बिहिबार, १८ सेप्टेम्बर २०२५

‘जुत्ता बनाउने हामीलाई समाजले सोलभन्दा तल राख्यो’

News Image
• • •

५२ वर्षका चक्रबहादुर रोकाया (सार्की) ले २०५२ सालदेखि जुत्ता सिलाउन थालेका हुन्। त्यतिबेला उनले आफ्नै पसल सुरु गरिसकेका थिए। २०४७ सालमा २१ वर्षको युवा उमेरमा बुबाबाट सीप हस्तान्तरण भएपछि उनको आत्मनिर्भरताको यात्रा सुरु भयो।

यो उनको परम्परागत व्यवसाय हो। बासँग काम गर्दागर्दै यसमा उनको रुचि बढेको थियो। उनले भने, ‘घरमा बुबाले जुत्ता सिलाउने काम गरेको हुनाले हामीले पनि सिक्यौं। आरो, धागो गर्दागर्दै काम सिक्यौं र यो पेसा अंगाल्यौं। बाबु बाजेको परम्परागत सीप हाम्रो मुखमा माड हाल्ने बाटो बन्यो।’

उनको पसलमा बजारमा पाइने सबै डिजाइनका छालाका तथा स्पोर्ट सुज छन्। सधैँ जसो आफ्नै हातले जुत्ता तयार गर्ने उनी कहिलेकाहीँ फ्याक्ट्रीमा तयार भएका रेडिमेड जुत्ता राखेर पनि बेच्छन्। यस्तो बेला प्रतिक्रिया दुई थरिको आउँछ। ‘किन्नेबेला रेडिमेड जुत्ता आकर्षक देखिन्छन्। लगाएपछि हातले बनाएका जुत्ता बलिया हुन्छन्।’ यो प्रयोगबाट उनले थाहा पाए, ‘हातले बनाएका जुत्ता बलिया हुन्छन्।’

उनले भर्खर जुत्ता सिउन सिक्ने बेला छाला जुत्ताका यति धेरै डिजाइनहरु आइसकेका थिएनन्। केही सिमित डिजाइनका सोल र काँचो छाला, चिप्काउने सोलक्सिन बजारमा आउँथ्यो। साँचोलगायत जुत्ता बनाउन प्रयोग हुने सबै (धागो, बागा, आरो, मैन, कलर)  सामग्री आफैँ बनाउँथे। अहिले छाला जुत्ताको व्यवसायमा थुप्रै परिवर्तन आएका छन्।

थरिथरिका सोल, थरिथरिको छाला, सबै डिजाइनका जुत्ताका लागि रेडिमेड साँचो, सोल, उस्तै खाले धागो, चिप्काउने केमिकल, सिलाउने मेसिन आएको छ। यसमा उनीहरुले सीप लगाइदिए पुग्छ। तर उनीहरु सबैका दरसन्तान कोही पनि यो व्यवसायबाट सन्तुष्ट छैनन्। उनीहरुको शेषपछि परम्परागत पेसा नै लोप हुने चिन्ता बढेको रोकायाले बताए।

‘हाम्रो पुर्खाले हिजो राजाका लागि जुत्ता बनाए। ठुलाबडाका लागि हामीले बनायौं। हाम्रो सीप लागेका जुत्ता लगाएर उनीहरुले मान सम्मान पाए’, उनले भने, ‘तर कसैले हाम्रो सीपको तारिफ गरेनन्। बरु हामी ती जुत्ताका सोलभन्दा मुनितिरका कहलियौं। कतैबाट हामीलाई सरसम्मान भएन। हाम्रो इज्जतको कसैले कदर गरेन। अनि हामीले दुःख गरेर छोराछोरी पढाएपछि उनीहरुले अपमानको गह्राैँ भारी बोकेर यही पेसालाई निरन्तरता दिन उचित ठानेनन् र हाम्रो पेसा संकटमा परिरहेको छ।’

उनका अनुसार आजभाेलि देशमा व्यवसायीको छोरो व्यवसायी बन्छ। उद्योगपतिको छोरा उद्योगपति नै बन्छ। डाक्टरको छोरो डाक्टर हुन चाहन्छ। मास्टरको छोरालाई मास्टरी गर्दा सबैतिरबाट सम्मान छ। तर किसानका छोरा किसान हुन चाहँदैनन्। परम्परागत पेसा व्यवसाय गरेर गुजारा गरिरहेका दलितका छोराछोरी त्यही पेसालाई निरन्तरता दिन आनकानी गरिरहेका छन्। कारण एउटै हो, दलितहरुको परम्परागत पेसामा कुनै सम्मान छैन।

त्यसैले उनी आफ्नो परम्परागत सीप लोप हुने चिन्तालाई गौण सम्झिँदै भन्छन्, ‘आत्मसन्तुष्टि नमिल्ने र आत्मसम्मानमा ठेस लागिरहने पेसामा हाम्रा छोराछोरीको रुचि नहुनुलाई म अन्यथा सोच्दिनँ। सोच्नुपर्ने राज्यले हाम्रा लागि सोच्दैन भने मेरो परम्परागत सीप लोप भए होला। चिन्ता मैले मात्रै गरेर हुने केही रहेनछ।’

हुन पनि उनले भने जस्तै भएको छ। दलितहरुको परम्परागत पेशालाई आधुनिक उद्योगको रुप दिने गरी कुनै पनि तहका सरकारले चासो देखाएका छैनन्। बरु उनीहरुले आफ्ना आफन्त र आसेपासेलाई बिनाकुनै योजना, बजेट वितरण गरिरहेका छन्। वितरण गरेर देश विकास भएको संसारको कुनै पनि देश छैन। देश विकासका लागि परम्परागत पेसालाई आधुनिकीकरण गर्ने सोच चाहिएको छ। जसले उत्पादन बढाउँछ भने रोजगारी सृजना गर्न मद्दत गर्छ।

पुरानो सीपले नयाँ युगको सेवा गर्नुपर्ने ठाउँमा सत्ता संचालनमा हुनेहरुले चासो नदिँदा विदेशीको भर पर्नुपरेको छ। यही विडम्बनाले गर्दा नै दैलेखका सार्की समुदायबाट आफ्नो परम्परागत पेसा छोड्नेको संख्या दिन दुई गुणा, रात चौगुणा बढिरहेको छ।

उतिबेला जंगलबाट कुकाट, वनस्पति ल्याएर कसि लगाएर छालालाई कालो बनाउने चक्रबहादुर आजभोलि बजारको पालिस र क्रिमबाट जुत्ता बनाउँछन्। काला जुत्ता लाउनेको व्यक्तित्व आकर्षक र उचो देखिन्छ। तर परम्परागत सीप अंगालेका उनी र उनीजस्तै सार्की समुदायका मान्छेको उचाइ घटेको घट्यै छ।

उबेला बाँसको किला हानेर सोल बनाउने सार्की समुदायका लागि बजारले आधुनिक डिजाइनका सोल उपलब्ध गराएको छ। विभिन्न डिजाइनका सामग्री बनाउने बजारिया साउहरु उद्योगपतिका नाम र सम्मानबाट परिचित छन्। तर, तयारी जुत्ता बनाउने सार्कीहरुलाई आधुनिक जमानाले समेत अछुत र कथित तल्लो जातकै ट्याग लगाएर अपमान गरिरहेको छ।

उनले जुत्ता सिलाउन थालेको २८ वर्षसम्म छुट्टै प्रगति गरेनन्, मात्रै लोकको सेवा गरिरहे। ‘यसले पेट पाल्नेबाहेक अरु काम गरेको छैन। घर घडेरी छ भनौँ भने यही हो, बजारको घर छ। योबाहेक मेरो तर्फबाट अरु प्रगति भएन,’ उनले भने, ‘अहिलेसम्म जुत्ता सिलाएर ठुलो उपलब्धि कसैले गरेको छैन। ठुलो लगानी गर्नलाई पैसा छैन। उद्योग चलाउँछु भन्यो भने बैंकले पत्याउँदैन।’

बैंकले नपत्याए पनि एक पटक दैलेखीका सीपबाट बनेका जुत्ता लगाउनेहरुले पत्याउँछन्। उनीहरु भन्छन्, ‘राम्रा जुत्ता बनाउनेहरु दैलेखी भनेर चिनिन्छन्। जुन उनीहरुको हातले बनाउँछन्। उनीहरु पटकपटक सोल फेरेर लगाउँथे।’

तर, अब बजारमा आएका रेडिमेड जुत्ता लगाउन थालेपछि मान्छेहरु सोल फेर्न आउँदैनन्। सोलभन्दा अगाडि जुत्ता फाट्छ। चक्रबहादुरले भने, ‘पहिला एक पटक बनाएको छालाको जुत्ताको तीन/चार पटक सोल फेरिसकेपछि पनि उस्तै नयाँ देखिन्थ्यो। त्यही जुत्ता हो, हामीले बनाउने। अब त रेडिमेड जमाना छ। हाम्रो त सीपलाई समेत मान्छेहरुले विश्वास गर्न छोडेका छन्।’ 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!