२०७७ साल असोज ९ गतेबाट सुरु भयो उपल्लो डोल्पाको यात्रा। बिहानै झोला मोटरसाइकलको पछाडि बाँधेर सवारी धनीलाई पछाडि राखी मोटरसाइकल आफैँ चलाउने निर्णय गरेँ।
साढे ५ बजेतिर २ सदस्यीय टोली हुइकियौं डोल्पा सदरमुकाम दुनैतर्फ। कान्ति राजपथको भेरी पुल हुँदै छिन्चुबाट पूर्वतर्फ मेहेलकुना हुँदै सल्लीबजार पुग्याैं। त्यहाँ मोटरसाइकलको चेनमा मोबिल हालेर झोलालाई थप कस्न डोरी पनि किन्याैं।
त्यहाँबाट डिभिजन वन कार्यालय, जाजरकोटका प्रमुख आदरणीय महेश दाजुलाई 'हामी जाजरकोट आउँदैछौं, भेटघाट गराैंला' भनेर फाेनमा कुरा गरेँ। दाजुले बिहानको खाना उहाँकै निवासमा सँगै खाने प्रस्ताव राख्नुभयो। हामीले सहमति नजनाउने कुरै भएन।
२०६७/०६८ सालमा जाजरकोट जाँदा देखेको सल्लीबजारको मुहारमा अलि चमक थपिएको थियो। उतिबेला गाडी फेरीमा राखेर भेरी तरेको झल्झली सम्झेँ। अनि उतिबेलाका सहयात्री छेकुवा (दर्शन हमाल) र बले(भिम खड्का)लाई झन् बढी सम्झेँ।
उतिबेला भर्खर बाटोको ट्रयाक खोलिएको थियो भने आजभोलि त बाटो कालोपत्रे भैसकेछ। छारे खोला (हाल छेडा खोला) मा उबेला एउटा तुइन थियो। त्यो नि बिग्रेको भएर खोला तरेर गएको, बलेले मलाई बोकेर खोला तारेको दृश्य झल्झली सम्झेँ। आजभोलि त त्यही हेपिएको खोलामा २ ओटा पुल (एक बेली, एक पक्की) बनिसकेका छन्। मोटरसाइकलको गति धिमा गर्दै सबैकुरा सम्झदै गएँ।
उत्तम भाई भने छक्क परेको थियो। मैले अब यस्तो ठाउँ आउँछ भन्छु ठिक त्यही ठाउँ आउँछ। यसरी रमाउँदै रमाउँदै सवा ९ बजे हामी जाजरकोट पुग्यौं।
अघिल्लो दिनको पानीले भत्किएको खलंगा नजिकैको जाजरकोट बसपार्कबाट ३०० मिटर अगाडि बाटो मर्मत भैरहेकोले वैकल्पिक बाटो खोज्नुपर्ने भयो। बाटोमा तलबाटै जाली भर्नुपर्ने भएकोले समय लाग्ने भयो। लगभग ४५ मिनेट यताउता गरेर समय बितायाैं।
बाटो बिग्रेको हुनाले हामी तलबाट नै जानुपर्ने भयो। भेट हुन नसक्ने भयो भनेर महेश दाजुलाई जानकारी गराएँ। खाना पाकिसकेको थियो।
फेरि मान्छेलाई बुझ्दा 'तलको बाटो (जाजरकोट पुग्नुभन्दा ५ किमी वरबाट डोल्पा जाने बाटो छुट्छ) पानी परेकोले हिलो छ, जान नसकिँदैन हाेला' भने। उनीहरुले नै 'बसपार्क छेउको उकालो बाटो हुँदै बजारको बीचबाट सानो गल्ली, कसैको आँगन हुँदै भत्किएको ठाउँभन्दा अलि अगाडि पुगिने' बताए।
सोही गर्ने निर्णय गरेर पुग्याैं पनि। फेरि महेश दाजुलाई फोन गरी हामी आउने भयौं भनि जानकारी गरायाैं र सोध्दै कार्यालयमा पुग्याैं। दाजुले अलि वरसम्म हामीलाई लिन एकजना स्टाफ पनि पठाइदिनु भएको थियो।
निवासमा पुगिसकेपछि फ्रेस भएर खाना खाइयो, फर्किँदा एक दिन जाजरकोटमै बस्ने गरी आउनु भनेर दाजुले हामीलाई बिदा दिनुभयो। हामी त्यहाँबाट निस्किँदा ११ बजिसकेको थियो।
मोटरसाइकललाई अलि यता चौरमा पार्क गरेका थियौं। थप ३ लिटर पेट्रोल थपेर २ लिटर पानी बोकेर टोली ओरालो झर्याे। १२ नबज्दै जाजरकोटको रिम्नाको पक्की भेरी पुल तरेर रुकुम पश्चिमतिर छिरियो, ११:५० मा सोही पक्की पुलमा २ वटा फोटो खिच्यौं (कारण छ)।
जाजरकोटबाट ५ मिनेट ओरालो झरिसकेपछि कच्ची बाटो सुरु भएको रिम्नामा २५ मिटर पिच भएको देखियो। भेरी पुल क्रस गरिसकेपछिको बाटो भने सबै कच्ची, हिलो, खोला, झुलुंगे पुल, कैले रुकुम, कैले जाजरकोट। बाटो यति रमाइलो थियो कि कैले फोटो, कैले भिडियो नखिची नहुने।
जाजरकोटमा पर्ने छहरे झरनाले त लगभग १५ मिनेट खाइदियो। पहाडमा बाटोको दुरी समयले नाप्ने हुँदा बाटो काट्दा लाग्ने समय सोध्दै अगाडि बढियो।
रुकुमको राडी पुग्ने बेला मजाको झुलुंगे पुल हुँदाहुँदै खोलामा मोटरसाइकल हाल्याैं। पुरै खोला तरिसकेपछि छेउमा मोटरसाइकल साइलेन्सर भएतर्फ नै पल्टियो, हतारहतार एक्लै उठाएर (भाई पुलबाट जाने भनेर ओर्लिसकेका थिए, वारीबाट हेर्दै थिए) स्टार्ट गरी पुन: उकालो चढाएँ। धन्न साइलेन्सरमा धेरै पानी पस्न पाएन, अगाडि राडीका मान्छेले गाली गरे, 'पुल थियो नि किन खोलामा हालेको?' भनेर।
झुलुंगे पुल भएको थाहा भएको भए किन तर्थें बौलाहा खोला। पुन: बाटो सोधेर हामी दुईजना दुनैतर्फ अगाडि बढ्यौं। लगभग ४:३० बजे तिर डोल्पा खदांगको पुल तरेर आउने बजारमा प्रहरी चौकी रहेछ। पीसीआर रिपोर्टसहित सबै विवरण टिपाएर त्रिपुराकोट हुँदै साँझ साढे ६ बजेतिर दुनै पुग्याैं। बाटोको हिलो अफ्ठ्यारो पीडा सबै सकियो किनकि गन्तब्यमा समयमै पुगियाे।
दुनैमा डिभिजन वन कार्यालका प्रमुख आदरणीय काका जितेन्द्र महत, भगवती आन्टी, आधिकारिक ट्रेड युनियनका जिल्ला अध्यक्ष गोर ब. बुढा दाजुसँग भलाकुसारी भयाे।
भोलिपल्ट अर्थात् १० गते निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले हामीलाई स्वागत कार्यक्रम राखेको जानकारी पाएँ। तर हामीलाई नै भनेर २ दिनदेखि फोक्सुन्डोमा पर्खेको टोलीलाई १० गते जसरी पनि भेट्टाउनु थियो। त्यही भएर स्वागत कार्यक्रमलाई माथिबाट फर्केपछि गर्नुपर्ला भनेर गोर दाजुलाई भनेँ।
'यात्रामा यस्तो हतार गर्नुहुँदैन, लामो बाटोको यात्रा गरेर आएको भोलि एकदिन यतै आराम गर्नुपर्छ', भनेर सबैले सुझाब दिनुभयो। तर हामी सक्ने भए त्यही राति नै फोक्सुन्डो पुग्ने लक्षमा थियौं।
सबैसँग फोक्सुन्डोको बाटोको बारेमा जानकारी लियौं। सबैले त्यहाँ पुग्न २ दिन लाग्ने जानकारी गराउनुभयो। हामीलाई जसरी पनि एकै दिनमा पुग्नुथियो…!
(लेखक कर्णाली प्रदेश उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत हुन्। बिएल नेपाली सेवामा उनकाे डाेल्पा यात्रा संस्मरण शृङ्खलाबद्ध रुपमा प्रकाशन भइरहेको छ।)