बर्मेली भन्छन्, ‘बरू फाँसीमा चढ्छौं तर म्यान्मार फर्किँदैनौं’

Photo - Mizzima
Photo - Mizzima

सन् १९८८ को अगस्ट र सेप्टेम्बरमा म्यान्मारमा राजनीतिक आन्दोलन चरम उत्कर्षमा पुग्यो। आम मानिस सडकमा निस्किएर विशाल र्‍याली आयोजना गर्न थाले। वास्तवमा आन्दोलन १९८७ बाट सुरू भएको थियो।

आन्दोलनबाट अतालिएको सरकारले अचानक देशमा ‘नोटबन्दी’ घोषणा गर्‍यो। बैंकमा जम्मा भएका सबै पैसा ‘डिमोनिटाइजेसन’ भयो।

सरकारको यो निर्णयले म्यान्मार भयङ्कर गरिबीमा धकेलियो। देशभर भोकमरी फैलियो। के खाने? के लाउने? के गर्ने? भन्ने चिन्ताले बर्मेलीलाई सताउन थाल्यो। पढाइका लागि बैंकमा जम्मा गरेको पैसा पनि तलर अवस्थामा पुग्यो।

यही विन्दुबाट नागरिक र सेनाबीच सीधा टकराव सुरू भयो। जनता सडकमा उत्रिए। सयबाट सुरू भएको प्रदर्शन हजारौँको संख्यामा पुग्यो। यसले सेना पनि अत्तालियो। आन्दोलन रोक्न व्यापक बल प्रयोग नभएको होइन।



म्यान्मार संकट समाधान गर्न मलेसिया र इन्डोनेसियाको अपील

म्यान्मार सैन्य 'कू': सुरक्षा फौजद्वारा शुक्रबार ११ जनाको हत्या


कयौंलाई जेल चलान गरियो। जेलभित्रै चरम यातना दिएर सयौंको हत्या पनि गरियो। कतिले परिवार गुमाए। शरीरका कयौँ भाग काटियो। त्यही पनि आन्दोलन रोकिएन। सेना अतालियो।

आखिर कसरी आन्दोलन रोक्ने भन्ने विषयमा ध्यानकेन्द्रित भइरहेको बेला सेनाले बाहिरी देशसँग सहायता माग्न सकेन। यता विश्वभरका राजनीतिज्ञले बर्मेली सेनाको व्यापक आलोचना गर्न थाले।

यसलाई साम्य पार्ने दायित्व पनि सेनाकै थियो। अन्तर्राष्ट्रिय स्तरमा भएको आलोचना कम गर्न र गुमेको प्रतिष्ठा फिर्ता ल्याउन सेनालाई मिडियामाथि अंकुश लगाउनु पर्‍यो।

यति गर्दा पनि म्यान्मारमा आन्दोलन रोकिएन। भोका, नाङ्गा र तिर्खाएका जनता सेनाविरूद्ध झन् आक्रोसित बने।

त्यसलाई दबाउन सेनाले देशको बिभिन्न शहरमा कर्फ्यूसमेत लगायो। घरबाट बाहिर निस्कनेलाई गोली हानेर मार्ने आदेश दिइयो। यति हुँदा पनि सडकमा उत्रिएर रिस पोख्ने जनता रतिभर कम भएनन्। यसलाई दबाउन सेनाले हतियार प्रयोग गर्ने निर्णय गर्‍यो।

सन् १९८८ को अन्तिम महिनासम्म आन्दोलनमा ज्यान गुमाउनेको संख्या हजारौँ पुग्यो। सडकमा रगतको खोलो बग्यो। तर, सेनाले प्रदर्शन रोक्न सकेन र आखिर घुँडा टेक्न बाध्य भयो। 

बर्मेली सेनाले पुनः एकपटक म्यान्मारको जनताको अधिकारमाथि ‘कू’ गरेको छ। यतिबेला १९८८ मा जस्तै जनताहरू सडकमा उत्रिएका छन्।

नागरिकको आन्दोलनमा १९८८ जस्तै दमन नगरे हिंसात्मक गतिविधि दैनिक रूपमा बढिरहेका छन्। हालसम्म २ सय ३४ जनाले ज्यान गुमाइसकेका छन् भने २४ सयको हाराहारीमा प्रजातन्त्र पक्षधर जनता पक्राउ परिसकेका छन्।

आन्दोलन कहिले रोकिने हो निश्चित छैन। कति जनताले ज्यान गुमाउने हो, आंकलन गर्न सकिनन्। किनभने सेनाले प्रजातन्त्र पक्षधरका नेतृ आङ साङ् सू कीलाई कहिले छाड्ने हो, त्यो पनि अनिश्चित छ। यता आन्दोलनकारी सूचीलाई सेनाले नछोडेसम्म आन्दोलन नत्याग्नेमा अडिग छन्।

यो आन्दोलनका पक्षमा १९८८ मा सैनिक शासनविरूद्ध लडिरहेका विद्यार्थी पनि सडकमा उत्रिएका छन्। अहिले उनीहरूलाई ८८ को पिढी भनिन्छ। 

फरक यत्ति हो, उनीहरूले आफ्नो जवानी गुमाएका छन्। पहिला जस्तै उनीहरूको तागत छैन। ८८ पिढीका प्रख्यात आन्दोलनकारी हुन्, मिन को नाइन्ग। उक्त समयमा अलग रूपमा भौतिक उपस्थित भएर आन्दोलन गर्नुपर्ने अवस्था थियो। तर, अहिलेको आन्दोलन प्रविधिको भरमा हुने गरेको छ।

तत्कालीन समयमा मानिसहरू जम्मा गर्न र आन्दोलनमा जानका लागि सल्लाह गर्न सम्भव थिएन। सानो समूहमा भेला भयो कि सेनाले गोली हानिहाल्थ्यो। त्यसैले स्वतः जनता सडकमा आएको उनको अनुभव छ। अहिले आन्दोलनमा सामाजिक सञ्जालको प्रयोगमार्फत मानिसहरू जम्मा भइरहेको उनले देखेका छन् ।

म्यान्मारमा जारी आन्दोलनमा सामाजिक सञ्जालको व्यापक प्रयोग भएको छ। कहाँ भेला हुने? कहाँबाट प्रदर्शन सुरू गर्ने? र  सेनालाई कसरी घुँडा टेक्न बाध्य बनाउने?

यो सबै योजना सामाजिक सञ्जालमै बन्न थालेको छ। यता प्रदर्शन र प्रदर्शनका क्रममा ज्यान गुमाउनेलाई  सामाजिक सञ्जालमा देखाइन्छ, जुन भिडियो ह्दयविधारक छ। 

यस्तै भिडियो देखेका थिए २४ वर्षीय कुरिङ्गा। निम्न वर्गीय परिवारमा हुर्किएका उनको आर्थिक समस्या उस्तै थियो। जारी आन्दोलनका क्रममा सेनाले रंगुनमा कर्फ्यू लगाएपछि उनको रोजीरोटी खोसिएको थियो। उनी घरमै खुम्चिए।



म्यान्मारमा सुरक्षित छैनन् पत्रकार, थप दुई पक्राउ

सैनिक शासनबाट पिल्सिएको म्यान्मारको यस्तो हाल (भिडियोसहित)


१६ फेब्रुअरीमा उनी बिहान घरबाटै आन्दोलनलाई नियालिरहेका थिए। कामधन्दा बन्द भएपछि उनको बाहिरी दुनियाँ जाने बाटो बन्द थियो, त्यसमाथि ज्यान जाने डर उत्तिकै। त्यसदिन बेलुका ढोकामा ढक‍‍‍‍‍‍‍‍‍‍‍‍...ढक...ढक आवाज आयो। उनकी आमा मियामीले ढोका उघारिन्। केही अपरिचित मानिस देखेर सोधिन्, ‘कसलाई खोज्न आउनु भएको?’

ती समूहका एक सदस्यले पहिले त उनलाई धकेले। यसपछि कुरिङ्गालाई लिन आएको भन्दै जबरजस्ती घरभित्र पसे। मियामीको मनमा चिसो पस्यो, आँखा रसाउन थाले। उनले आफ्नो छोरालाई नलैजान बिन्ति गरिन्, खुट्टासमेत परिन् तर उनको कुरा कसैले सुनेन्।

कुरिङ्गालाई एक जीपमा हालेर ती अपरिचित व्यक्तिले लगे। मियामी छरछिमेक डाक्न थालिन्, रोइकराइ गरिन् तर उनको चित्कार कसैले सुन्ने कोशिस गरेनन् किनकी सेनाविरूद्ध जाने कसैको हिम्मत थिएन।

‘नियन्त्रणमा लिएर उनीहरूले मलाई घरबाट केही पर लगे। बन्द कोठा थियो। मैले केही चाल पाउन सकिनँ। हात, खुट्टा बाँधिएको थियो। शरिर हलचल गराउन सक्ने अवस्थामा म थिइनँ। ममाथि कुनै ज्यादती हुन पाएन,’ कुरिङ्ग सम्झन्छन्।

उनलाई सेनामा भर्ना हुन्, ती व्यक्तिले आदेश दियो। उनको मन झन् अत्तालियो। उनले आँखै नजिक गोली लागेको नदेखेपनि भिडियोमा भने स्पष्ट देखेका थिए, सडकमा सेनाले टाउको ताकिताकि गोली हानेको।

उनको बोली फुटेन, बोल्नु पनि उचित थिएन। किनभने सेनालाई मान्छे मार्नु कुनै ठूलो कुरा थिएन।

‘म बोल्न सकिनँ। मलाई मर्नु थिएनँ। आमासहित ४ सदस्यलाई पाल्नु थियो। उनीहरूले परिवारलाई केही गर्छन् कि भनेर डर खुबै लागेको थियो। त्यसैले स्वीकार गरे,’ कुरिङ्ग भन्छन्।

सेनामा भर्ना भएको केही दिनपछि नै उनलाई तोन्जाङ्ग शहर (तोन्जाङ पश्चिम म्यानमारको चिन राज्यमा पर्ने तेदिम जिल्लामा रहेको शहर जुन तेदिमबाट ३७ किलोमिटर उत्तर पूर्वमा छ।) डिउटी गर्ने आदेश दिइयो। उनी नागरिक अवंज्ञा आन्दोलन (सीडीएम) मा समावेश भएर  प्रदर्शनकारीको जासूसी गर्न थाले।

‘मलाई सीडीएम सदस्य बन्न रहर थिएन। तर प्रदर्शनकारी बस्ने स्थान र तिनीहरूको अन्य विवरण पत्ता लगाउने आदेश दिइएको थियो। तर, मलाई त्यसमा रूचि थिएन। मलाई अरू मरेको हेर्न मन पनि थिएनँ। त्यसैले मौका मिल्न साथ त्यहाँबाट भागें,’ उनले भने।



म्यान्मार सैन्य 'कू'को विरोधमा उत्रेका सयौं विद्यार्थी पक्राउ

जुन्ता सरकारको गोलीबाट साथीसँग खेलिरहेकी १६ वर्षीया किशोरीको हत्या


मसँगै २५ जना अरू बर्मेली थिए। उनीहरूसँगै म भारततर्फ लागे, परिवार छाडेर। उनी चार दिने यात्रापछि मार्च ७ मा सीमा पार गर्न सफल भए।

‘गाउँमा गाडी छाडेर सैनिकबाट लुकेर मोटरसाइकलमा निस्किएको थिएँ। समायो भने मारिने डर, परिवारको सम्झना उस्तै। मन भाक्कानिन्थ्यो। तर, के गर्नु भाग्नुभन्दा अर्को विकल्प पनि त थिएन नि,’ उनी भन्छन्।

उनी सँगै ती २५ जना रातिराति हिँडेर जंगलको बाटो पार गरे। ‘केहीका स–साना बच्चा थिए। उनीहरू भोकले रोइकराइ गर्थे। सबैलाई बेवास्था गर्थ्यौं । खानलाई हामीसँग केही थिएन। पानीको भर थियो। दुई दिन स्वासको भरमा हिँडेर भारतीय सीमासम्म आइपुगें,’ उनले भने।

म्यान्मारको सीमासँगै उत्तरपूर्वी भारतीय राज्य मिजोरम र मणिपुरसम्म देश छाडेर भागेका म्यान्मारका अधिकारी र नागरिक आइपुगेका छन्। उनीहरू कतिको संख्यामा छन्, त्यो स्पष्ट छैन।

असम राइफल्सको अर्धसैनिक बलले भारत– म्यान्मारको सीमाको सुरक्षा गरिरहेको छ। उनीहरू सीमाको ५ सय १० किमी (३ सय १६ माइल) सम्म पुग्छन्।

उनीहरूका अनुसार अनुमानित २ सय ६४ जनाले सीमा पार गरेका छन् र तीमध्ये तीन चौथाइ प्रहरी कर्मचारी र उनीहरूको परिवार छन्।

२५ जनाको एक समूहमा बसेका कुलिङ्ग भन्छन्, ‘मेरो बुबाआमालाई म मरे वा बाँचे केही थाहा छैन। मलाई आफ्नो परिवारलाई फोन गर्नसमेत डर लाग्छ। मैले फोन गरे भने सेनाले मेरो परिवारलाई समात्छ। उनीहरूले धेरै यातना दिन्छ। त्यसपछि उनीहरूले गिरफ्तार गर्नेछन्।’

पूर्व–दक्षिण म्यान्मार र पश्चिममा बंग्लादेश भएका कारण भारतका पूर्वोत्तर कुनामा मिजोरम अत्याधिक महत्वपूर्ण राज्य हो। यहाँ आदिवासी–जनजाती बसोबास गर्छन्।

मिजोरममा प्राकृतिक सौन्दर्यता छरिएको छ। यहाँ नागाहरू बढी बस्छन्। केही बर्मेली नागरिक पनि छन्। हाल मिजोरममा आश्रय खोजिरहेका अधिकांश मानिस चिन जातिका हुन्।

चिन र मिजोसको जातीयता छ र सीमा वारपार दुवै किनारामा धेरैको पारिवारिक सम्बन्ध छ। त्यसैले पछिल्लो समय यहाँ भागेर आउने बर्मेलीको संख्या अधिक छ।



म्यान्मार सैन्य 'कू':  मंगलबारसम्म कम्तीमा १९३ प्रदर्शनकारीको मृत्यु

म्यान्मारमा रहेका ३२ चिन कम्पनीमा प्रदर्शनकारीद्वारा आगजनी


कुरिङ्ग जस्तै म्यान्मारबाट भगेर आएका मध्ये एक हुन्, कुञ्जना। उनी पनि भागेर मिजोरम आइपुगेका हुन्।

‘मलाई प्रदर्शनममा उत्रिएकालाई मार्न आदेश दिएका थिए। तर मैले आदेश पालना गरिनँ। सैनिकले प्रदर्शनकारीलाई गोली हान्दा मन दुख्छ। गोली हान्नेको पनि परिवार छन्। तिनीहरूलाई अरूमाथि गोली हान्दा पक्कै मन दुख्छ होला,’ सेनामा हुँदाको फोटो मोबाइलमा देखाउँदै उनले भने।

उनका अनुसार म्यान्मारमा सेनाले धेरै ज्यादती गरेको छ। केही दिन अगाडि मात्र सेनाले उनको बुबालाई पक्राउ गरेको छ। ६३ वर्षीय उनका बुबा सिकर्मी हुन्।

‘एकजना नातेदारले मैले घर छोडेको केही समय नबित्दै मेरो बुबा पक्राउ परेको कुरा बताउनुभयो। उहाँको अवस्था मलाई थाह छैन,’ उनले भने।

चीन राज्यको तेदिममा घर भएका प्रहरी अधिकारी दाबी गर्ने ३० वर्षीया मार्ली र २९ वर्षीय श्रीमान भान्कुङ पनि मिजोरमै छन्। उनीहरूले दुई महिनाअघि प्रेम विवाह गरेका थिए।

फेब्रुअरी १ मा सेनाले ‘कू’ गरेपछि उनीहरूलाई प्रदर्शनकारी पक्राउ गर्न आदेश दिइयो। तर, उनीहरू प्रदर्शनकारीलाई पक्राउ गर्न हिचकिचाए।

‘नागरिकहरू सेनाको विरोध गर्न बाहिर आउँथे, अफिसरले हामीलाई  गिरफ्तार गर्न आग्रह गर्थे। तर, मनले पटक्कै मान्दैन थियो। आखिर मानोस् पनि किन? सरकारले नै गलत गरिरहेको छ,’ उनले भने।

ती दम्पतीले आफ्नो परिचय–पत्र पनि बोकेका थिए तर उनीहरू प्रहरी हो कि होइन, अझै खुल्न सकेको छैन। यता तेदिम कै एक प्रहरी ‘कन्सटेबल’ हुन्, सुआन। उनी पनि भागेर मिजोरम आइपुगेका छन्।

‘हामीलाई हाम्रो दाजुभाई र दिदीबहिनीको माया लाग्छ। सैन्य सरकारले उनीहरूमाथि गोली चलाउन आदेश दिएको थियो। यस कारण मैले जागिर छोडें,’ मार्च ९ को रात भागेर मिजरम आइपुगेका सुआन भन्छन्।

उनलाई थाहा छैन कतिदिन अरुको देशमा शरणार्थी भएर बस्नुपर्ने हो। यहाँ नै बसे पनि श्रीमती र दुई वर्षको बच्चा के खाए? कसरी बसिरहेका छन्? भन्ने चिन्ताले सताउँछ, उनलाई।

‘सेनाको डरले गर्दा घरमा एक चोटि मात्र फोन गरे। मैले उनलाई भनें– यदि म्यानमारमा यस्तै रह्यो र प्रजातान्त्रिक सरकार फर्केन भने। म मिजोरममा कति समयसम्म बस्नुपर्ने हो, मलाई थाहा छैन। तिमी बच्चाको र आफ्नो ख्याल गर्नु।’

सुआन आफू सीडीएममा सहभागी भएको बताउँछन्। उनले भने, ‘म्यानमारमा हाम्रो लागि यो एकदमै खतरनाक छ।’

उनीहरूलाई अब डर छ, देश फर्कनुपर्ने होकी। यता भारत सरकारले पनि सैन्य शासन लागू भएकै समयमा जम्मू र कश्मीरमा बसिरहेका १ सय ५० रोहिंग्या शरणार्थीलाई स्वदेश फर्काउँदै छ।



म्यान्मार 'कू': ६० जना मारिएको भोलिपल्ट थप १५ प्रदर्शनकारीको हत्या

म्यान्मार सैन्य 'कू'विरूद्ध नागरिकको रात्रि प्रदर्शन (फोटो फिचर)


प्रधानमन्त्री नरेन्द्र मोदीको हिन्दू राष्ट्रवादी सरकार आप्रवासीमाथि उग्र भएर लागेका छन्। त्यसैले सैन्य ‘कू’ पछि भागेर आएका बर्मेलीमाथि पनि कहिले ज्यादती गर्ने हो थाहा छैन।

यता मिजोरममा उनीहरू बसेको स्थान पनि सुरक्षित छैन। उनीहरू निर्माणाधीन भवनको ठूलो हलमा आश्रय लिइरहेका छन्। उनीहरू कम्तीमा २५ जनाको साथमा बस्दै आएका छन्।

हलमा सबै जना भूइँमा छन्। त्यहाँका बासिन्दाले उपलब्ध गराएका डसना र ‘बेडशीट’मा सुत्छन् र आफ्नो ब्यागलाई तकियाको रूपमा प्रयोग गर्छन्।

यता म्यान्मारबाटै भागेर आएकी मार्लीका अनुसार म्यान्मार सरकारका सेना धेरै उग्र छन्। यसअघि पनि रोहिंग्याको घरमा आगो लगाउने, महिला र बालिकाको बलात्कार गर्ने र निर्मम हत्या गर्थे।

‘हामी पुनर्स्थापना हुन सक्छौं। भारत– म्यान्मार सरकारले हामीलाई फिर्ता पठाउन थाले भने हामी लुक्छौं। यति गर्दा पनि हामीमाथि ज्यादती गरियो भने बिष पिउँछौं वा फाँसीमा झुन्डिएर देशको नाममा शरिर त्याग्छौं,’ उनले भनिन्।

मिजोरमको गृह विभागका वरिष्ठ अधिकारी साङचिन चिनजाले बर्मेलीबारे राज्य सरकारसँग कुनै स्पष्ट तथ्यांक नभएको बताउँछन्।

‘मलाई केही थाह छैन। यो संख्या प्रतिघण्टा बढिरहेको छ। धेरै नातेदारसँग बस्दा हेडकाउन्ट गर्न असम्भव छ,’ उनले भने। 

उनको अनुमानमा ४ सयभन्दा बढी बर्मेली मिजोरममा प्रवेश गरिसकेका छन्।

हाल मिजोरममा सत्तामा रहेको राजनीतिक दल मिजो नेसनल फ्रन्टको प्रतिनिधित्व गर्ने भनलालभेनाले नयाँ दिल्लीले म्यान्मारका शरणार्थीलाई स्वागत नगरेको बताउँछन्।

‘नयाँ दिल्लीबाट कसैलाई पनि सीमा पार गर्न नदिनु भन्ने निर्देशन आएपछि कम्तीमा आठ बर्मेलीलाई असम राइफल्सले म्यान्मार फर्काएको छ। यता केही स्थानीय नेताले पनि गत सोमबार त्यहाँ पुगेका १४ जनालाई उतै फिर्ता पठाएको छ,’ उनले भने।

(आफ्नो पहिचान लुकाउन बर्मेलीको नाम परिवर्तन गरिएको छ)



म्यान्मारमा एकैदिन ६० प्रदर्शनकारीको मृत्युपछि 'सैन्य कानून' लागू

म्यान्मार सैन्य 'कू'विरूद्ध उत्रेका १ सय ३० प्रदर्शनकारीको मृत्यु

म्यान्मारको बिग्रिदो अवस्थाः बर्मेलीहरू थप १८ महिना अमेरिका बस्न सक्ने 

प्रकाशित मिति: : 2021-03-22 16:39:00

प्रतिकृया दिनुहोस्