पन्ध्र केजी गाँजासहित एक पक्राउ

जिल्ला प्रहरी कार्यालय खोटाङले लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीबजारस्थित कात्तिकेका ५७ वर्षीय मगम राई रहेको प्रहरीले जनाएको छ।

अवैध लागुऔषध नियन्त्रण अभियानअन्तर्गत मगमलाई आफ्नै घरबाट गएराति १५ किलोग्राम गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ। राईले प्रतिबन्धित लागुऔषध गाँजा घरमा लुकाइ राखेको सूचनाका आधारमा खटिएको टोलीले राईको घर खानतलासी गर्दा सो परिमाणको गाँजा फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सागर साहले बताए।

पक्राउ परेको राईविरुद्ध आज लागुऔषधसम्बन्धी मुद्दा दर्ता गरेर थप अनुसन्धानका लागि हिरासतमा राखिएको जानकारी दिए। राई लामो समयदेखि हलेसी क्षेत्रमा अवैध रुपमा गाँजाको कारोवार गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। यसअघि गत चैत ४ गते हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीस्थित राटमाटेका केवी भनिने कुलबहादुर राईको घरबाट प्रहरीले २० केजी गाँजा बरामद गरेको थियो । प्रहरीका अनुसार गाँजा कारोवारमा संलग्न रहेका राई हाल फरार रहेका छन्।

यसैबीच, भरुवा बन्दुकसहित शनिबार एक युवकलाई प्रहरीले पक्राउ गरेको थियो।पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपलिका–७ हलेसीस्थित ऐँसेलुखर्कका ३७ वर्षीय खगेन्द्र राई रहेका छन्। राईले घरमा भरुवा बन्दुक लुकाइ राखेको प्राप्त सूचनाका आधारमा  पक्राउ गरेको र राईविरुद्ध अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा दर्ता गरेर कारवाहीको प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दश स्थानीय तह रहेको जिल्लामा स्थानीय प्रशासनले अवैध हातहतियारमुक्त अभियान शुरु गरेको छ। यस अभियानअन्तर्गत गत बिहीबार ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीबाट १७ थान भरुवा बन्दुक सङ्कलन गरेको थियो। 

प्रकाशित मिति: : 2021-08-22 16:46:00

प्रतिकृया दिनुहोस्