कमरेड !
यो भत्किएको घरको पिंढीमा बसेर
एउटा उज्यालो पर्खिरहेको छु,
र कुरिरहेको छु - हाम्रा मृत्युपत्र बोकेर
देश बनाउन हिँडेको त्यही बाटोमा तपाईलाई।
सम्झना आइरहन्छ,
लडाइँको मोर्चामा हामी सँगै हिँडेको।
याद आइरहन्छ,
क्रान्तिका गीतमा ओजपूर्ण आवाज मिसाएको।
र स्मरण छ उस्तै मिठो
रा..ता विचारमा उभिएर रातै सपनाहरू बाँडेको।
अटल छ अझै
त्यो जलजला पहाड- जो विजयको प्रतीक थियो
धैर्यवान् छ थबाङ गाउँ
जो नयाँ शासनको राजधानी थियो।
बगेकै छ सुनछहरी झरना
जो विचारधाराको अग्लो बिम्ब थियो
र गतिशील छ लुङ्ग्री खोला
जो रातो यात्राको निरन्तरता थियो।
कमरेड
कत्ति पनि नमिठा थिएनन् ती सपनाहरू !
राता अक्षरहरूले
लेख्नुथ्यो हाम्रा गाउँहरूको नमेटिने इतिहास
विजयका उचाईहरूले
चिनाउनुथ्यो
र उकास्नुथ्यो सारा नेपालीको जीवनस्तर।
कमरेड !
धेरै वर्ष बितिसकेछ
तपाईंले रोल्पा छोड्नुभएको,
फर्किआउने आश देखाएर जानुभएको,
समयका तमाम लासमा टेकेर
देश बनाउने जिम्मा दिएका थियौँ हामीले।
सोच्छु
अब रोल्पाले देख्न पाउँछ कि पाउँदैन तपाईंलाई ?
या तपाईंले बिर्सिनुभयो कि सम्झिनुभएको छ अझै ?
यहाँ ओइलाइसके रोपिएका सपना
रूखो भइसकेको छ सिञ्चिएको माटो
पुरिइसकेका छन् बङ्करहरू
र भत्किसकेका छन् चट्टानहरूमा खोपिएका कुलो।
हाम्रो बाटो एउटै थियो
हाम्रा विचार, यात्रा, सपना र गीतहरू एउटै थिए
तर सँगै हिँडेर पनि
हामी कतै पुग्न सकेनौँ
कमरेड ! तपाईंजस्तो हामी बदलिन सकेनौँ।