन्छ।
विकास भनेको तुरुन्त नहुन सक्छ तर विकासको कार्यमा सम्पूर्ण जनताको साथ र सहयोग आवश्यक छ। विकासका पूर्वाधारहरुमा जोड दिँदै युवा जनशक्तिलाई स्वदेशमा रोजगारी दिने र श्रमको मूल्य तोक्ने, सकरात्मक सोचको विकास गरी अगाडि बढ्न सकेमा सुखी नेपालको कल्पना गर्न सकिन्छ। नत्र जुन जोगी आए पनि कानै चिरेका भने जस्तै हाे।