रातो, निलो, सेतो, गुलाबी, पहेंलो
अनि अरु धेरै रङ्गहरुको सङ्गालोको भावनाहरूले
अनि स्वयम् भावनाले पनि
आफ्नो सबै रहस्यमयी श्रीङ्गार हराएर
आज ऊ एउटी सिङ्गाे मोनालिसा बनेकी छ
उसलाई बनाउने लियोनार्डो पनि
उसैको भावनाभित्र
आफ्नो कलात्मक मन्दिरको स्थापना गर्दै छ।
एक दिन
एक रातको पहरामा
लियोनार्डोले मोनालिसालाई प्रश्न गरे
केही शब्द भए देऊ मलाई प्रिय मोनालिसा
म एउटा कविता लेख्न चाहान्छु तिम्रो लागि।
मोनालिसाले मुसुक्क हाँस्दै भनि
हे मेरो ब्रह्म
मेरो सृष्टिको इष्टदेव
मलाई अमर बनाइदिने मेरो लियोनार्डो
म तिमीलाई के शब्द दिउँ
मेरो मुस्कान पनि तिम्रै सम्पत्ति हो
रहस्यमय चित्रकला पनि तिम्रो स्पर्श हो
भोलि म नहुँदा पनि मेरो अस्तित्वलाई जोगाइ राख्ने
तिमी त्यो पवित्र तीर्थस्थल हो।
यदि म तिम्रो मन भित्रको भावना हो भने
भावनाको शब्द र भावनाले आज सबै हराएको छ
सिङ्गाे मोनालिसा बनेर
मेरो प्रिय लियोनार्डो।
त्यही भएर तिम्रो रातो, निलो, सेतो, गुलाबी, पहेंलो
अनि अरु धेरै-धेरै रङ्गहरूकाे सँगालोभित्र
मेरो भावनाहरू अक्षर–अक्षर भविष्यमा हुने
डिकन्स्ट्रक्शनको सिद्धान्त लिएर बाँचेकाे छु।
म तिम्रो मोनालिसा हुँ
तिमी मेरो लियोनार्डो हो
हामी दुई एक आर्काको साहारा हो
मेरो अनुहारमा सधैँ खुसी छरिदिने
तिमी एउटा अमर चित्रकार हो।