गलत शव आएपछि दाहसंस्कार गरी मृत्यु दर्ता समेत गरिसकेका मोरङको बेलबारी– ११ लक्ष्मी मार्गका सुभाष तामाङले नागरिकता पाएका छन्। उनले ६ वर्षपछि मोरङ जिल्ला प्रशासन कार्यालयबाट नयाँ नागरिकता पाएका हुन्। मृत्यु भइसकेको खबर पाएपछि घरपरिवारले मृत्यु दर्ता गरिदिएका तामाङको अब मृत्यु दर्ता खारेज भएकाे छ। उनलाई बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पुनः नागरिकताको प्रतिलिपी पनि हस्तान्तरण गरेका छन्।
तामाङले आफ्नो मृत्यु दर्ता खारेज गर्न माग गर्दै जिल्ला प्रशासनदेखी वडा कार्यालयसम्म धाएको सुभाषले नागरिकता पाएपछि पुन: जीवन पाएको बताएका छन्। सुभाष भन्छन्,‘मैले नागरिकता पाएँ आज म धेरै खुसी छु, मलाई सहयोग गर्नुहुने सम्पूर्णलाई धेरै–धेरै धन्यवाद। यति भएपछि अब म जिवितै रहेको प्रमाणित भयो।’ उनले आफू फेरि पनि एक पटक विदेश गएर काम गर्न चाहेको बताए।
नागरिकता दिँदै प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘सुभाष ६ महिनअघि आउनु भएको थियो, त्यसपछि हराउनुभयो मैले यो विषयलाई गम्भिरताका साथ लिएर उहाँलाई बोलाएको हो।’
आफ्नो मृत्यु भएको छैन भन्ने प्रमाण जुटाउन उनी धेरै पटक सरकारी कार्यालय धाए। तर, वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबियामा मरेको भनेर शव ल्याउन मृत्यु दर्ता प्रमाणपत्र बनाएर पठाएकोले फेरि जीवित भएको प्रमाणपत्र बनाउन सकेका थिएनन्।
यस्तो थियो घटना
घटना ६ वर्ष पुरानो हो। सुभाष तामाङ २०७२ असार २४ गते साउदी अरेबियामा दुर्घटनामा परे। कम्पनीबाट आफूले प्राप्त गर्ने तलब लिन बैंक जाने क्रममा उनीसँगै अरु चार जना नेपाली पनि दुर्घटनामा परेका थिए।
चारमध्ये तीन जना नेपालीको घटनास्थल मै मृत्यु भयो। कम्पनीले बाँचेका एक जनाको सघन उपचार कक्ष (आई्सीयू)मा राखेर ६ महिना उपचार गर्यो। साउदी अरेबियाको हुण्डाई कम्पनीले शव क्षतविक्षत भएकोले त्यहाँको अस्पताललाई गलत सूचना दियो। मृतकको पहिचान नगरी अस्पतालले शव कम्पनीलाई बुझायो।
सोहीअनुसार सुभाष तामाङको मृत्यु भएको भन्दै कम्पनीले शव बुझेर नेपाल पठाउने प्रक्रिया सुरु गर्यो। कम्पनीले सुभाषको परिवारलाई मृत्युको खबर गर्यो। सुभाषकाआफन्तले मृत्यु दर्ता गरेर दूतावासमा पत्राचार गरे। सम्पूर्ण प्रक्रिया पूरा भएपछि सुभाष तामाङको शव नेपाल ल्याइयो र बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरियो।
शव चिन्नै नसकिने गरी क्षतविक्षत भएकोले आफ्ना पति हुन् वा होइनन्। उनकी पत्नी सन्तोषी तामाङले पनि ठम्याउन सकिनन्। सन्तोषीले भनिन्, ‘पहिचान गर्न सकिने अवस्थामा शव थिएन्, अझ शोकमाथि पीडा पनि थियो। कसरी चिन्नु र ?‘
अस्पतालमा उपचाररत व्यक्तिको ७५ दिनपछि होस खुल्यो। होस खुलेको बिरामीले आफू सुभाष तामाङ भएको बताएपछि मात्र कपिलवस्तुका टेकेन्द्र भण्डारीको शव मोरङको बेलबारी–११ की सन्तोषी तामाङले आफ्नो पति मानेर अन्त्येष्टि गरेको खुल्यो।
उता कपिलवस्तुका टेकेन्द्र भट्टराईका परिवारले अन्त्येष्टि गरेको स्थानको माटो लगेर अन्तिम कार्य गरे। यता सुभाषकाे परिवारमा भने खुशी छायो। यद्यपि उनको जन्मस्थान भोजपुरको कुदाकाउलेमा सुभाषलाई पुनः जन्माएर पुर्नजन्मको विधि गराइयो।
अहिले सुभाषको शरीरभरि चौटैचोट छ। २ घण्टाअघि देखेको व्यक्तिलाई २ घण्टापछि चिन्न सक्दैनन्, उनी। बेलबारी –११ को लक्ष्मीमार्गमा सानो चियापसल गरेर दुई छाकको जोहो गरिरहेका तामाङका १४ वर्षीय छोरा र १२ वर्षीया छोरी छन्।
छोराछोरीलाई राम्रोसँग पढाउने र सुखी बन्ने सपना बोकेर वैदेशिक रोजगारमा हानिएका तामाङको सपना पानीको फोकाझैं फुटेको छ। न कम्पनीबाट क्षतिपूर्ति पाएँ। न त आफ्नो देशको सरकारले दिने सेवासुविधा नै लिन पाएको छु। स्तब्ध हुँदै उनले भने।
पतिको मृत्यु दर्ता प्रमाणपत्र हातमा बोक्ने महिलामध्ये सन्तोषी त्यस्तो महिला हुन्, जसको साथमा श्रीमानको मृत्यु दर्ताको प्रमाणपत्रसँगै सुख दुःखमा साथ दिने श्रीमान पनि छन्। तर, अहिले मृत्युको प्रमाणपत्र खारेज भएर नागरिकता पाएपछि सन्तोषीले खुशी लागेको प्रतिक्रिया दिईन्।