काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयबाट आजदेखि अत्यावश्यक सेवा मात्रै सञ्चालन

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकाका जिल्ला प्रशासन कार्यालयले आजदेखि अत्यावश्यक सेवा मात्रै प्रदान गर्दैछन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका कोरोना संकट व्यवस्थापन जिल्ला समितिको शुक्रबार बसेको संयुक्त बैठकले गरेको निर्णयअनुसार आजदेखि आगामी भदौ ८ गते सम्म अत्यावश्यक सेवा मात्र दिइनेछ । 

आजदेखि नयाँ नेपाली नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता नवीरकण, संस्था/पत्रपत्रिका दर्ता तथा नवीरकण, निजी सुरक्षा कम्पनी नवीकरण, राहदानी वितरण, नाबालिग परिचयपत्र वितरणलगायतका अत्यावश्यक नभएका सबै सेवा बन्द हुने प्रशासन कार्यालयहरूले जनाएका छन् ।

बैंठकले स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइको साथ पालना गराउने र स्थानीय तहहरुलाई कोरोना महामारीबाट बच्नको लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय पनि गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए।

काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरुमा संक्रमण बढ्दै गएको छ । संक्रमणको दर बढेको र त्यसमा पनि सरकारी कार्यालयहरुमा बढी देखिन थालेपछि यस्तो सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन भनेको छ ।

सरकारले जिल्ला प्रशासन, सुरक्षा निकाय तथा नागरिकलाई पनि सुरक्षाको उच्च सतर्कता अपनाउन गरेको निर्देशन र संक्रमितको अवस्थालाई हेरेर यो निर्णय गरिएको दाहालले बताए। सरकारी कार्यालयबाट हुने अत्यावश्यक बाहेकका सेवा बन्द रहने छन्, भने आंशिक कार्यलय खोलेर अत्यावश्यक सेवाहरु दिने निर्णय भएको हो।

सट डाउन भित्र भिडभाड कम गराउने, स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गराउने कार्यलयहरुमा कम आवतजावत गर्नका लागि आग्रह गरिएको छ ।

प्रकाशित मिति: : 2020-08-09 08:50:18

प्रतिकृया दिनुहोस्