जीवित मान्छेसँग आफू मरेको प्रमाण पत्र छ भन्दा तपाईंलाई पत्यार नलाग्ला तर मोरङको बेलबारी–११, लक्ष्मीमार्गका ३९ वर्षीय सुवास तामाङ मृत्यु दर्ता प्रमाणपत्र बोकेर चिया बेच्दै छन्।
उनी जीवित छन् तर आफ्नै मृत्यु दर्ताको प्रमाण पत्र छ– उनीसँग। सो मृत्यु दर्ता प्रमाणपत्र यतिबेला उनलाई घाँडो भएको छ।
तीनै तहका सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई उद्यमका लागि सहुलियत प्रदान गरेका छन्। तालिम र ऋणको व्यवस्था गरेका छन्। तर, ३९ वर्षीय तामाङ अपाङ्ग बनेर फर्किए पनि उनले कुनै पनि सीपयुक्त तालिम र सहुलियत प्राप्त गर्न पाएका छैनन् ।
आफ्नो मृत्यु भएको छैन भन्ने प्रमाण जुटाउन उनी धेरै पटक सरकारी कार्यालय धाए। तर, वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरेबियामा मरेको भनेर लाश ल्याउन मृत्यु दर्ता प्रमाणपत्र बनाएर पठाएकोले फेरि जीवित भएको प्रमाणपत्र बनाउन नसकेका हुन्।
यस्तो थियो कारण
घटना पाँच वर्ष पुरानो हो। सुवास तामाङ २०७२ को असार २४ गते साउदी अरेबियामा दुर्घटनामा परे। कम्पनीबाट आफूले प्राप्त गर्ने तलब लिन बैंक जाने क्रममा उनीसँगै अरु चार जना नेपाली पनि दुर्घटनामा परेका थिए।
चारमध्ये तीन जना नेपालीको घटनास्थल मै मृत्यु भयो। कम्पनीले बाँचेका एक जनाको सघन उपचार कक्षमा राखेर ६ महिना उपचार गर्याे। साउदी अरेबियाको हुण्डाई कम्पनीले शव क्षतविक्षत भएकोले त्यहाँको अस्पताललाई गलत सूचना दियो।
मृतकको पहिचान नगरी अस्पतालले शव कम्पनीलाई बुझायो।
सोहीअनुसार सुवास तामाङको मृत्यु भएको भन्दै कम्पनीले लाश बुझेर नेपाल पठाउने प्रक्रिया सुरु गर्याे। कम्पनीले सुवासको परिवारलाई मृत्युको खबर गर्याे। सुवासकाआफन्तले मृत्यु दर्ता गरेर दूतावासमा पत्राचार गरे। सम्पूर्ण प्रक्रिया पूरा भएपछि सुवास तामाङको शव नेपाल ल्याइयो र बौद्ध परम्पराअनुसार अन्त्येष्टि गरियो।
शव चिन्नै नसकिने गरी क्षतविक्षत भएकोले आफ्ना पति हुन् वा होइनन्। उनकी पत्नी सन्तोषी तामाङले पनि ठम्याउन सकिनन्। सन्तोषीले भनिन्, ‘पहिचान गर्न सकिने अवस्थामा शव थिएन्, अझ शोकमाथि पीडा पनि थियो। कसरी चिन्नु र ?’
‘मेरो श्रीमानलाई कसरी जीवित बनाउने होला?’, पतिको मृत्यु दर्ताको प्रमाणपत्र दराजबाट निकाल्दै सन्तोषीले प्रश्न गरिन्। श्रीमतीको प्रश्न सुनेर छेउमै बसेका उनका श्रीमान सुवास तामाङ भावुक भए।
सुवास जीवित छन् तर कानूनी रुपमा उनी मरिसकेका छन्। साथमा आफ्नै मृत्युको प्रमाणपत्र पनि छ।
पतिको मृत्यु दर्ता प्रमाणपत्र हातमा बोक्ने महिलामध्ये सन्तोषी त्यस्तो महिला हुन्, जसको साथमा श्रीमानको मृत्यु दर्ताको प्रमाणपत्रसँगै सुखदुःखमा साथ दिने श्रीमान पनि छन्।
साउदी र नेपाल सरकारबाट मृत्यु भइसकेको प्रमाणपत्र पाएका उनका श्रीमान अब कानूनी रुपमा कसरी जीवित होलान् त ? सन्तोषी मृत्यु दर्ताको प्रमाणपत्र हेर्दै छक्क चिन्तित हुन्छिन्।
अस्पतालमा उपचाररत व्यक्तिको ७५ दिनपछि होश खुल्यो। होश खुलेको बिरामीले आफू सुवास तामाङ भएको बताएपछि मात्र कपिलवस्तुका टेकेन्द्र भण्डारीको शव मोरङको बेलबारी–११ की सन्तोषी तामाङले आफ्नो पति मानेर अन्त्येष्टि गरेको खुल्यो।
उता कपिलवस्तुका टेकेन्द्र भट्टराईका परिवारले अन्त्येष्टि गरेको स्थानको माटो लगेर अन्तिम कार्य गरे। यता सुवास तामाङ परिवारमा भने खुशी छायो। यद्यपि उनको जन्मस्थान भोजपुरको कुदाकाउलेमा सुवासलाई पुनः जन्माएर पुर्नजन्मको विधि गराइयो।
अहिले सुवासको शरीरभरि चौटैचोट छ। २ घण्टाअघि देखेको व्यक्तिलाई २ घण्टापछि चिन्न सक्दैनन्, उनी। बेलबारी –११ को लक्ष्मीमार्गमा सानो चियापसल गरेर दुई छाकको जोहो गरिरहेका तामाङका १४ वर्षीय छोरा र १२ वर्षीया छोरी छन्।
छोराछोरीलाई राम्रोसँग पढाउने र सुखी बन्ने सपना बोकेर वैदेशिक रोजगारमा हानिएका तामाङको सपना पानीको फोकाझैं फुटेको छ। न कम्पनीबाट क्षतिपूर्ति पाएँ। न त आफ्नो देशको सरकारले दिने सेवासुविधा नै लिन पाएको छु। स्तब्ध हुँदै उनले भने।
सरकारले मृत्यु दर्ता बदर गरिदिनु पर्ने हो । कुनै वकिलले मुद्धा हालिदिए त अदालतले खारेज गरिदिन्थ्यो होला !