धरानमा स्मार्ट बसपार्कः यस्तो बन्दै छ संरचना

प्रदेश नं १ स्थित धरानमा बस पार्कको अभाव टार्न बल्ल बसपार्क बन्ने भएको छ।

लामो समयदेखि शहरको मुटु भानुचोकबाट बसपार्क सञ्चालन हुँदै आएको धरानले अब भने सुविधा सम्पन्न स्पार्ट बसपार्क पाउने भएको छ। त्यसका लागि बुधबार धरान उपमहानगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

निर्माण व्यवसायी गीताञ्जली जेभी दुहबी सुनसरीसँग उपमहानगरले सम्झौता गरेको हो। उपमहानगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी तथा प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनालको उपस्थितिमा ठेकेदार कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको उपमहानगरपालिकाको योजना तथा इञ्जिनीयरिङ महाशाखा प्रमुख सुरज श्रेष्ठले जानकारी दिए।

धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाको मल्टिपर्पोज एरियामा स्मार्ट बसपार्क निर्माण हुने भएको हो।

ठेकेदार कम्पनीले १५ दिनभित्रमा निर्माण कार्यलाई अगाडि बढाउने इञ्जिनीयर श्रेष्ठले बताए। उनका अनुसार बसपार्क २३ करोड १५ लाखमा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ। पचास प्रतिशत नेपाल सरकारको अनुदान र ५० प्रतिशत उपमहानगरको आन्तरिक स्रोतबाट बसपार्क निर्माण गर्न लागिएको हो।

प्रमुख राईले उपमहानगरपालिकाले लामो समयदेखि थाँती रहेको योजनालाई सम्झौता गरेर अगाडि बढाउन पाएको बताए।

धरानको विकास र समृद्धिका लागि विगत लामो समयदेखि बसपार्क निर्माण गर्नुपर्ने योजना थियो। उपप्रमुख भण्डारी कार्यवाहक प्रमुख भएको बेला दुई वर्ष अघि तामझामका साथ शिलान्यास गरिएको भए पनि जग्गा विवादका कारण निर्माण कार्य अगाडि बढ्न सकेको थिएन। उपप्रमुख भण्डारीको पहलमा केन्द्रसँग समन्वय गरेर बसपार्क निर्माण गर्न लागिएको हो।

यस्तो बन्दै छ संरचना

योजना तथा इञ्जिनीयरिङ महाशाखा प्रमुख श्रेष्ठले आयोजनामा बसपार्कका लागि मात्र ३० कठ्ठा जमीन छ। त्यसबाहेक सेल्स प्लटमा थप पाँच कठ्ठा हाराहारी खाली जग्गा पनि रहेको छ।

बसपार्कका लागि ड्रेन र एजिङको काम पहिले हुने छ। वरिपरि पक्की सडक बन्ने छ। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)अनुसार स्मार्ट बसपार्क बेसमेन्टसहित तीन तलाको हुनेछ। बेसमेन्टमा २०० साना गाडी र १५० मोटरसाइकल अट्ने पार्किङ रहनेछ।

यस्तै भुइँतलामा ४९ बस अट्ने क्षमता हुनेछ। भुईतलालाई १२ वटा विभिन्न रूटमा जाने गाडी राख्ने गरी डिजाइन गरिएको छ। बसपार्कको तेस्रो तलामा यात्रु लक्षित संरचना हुनेछन्। यस तलामा क्याफे, लाइब्रेरी र व्यापारिक कक्ष रहने डिपिआरमा उल्लेख छ।

प्रकाशित मिति: : 2021-07-15 08:58:00

प्रतिकृया दिनुहोस्