साहित्यकार लक्ष्मीलोचना बैद्य उपन्यासकार बन्न लागेकी छन्। प्रकाशोन्मुख उपन्यास ‘ऋतु’बाट उनी उपन्यासकार बन्न लागेकी हुन्।
उनको यो उपन्यास आगामी हप्ता प्रकाशित हुँदैछ। नेपाली साहित्यमा स्नातकोत्तर गरेकी लक्ष्मीलोचना वैद्य मूलतः समालोचना, आख्यान र नाटक विधामा कलम चलाउन रुचाउँछिन्।
उनी शिक्षण पेसामा पनि आबद्ध छिन्। उनको ‘नेपाली नाटकको रूपरेखा’ नामक समालोचनात्मक कृति प्रकाशित छन्। साथै ‘अर्धसत्य’ र ‘दर्पण’ नाटक मञ्चन भइसकेका छन्। ‘ऋतु’ उनको पहिलो औपन्यासिक कृति हो।
लक्ष्मीलोचना वैद्यको प्रकाशोन्मुख उपन्यास ‘ऋतु’बाट एउटा अंश
एक जना महान् विद्वानले भनेका थिए कि विश्वमा सबैभन्दा तेज गतिमा चल्ने यन्त्र मन हो। मनको गतिको अगाडि अन्य यन्त्रहरु फगत सावित हुन्छन्। सबैभन्दा तेज गतिको मानिने सूर्यको प्रकाशलाई पनि पृथ्वीसम्म आइपुग्न ८ मिनेट २० सेकेण्ड लाग्छ तर मनलाई आफूले चाहेको ठाउँमा पुग्न एक निमेष भए पुग्छ।
प्रसन्नको बारेमा थाहा पाएपछि मेरो मन ठाकुरवाडीको आशिष एन्ड सन्समा पुगिसकेको थियो। मैले अलिकति पनि समय खर्चिन चाहिनँ। अफिसमा फोन गरेर अर्जेन्ट बिदा लिएँ। तमन्नालाई म केही दिनको लागि अफिस नआउने खबर गरेँ अनि मेरो अनुपस्थितिमा काम सम्हाल्न अनुरोध पनि गरेँ।
रात्री बसको टिकट मिल्यो। साँझ ५ः१० बजे नयाँ बसपार्कबाट हिँडेको गाडी ६ः३० बजे बल्ल तीनकुने पुग्यो। कोटेश्वरको जाममा फसेका गाडीहरु अनि ती गाडीले बालेका रातो बत्तीले सडक नै राताम्य भएको थियो। मानौं त्यहाँ गाडीको जाम थिएन, ती राता बत्तीहरु लहरै बलिरहेका कोइला हुन्। विधाता मेरो अग्निपरीक्षा लिन तयारी अवस्थामा बसेका छन्। त्यो परीक्षा मेरो धैर्यको थियो, त्यो परीक्षा मेरो मायाको थियो। विधाताले म हिँड्ने बाटोमा जलेर रातै भएका कोइला बिछ्याई भनिरहेको थियो, ‘यदि प्रसन्नसँग भेट्नु छ भने यो अग्निरुपी गलैंचामा टेकेर जाऊ।’
समयले त धेरै परीक्षा लिइसकेको थियो, त्यो क्षण एउटा परीक्षा विधाताले पनि लिँदै थियो। सायद मान्छेको जिन्दगी परीक्षा नै परीक्षाले भरिएको छ। सानो छँदा स्कुले परीक्षासँग निकै डर लाग्थ्यो। त्यो परीक्षा सानोमा सुनाइने दन्त्यकथाको दैत्यजस्तो डरलाग्दो लाग्थ्यो तर अहिले जिन्दगीले लिइरहेको परीक्षा कुनै भयानक दैत्यभन्दा कम थिएन। त्यो बेला तीन महिनाको एकचोटि आउने परीक्षालाई पनि कहिल्यै नआइदिए हुन्थ्यो जस्तो लाग्थ्यो। तर, अहिले म जिन्दगीको हरेक प्रहरमा नयाँ-नयाँ परीक्षा दिँदै थिएँ। समयले लिने यो परीक्षाले उफ् भन्ने मौकासमेत दिएको थिएन। कहिले साहस बटुलेर अगाडि बढ्छु कहिले निराश भएर आँसु झार्छु अनि कहिले जित्ने कल्पनाले खुसी हुन्छु।
यस्तैयस्तै दिनचर्यामा त्यो दिन विधाताले लिएको परीक्षाको सामना गर्न साहस जुटाइरहेकी थिएँ।
सडक रातै हुनेगरी भएको यो जाम मलाई आजसम्मकै निकै लामो जाम लाग्यो। मन ठाकुरवाडी पुगिसकेको थियो तर शरीर भने अझै काठमाडौंकै खोंचमा फसिरहेको थियो। कहिलेकाहीं त शरीर पनि मनजस्तै स्वतन्त्र र उन्मुक्त भइदिए हुन्थ्यो भन्ने लाग्छ। त्यो बेला आफूलाई ठाकुरवाडीमा देख्नु फगत कल्पना मात्र थियो जसको कुनै मूल्य र अस्तित्व थिएन। २१ औं शताब्दीको उच्च विकसित विज्ञानले त केही गर्न सकेको छैन भने म जाबो साधारण मान्छेले सोच्दैमा के नै पो हुने हो र? कोटेश्वरको २० मिनेटको त्यो जाम मेरा लागि एक जुगजस्तो लाग्यो। मनमा एउटै कुराले डेरा जमाइरह्योः जतिसक्दो चाँडो ठाकुरवाडी पुग्नुछ, जतिसक्दो चाँडो प्रसन्नलाई भेट्नुछ अनि हरेक प्रश्नको जवाफ माग्नुछ।