'अमर अधिकारीः व्यक्तित्व र कृतित्व' प्रकाशित

एक वर्षको अवधिमै विभिन्न कीर्तिमानहरु कायम गर्दै आएका र छोटो अवधिमा चर्चामा समेत आएका एक रोल्पालीको जीवनीमा आधारित पुस्तक 'अमर अधिकारीः व्यक्तित्व र कृतित्व' प्रकाशन भएको छ।

दायित्व वाङमय प्रतिष्ठान, नेपालको ११४औँ कोशेलीको रुपमा प्रकाशित उक्त पुस्तकका लेखक तथा सम्पादक प्रा.डा. घनश्याम पुडासैनी रहेका छन्।

पुडासैनी काठमाडौँस्थित ग्रामीण आदर्श बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख समेत हुन्। छोटो अवधिमा तमाम लेख-रचनाहरु प्रकाशन गरेर अमर अधिकारीले साहित्य-लेखन क्षेत्रमा उल्लेखनीय काम गरेका छन्।

उनका दैनिक ३।४ वटासम्म लेख-रचनाहरु प्रकाशन भएको पाइएको छ। अधिकारीले रोल्पाका सम्पदाहरु अन्तर्गत खानी, तीर्थस्थल, पर्यटनस्थल, रैथाने उत्पादन, इतिहास, भूगोलसम्बन्धी लेखहरु लेखेर रोल्पाको व्यापक प्रचार-प्रसार समेत गरेका छन्।

अझ भन्नुपर्दा रोल्पाको मात्र नभएर राप्ती भेगकै प्रचार-प्रसार गर्दै आएका छन्। २०५३ सालदेखि साहित्य-लेखनमा लागेका अधिकारीका तीन वटा कृतिहरु प्रकाशन भइसकेका छन् भने एक दोहोरी गीत पनि रेकर्डिङ भएर बजारमा आइसकेको छ।

भविष्यमा थप आठवटा पुस्तकहरु प्रकाशन गर्ने तयारीमा रहेका अधिकारीका थप गीत र भजन पनि रेकर्डिङ हुने क्रममा रहेका छन्।

प्रस्तुत पुस्तकका लेखक तथा सम्पादक डा. पुडासैनी र पुस्तकका पात्र अमर अधिकारीको घनिष्टता निजामती सेवाको सिलसिला र साहित्यिक यात्रामा २०५६ सालदेखि नै रहेको बताइएको छ।

४२ वर्ष काठमाडौँमा र त्यसमा पनि १२ वर्ष सिंहदरबारभित्र बिताएका अधिकारीका लेखहरु प्रभावकारी हुँदै आएका छन्।

पुस्तककारमा जीवनी लेखिनेमा अमर अधिकारी पहिलो रोल्पाली स्रष्टा हुन्। ६१ वर्षको उमेरमा पनि उर्जावान अधिकारीबाट समाजले धेरै कुरा सिक्नुपर्ने देखिन्छ। विविध विषयका उनका लेखहरु लोकप्रिय हुँदैआएको पाइन्छ।

प्रकाशित मिति: : 2024-12-20 18:15:00

प्रतिकृया दिनुहोस्