बिएल नेपाली सेवामा आजका मुख्य खबरहरू:

प्रचण्डलाई ‘राउण्ड किक’, ज्यानमुद्दाका ८९ जनालाई आममाफी र तीजमा पुरुषलाई पशुपतिमा निषेध

सत्ताबाट बाहिरिएपछि काँग्रेस-एमालेको सरकारविरुद्ध अभिव्यक्ति दिइरहेका नेकपा माओवादी (केन्द्रका)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रतिकारमा उत्रिन कार्यकार्ताहरूलाई निर्देशन दिएका छन्। 

सत्तारुढ दलहरूले माओवादी ‘जनयुद्ध’लाई होच्याउने र अपमान गर्ने खालका अभिव्यक्ति दिइरहेको भन्दै त्यसको प्रतिकार गर्न उनले आफ्ना कार्यकर्तालाई आह्वान गरेका हुन्।

पार्टीका सहिदहरू शेरमान कुँवर र मोहनचन्द्र गौतमको स्मृतिमा भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानविपरीत बोल्ने अधिकार कसैलाई नभएको बताए। 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ‘राउण्ड किक हानेको’ भन्ने अभिव्यक्ति दिएको भन्दै अब उनीहरूलाई नै जनताले ‘राउण्ड किक’ हान्ने दिन नजिकिइरहेको भन्दै चेतावनी पनि दिए।

०००

संयुक्त अरब इमिरेट्स (यूएई)ले अवैध रूपमा बसोबास गरिरहेका आप्रवासी कामदारलाई आममाफीको अवसर दिएको छ। त्यसमा कतिपय नेपाली पनि छन्। 

१ सेप्टेम्बरदेखि बिना कागजात (गैरकानूनी) रुपमा यूएईमा बसोबास गरिरहेका विदेशी नागरिकका लागि भिसा आममाफी कार्यक्रम ल्याएको हो। यो आममाफी कार्यक्रम ३१ अक्टोबरसम्म चल्नेछ।

यस सम्बन्धमा नेपाली दूतावासले पाली समुदायका प्रतिनिधिहरुसमेत छलफल गरेको थियो। दूतावासले यो आममाफीको खबरलाई धेरैभन्दा धेरै नेपालीहरूबीच प्रचारपसार गरी धेरैलाई लाभ दिलाउन सहयोगको लागि अनुरोध गरेको छ।

०००

तीजका लागि पशुपतिनाथका चारै ढोकाहरू बिहान ३ बजेदेखि नै खुल्ने भएका छन्। पशुपतिनाथमा तीजको अवसरमा दर्शनार्थी व्यवस्थापनका लागि बिहान ६ बजेदेखि भने पुरुषहरूलाई प्रवेश निषेध गरिएको छ। 

पशुपति क्षेत्र विकास कोषले तीज विशेषका लागि सबै तयारी पूरा भएको जनाएको छ। चारै ढोकामा दर्शनार्थीहरूलाई व्यवस्थित र छिटो पूजा गर्ने व्यवस्थाका लागि स्वंयसेवकहरु पर्याप्त मात्रामा परिचालन हुनेछन्। 

गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वानकी हुँदै उत्तरढोका, मित्रपार्क, जयवागेश्वरी–गौशाला–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल–पश्चिम ढोका, पिङ्गलास्थानबाट वनकाली, चारशिवालय–पञ्चदेवलपूर्व–बजघर–दक्षिण ढोकासम्मको लाइनलाई चौंसट्ठी सानो ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ।

त्यस्तै तिलगंगा राममन्दिरबाट बागमती नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पल सरेर पशुपतिनाथ मन्दिरको पूर्व ढोकाबाट प्रवेश गरी पूर्व ढोकाबाटै बाहिरिने व्यवस्था मिलाइएको कोषले जनाएको छ। 

०००

अमेरिकामा ‘मास किलिङ’को यो आतंक अझै रोकिएको छैन। नेपाली समयअनुसार बुधबार राति जर्जियास्थित एक हाइस्कूलमा गोली चल्दा दुईजना विद्यार्थी र दुईजना शिक्षक मारिएका छन्। 

घटनामा विन्डरस्थित अपलाची हाईस्कूलका  ३० भन्दा बढी शिक्षक–विद्यार्थी घाइते भएका छन्। विन्डर एटलान्टा शहरबाट ७० किलोमिटर टाढा रहेको एक सानो सहर हो। 

प्रहरीले घटनास्थलबाट एक अभियुक्तलाई पक्राउ गरेको छ। अमेरिकी सञ्चारमाध्यमका अनुसार अभियुक्त विद्यालयकै १४ वर्षीय कोल्ट–ग्रे भएको प्रहरीले जनाएको छ।

०००

यसपालि संविधान दिवसको अवसरमा सरकारले ४ सय ५२ जनालाई आममाफी दिँदैछ। कारागार व्यवस्थापन विभागका अनुसार उनीहरूलाई संविधान जारी भएको दिन असोज ३ गते कैद सजायको छुट दिइनेछ। 

यीमध्ये लगभग ८९ जना कैदीबन्दीहरू कर्तब्य ज्यान कसुरमा दोषीहरू छन्। उनीहरूले जन्मकैदको सजाय काटिसकेका थिए। सरकारले अघिल्लो वर्षदेखि निमामावली संशोधन गरेर ज्यानमुद्दाका कसुरदारलाई पीडितका आफन्तहरूको सहमतिमा मात्रै आममाफी दिन सकिने भनिएको छ।
 
अघिल्लो वर्ष आममाफी पाएका कतिपय कसुरदारहरूलाई सर्वोच्चको आदेशपछि फेरि जेलमै फर्काइएको थियो। २०७५ भदौ १ अघिसम्मका मुद्दामा दोषी करार भएर सजाय भोगिरहेकाहरूलाई ४० प्रतिशत कैद भुक्तान गरिसकेपछिमात्रै आममाफी दिनसकिने प्रावधान छ।

०००

फोहोर व्यवस्थापनमा पटक पटक उल्झनहरू झेल्दै आएको काठमाडौं उपत्यकामा यसका लागि बनेका कैयौ नीति नियमहरू लागु हुन सकेका छैनन्। यहाँका महानगर र नगरहरूमा फोहोर व्यवस्थापन सबैभन्दा ठूलो चुनौति बन्दै आएको छ। 

त्यसलाई सहज पार्न घर–घरमा नै कुहिने र नकुहिने फोहोर छुट्याउने (वर्गिकरण गर्ने) काठमाडौँ महानगरपालिकाको योजना दुई वर्षदेखि अलपत्र छ। 

१ साउन २०७९ देखि लागू हुने गरी काठमाडौँ महानगरले घर–घरमा नै कुहिने र नकुहिने फोहोर छुट्याउन भनेको थियो। यदि घरघरमा फोहोर नछुट्याए कार्वाही गर्नेसम्मको चेतावनी महानगरले सूचना जारी गरेर दिएको थियो। 

तर सूचना जारी गरेको दुई वर्ष बढी हुँदा पनि फोहोर छुट्याउने योजना भने सफल हुन सकेको छैन। काठमाडौँमा ३२ वटा वडा छन्। महानगरको फोहोर छुट्याउने योजना ७ वटा वडाबाहेकमा बाँकी वडामा अलपत्र छ। अहिले फोहोर छुट्याउने वडाहरूमा महानगरको भित्रि क्षेत्र वडा नम्बर २४, २५ र २७ रहेका छन्। 

बाहिरी वडाहरू ५, ७, १० र १२ मा पनि अहिले घरघरमा फोहोर छुट्याएर संकलन हुन्छ। बाँकी २५ वटा वडामा कुहिने र नकुहिने फोहोर नछुट्याएर संकलन हुने गरेको छ। 

प्रकाशित मिति: : 2024-09-05 20:07:00

प्रतिकृया दिनुहोस्