भिडियोवार्ता

दयाहाङ र बुद्धिसँगको भेटपछि फेरिएको विजयको यात्रा [भिडियोवार्ता]

दिलिप कुवँर

काठमाडौँ

नेपाली चलचित्रमा पछिल्लो समय अब्बल अभिनय गर्ने कलाकार हुन्- विजय बराल।

विजयले सबैभन्दा पहिले महानायक राजेश हमालको फिल्म हेरे, सिमाना। विद्यालय उमेरमा उनले क्यारिकेचर गरेर आफन्त र साथीभाईलाई धेरै हसाँए पनि। तर जब उनी उच्च शिक्षाको लागि तराई (मधेसको भूगोल) बाट काठमाडौँ आए। तब उनले पहिलो पहिलो पटक नाटक देखे- गुरुकुलमा। 

नाटकसगँको पहिलो साक्षात्कारले नै उनीभित्र अभिनयको पालुवा अंकुरायो। त्यति बेला 'म्यानेजमेन्ट' पढिरहेका विजयलाई अभिनयको हुटहुटीले दयाहाङ राई र बुद्धि तामाङसँग भेट गरायो। जुन भेट संयोग मात्र थिएन, नेपाली नाटकको अर्को स्तम्भ 'मण्डला'को जन्म भयो।  

मण्डलासम्म पुग्ने अनामनगरको सडकमा आफूले राखेको पहिलो पद्चाप सम्झदै उनी भन्छन्, 'मेरो सपना पुरा गर्न अनामनगरका सडकले धेरै सहयोग गरे। तर केही सम्बन्ध टाढिएका पनि छन्।'



सत्ता शक्तिको कुञ्ज हो, श्रष्टाहरुले शक्तिलाई सधैँ निगरानी गर्नुपर्छ: श्रवण मुकारुङ



आफूभित्र रहेको नाटक र अभिनयप्रतिको लगावले उनलाई कोलकत्तासम्म पुर्‍यायो। एक वर्ष कोलकत्तामा रहेर नाटक र अभिनय पढे-सिके। चार/पाँच वर्षअघिको त्यो समयलाई सम्झदै उनी भन्छन्, 'जब म कोलकत्ताबाट फर्के। तब अभिनय र नाटकप्रतिको भ्रम र यथार्थबारे स्पष्ट भए। त्यसले मेरो नाटक र अभिनयबारे धेरै चेत बढायो।'

पछिल्लो समय आइरहेका नयाँ कलाकारमा अनुशासनको कमि भएको उनको भनाई छ। अभिनयमा लागेका नयाँ र पुरानो पुस्तालाई तुलना गर्दै उनी भन्छन्,'अग्रजलाई सम्मान दिन हामीले कन्जुस्याई गरिरहेका छौ। यसले गर्दा नयाँले पुरानोबाट सिक्ने कुरा पनि सिक्न सकिरहेका छैनन्।' 

उनको अध्ययनअनुसार नेपालमा चलचित्रलाई बुझेर भन्दा रमाइलोको रूपमा हेर्ने दर्शक धेरै रहेको छ। 'अधिकांश दर्शकले रमाइलो मानेर हेर्नुहुन्छ। निकै कम दर्शकले मात्र अभिनय र चलचित्रलाई बुझेर हेर्छन्' -उनले भने। 

‘लुट’, ‘कबड्डी’ जस्ता फिल्म बनेपछि नेपाली चलचित्रप्रति रहेको मान्यता भत्किएको विजयको बुझाई छ। अभिनय वा कुनै नाटक गर्दा 'पब्लिसिटी' र पैसालाईभन्दा राम्रो कामलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ। 



जनवादी गायक भन्छन्– कमरेडहरू गाडीमा सरर... (भिडियो)



नेपाली चलचित्रमा आइरहेका पछिल्ला कथाप्रति समीक्षा गर्दै उनी भन्छन्, 'पछिल्लो समय नयाँ कथा आइरहेका छन्। सिमान्तकृत कथाले ठाउँ पाइरहेका छन्। नेपाली चलचित्रको लागि यो एकदम राम्रो कुरा हो।'

प्रत्येक कलाकारले आफ्नो छुट्टै कला र शैली बनाउनुपर्ने उनको धारणा छ। अभिनयबारे उनी भन्छन्, 'अभिनय कसरी गर्नेभन्दा पनि कसरी नगर्ने भन्ने कुरालाई ध्यान दिनुपर्छ। अभिनय नगर्नु चाही अभिनय गर्नु हो।'

विजयसँग गरिएको विस्तृत कुराकानी भिडियोमा हेर्न सकिन्छ:

प्रकाशित मिति: : 2021-03-06 11:47:00

प्रतिकृया दिनुहोस्