साइला बा

राज आचार्य

काठमाडाै‌ं

बेलुकीको झन्डै ४ बजेको हुँदो हो। ट्रीङ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍.......ट्रीङ घण्टि बज्यो मोबाइलमा। अङ्ग्रेजी शब्दमा लेखिएको नाम थियो ‘माई मम्मी’। 

केही सोचिनँ। फोन नै गरेको भन्ने पक्का भएपछी उठाएँ।

‘हेल्लो दर्शन गरे मम्मी‍‍‍‍...।’

‘ओइ सुन त एउटा घटना घट्यो’ (अतालिँदै) ममीले भन्नुभयो।। 

म सोच्दै थिएँ अस्तिको घटनाभन्दा नि ठूलो? घटना हैन कोही मान्छे नै घटेको अनुमान लगाउन खोज्दाँ खोज्दै हतारिएर बोलिहाल्नुभयो 

‘यहाँ साइला बा खस्नुभयो’ 

फेरि केइ सोच्नै पाइनँ। यतिकैमा मैले बोलिहालेछु 

‘के भएर?’

‘खै एक्कासी लड्नुभएछ सिकुवा मा अनि हस्पिटल लैजाँदा लैजाँदै बाटैमा’, मम्मीले भन्नुभयो।

मैले फोन काटें। मलाई अरु केही सुन्न बाँकी छ जस्तो लागेन। मैले यस अगाडी आफ्नै घरमा कोहीले मृत्युबरण गरेको र आफ्नै परिवार शोकमा डुबेको थाहा पाएको थिइनँ। 

हुन त साइला बा १३ दिन जुठो बार्न पर्ने गरिका आफन्त पनि होइनन्। तर पनि यति नजिक हुन कि अर्मपर्मदेखि पैँचो सापटी चल्ने पहिलो प्राथमिकतामा पर्ने घरका मुलि हुन उनी।

त्यति मात्र नभइ मलाइ ताते गर्दै हिँडाउने, तोते बोलिमा बा भन्न सिकाउने, कैले रुँदा मेरो घोडा बन्नेदेखि कखराको सुरुवात गराउने पृय अभिभावक थिए साइला बा ! 

आज उही मेरा गुरु, मेरो घोडा अनि सहाराको हातलाई मैले अन्तिम पल्ट टाटा गर्दै गरेको देख्न पनि पाइनँ, उफ्फ कस्तो भाग्य मेरो।

अन्तिम चोटि म घर जाँदा ठिकै थिए साइला बाले ‘जेठा बडो राम्रो गरेस् है, अर्को चोटि आउँदा मलाई एउटा मख्लर ल्याइदे। जाडो लाग्छ होला त्यो बेला।’ भनेको कुरा झलझली आयो याद ।

घर मुन्तिरको बाटो खन्न धेरै समयदेखि झगडाले रोकिएको थियो। त्यही नि चाउरिएका आँखाले त्यो बाटोमा गाडी चढेको हेर्ने ठूलो रहर थियो साइला बालाई। 

भन्थे–‘हेर जेठा, समाजमा नमिल्ने त्यो ठूले जस्तो कहिल्यै नबनेस् है !’

एकाएक मन दौडिन थाल्यो। बाका ती रहरहरु सम्झन थालें। जो ठूलो आशा थियो पूरा गरिदिने साइला बालाई। 

‘मलाई अब आउने माघमा त बिहे गर है जेठा। तलाई त सानैदेखि हुर्काए, तेरो छोरोलाई हुर्काउने रहर छ’ भन्थे साइला बा। 

अब मलाई बिहे नगरेकोमा पछुतो लाग्यो। साइला बाको एकपटक मुक्तिनाथ दर्शन गर्ने ठूलो रहर थियो।

भन्थे–‘मैले आफ्नो भत्ता जोगाएर राख्ने गर्‍या छु, मुक्तिनाथ जान। अब तैले आफ्नो लागि खर्च जुटा अनि मलाइ मुक्तिनाथ पुर्‍याइदे है जेठा।’

यी कुरा दिमागको वरिपरी घुमिरह्यो। अब मलाई यहाँ फेरि पछुतो लाग्यो। बालाई मुक्तिनाथ पुर्‍याउन पनि सकिनँ!

बाका यस्ता थुप्रै रहरहरु आज उहाँसँगै गए। बालाई अझ कयौं वसन्तहरु पार गर्ने रहर थियो। अझ कति उपदेश मलाई दिनकै लागि गमेर बसेका हुँदाहुन्।

कहाँकहाँ पुगौँला भन्ने सोचेका थिए होलान उनले। अझ कति हरियालीमा डुलाउने मन थियो होला मलाई।

त्यो पावरवाला चस्माले धानेका आँखाहरुले अझ नातिनातिना आँगनमा खेलेको हेर्ने मन थियो होला साइला बालाई।

तर उहाँको रहर पार्थिक शरिरसँगै भयो अन्त्य।  

गाउँभरिका मान्छेका आँखामा आशुको कारण बने आज साइला बा। जो हिजोसम्म सानातिना टुक्काहरु भनेर सबैलाई हसाउथें।

अझ कति उखानका टुक्काहरु थिए, जो सुनाउन पाएनन् साइला बाले ! 

अझ कति बालबच्चासँग खेल्न बाँकी थियो, अझ तल्लाघरे ठूलेसँग कति झगडा गर्न मन थियो बालाई। 

गाउँभरिका केटाकेटी बटुलेर सुनाउने कथा अझ कति बाँकी हुँदाहुन साइला बासँग। मेरो मन यही कुराले पिरोली रह्यो!

साइला बाका रहरहरु सम्झेर मन भारी भयो। मानौं म मनको भरिया हुँ। गला अवरुद्ध भयो। एक्कासी पानी बिनाको माछा जस्तै छट्पटाउन थाले। अब श्वास फेर्न पनि गाह्रो भएर आयो मलाई।  

केही सोच्नै सकिनँ। मेरो दिमाग खालि जस्तै थियो, जस्तो कि धान बिनाको रित्तो भकारी।

अस्ति कै दिन मात्र प्रेममा धोका पाएँ। त्यसैले बाच्न मन छैन भन्दै चिट्ठी लेखेर घरै मुन्तिरको किम्बुको बोटमा आफ्ना यस्तै कैयौं सपनालाई झुण्ड्याउन तम्सिने बच्चैदेखिको साथी दिपिन सम्झिएँ। 

यस्ता हजारौँ सपनाको कुनै अर्थ नदेखि आफ्नो आयुलाई छोट्याउने प्रयास गरेको थियो दिपेनले।

धन्न ठूले दाइ कि श्रीमतीले देखेर अतालिँदै कराएपछि भेला भएछन् मान्छेहरु। अनि बाचेको ! बाच्न कोसिस गर्दागर्दै मरेका साइला बालाई सम्झिएँ। फोन लगाउन मन लाग्यो दिपिनलाई। गोजिमा रहेको मोबाइल निकालें र लगाएँ।

‘हेल्लो’ ! (मलिन आवाज सुनियो) मः के गर्दैछस?

उः के गर्नु बसिराछु घरमै, बाहिर निस्कने आट छैन, मर्न पनि सकिएन !(उदासिनता को पराकाष्ठा नै बोल्यो)

मः जा हेर त साइला बालाई, जो हजारौँ बाच्ने बहाना हुँदाहुँदै आज मरेका छन्। त जाबो एउटा सानो कारणमा आफ्नो यति सुन्दर जिन्दगी सिध्याउन चाहन्छस्? तेरा सपनाहरु त सकिन्थे सकिन्थे तेरो परिवारको हालत कस्तो हुन्थ्यो होला सोचँ त। केके सोचेका थिए तेरो लागि, त भने..........(मेरो बोलि यतिमै रोकियो)।

उ बोल्यो मेरो कुरै नसकीः भयो मैले बुझी सके। मृत्युलाई नजिकबाट नियालिसके मैले। अब बाँचेर देखाउछु। बाँच्ने बहानाहरु हजारौँ छन्। मैले साइला बाबाट बुझिँसके। बस दुनियाँलाई मुख देखाउन लाज लागेको हो ! 

अस्ति बेलुकी आथे साइला बा। बाटो देखाएर गएँ। आफ्ना कैयौँ चाहनाहरु सुनाउदै थिए। तर उनले पूरा गर्न सकेनन् भन्ने थाहा पाएर आज महसुस भयो मलाई।

मैले बाँचेर केके गर्नु छ अब मनमनै केर्दैछु एउटा लिस्ट, मर्नु समाधान हैन ! त्यस्ता कठिन कैयौँ खुड्किलाहरु सुनाएकन थिए आफ्ना जिवनका साइला बाले।

कस्तो संयोग आज उदाहरण दिए मलाई बाँच्न नपाउदा आफूले गुमाएका कुराहरुको! अब अकमकिने पालो मेरो थियो।

तै पनि बोलेः जा गएर समाजमा देखा पर, अनि महसुस गराइदे समाजलाई एउटा युवा जन्मियो फेरि केही गर्न ! जा..........

लामो श्वास तान्यो अनि नबोली फोन काट्यो। म यता छुट्टी मिलाउन अफिस तिर दौडिए..............

प्रकाशित मिति: : 2020-10-31 15:31:00

प्रतिकृया दिनुहोस्