डोल्पो यात्रा संस्मरण- १

बाइकमा सरर डाेल्पा जाने धुन

Breaknlinks
Breaknlinks

२०७७ साल असोज ८ गतेका दिन नेपालगञ्ज हुँदै नेपालकै ठूलो जिल्ला डोल्पा जाने अनुमति प्राप्त भयो। डोल्पा जिल्लामा पाइला टेक्नको लागि पीसीआर रिपोर्ट अनिवार्य चाहिने। नेगेटिभ पीसीआर रिपोर्टसहित ७ गते बिहान ८:३० बजेतिर हामी तीन जना अर्थात् अञ्जु मिस, बासुकला सर र मैले नेपालगञ्जको यात्रा तय गर्‍याैं। नेपालगञ्ज दिउँसो १ बजेतिर पुग्याैं र खाना खान होटलतर्फ लाग्यौं।

खाना खाईसकेपछि डिभिजन वन कार्यालय, बाँकेमा गयाैं। त्यहाँका कार्यालय प्रमुख आदरणीय गुरु राजु क्षेत्री सर, टेक नेपाली दाजु, नवराज शाही दाजुलगायत कार्यालय परिवारको न्यानो आतिथ्यसहितको दिउँसको खाजा कार्यालय प्रमुखको क्वाटरमा खायाैं र साँझको खाना पनि निवासमै खाने भयाैं।

बस्नको लागि भने नेपालगञ्ज न्युरोडको होटल कल्पत्रु लर्ड्स ईन्मा सम्पर्क भइसकेको थियो।

साँझको खाना खाईसकेपछि हामी तीन जना होटेलमा फर्क्यौं। भोलिपल्ट यति पानी पर्‍याे कि प्लेन उड्ने सम्भावना नै थिएन। मौसम अझै दुई दिन सक्रिय रहने थियो। विगत दुई दिन देखिका यात्रु त्यतै अलपत्र परेका थिए।

तारा एयरका स्टेसन म्यानेजर दिलिप कार्कीसँग निरन्तर सम्पर्क भइरहेको थियो। 'प्लेन उडान् आज पानि रद्द भयो। भोलि पनि सम्भावना छैन। एक/दुई दिन कुर्नुपर्ने हुनसक्छ।' उहाँको एकोहोरो जवाफ थियाे।

यस्तै अवस्था रहे चाँडोमा नाै गते मात्र दुनै पुगिने। एरपोर्ट बाहिरको रेस्टुरेन्टमा बिहानको ब्रेकफास्ट खाँदै यस्तै–यस्तै गफ गर्दै बस्याैं। ती गफमा कुनै रस थिएन।

वैकल्पिक उपायहरुको समेत खोजी हुन थाल्यो। ८ गते नै गाडीमा रुकुमको राडीसम्म जाने र गाडी फेर्दै–फेर्दै जाने वा प्लेन नै कुर्ने ? वा नाै गते टिकट कन्फर्म भए बिहानै सुर्खेतबाट हिड्ने ? यी र यस्तै विकल्प सोच्दै भाटभटेनीमा अलिअलि किनमेल पनि गर्‍याैं र खाना खाएर पुन: सुर्खेतको यात्रा तय भयाे। उमङ्गरहित यात्रामा हामी सबैकाे अनुहारकाे लाली उद्रेकाे थियाे।

डोल्पा जाने उदेश्यका साथ असोज ७ गते नेपालगञ्ज हिँडेको टोली ८ गते पुनः गते सुर्खेत फर्कियो। ८ गते बेलुका न्यास्रो अनुहार लिएर पुन: सुर्खेत फर्कदाको पीडा भो कुरै नगरम!

त्यसपछि सुरुभयो मेरो एकल वैकल्पिक मार्गको खोजी। किनभने अञ्जु मिस र बासुकला सरको अलि कुर्न परे कुर्ने तर प्लेनभन्दा अर्को विकल्प प्रयाेग गर्ने भन्ने थिएन। म भने मोटरसाइकलमा भए पनि एकै दिनमा दुनै पुग्ने सुरमा थिए। किनभने अघिल्लो टोली असोज ६ गते नै दुनै पुगेर हामीलाई कुरिरहेको थियो।

अघिल्लो टोलीले हामीलाई कति दिन कुर्ने ? धैर्यताको बाँध फुटिसकेको थियो। टोलीले ८ गते फोक्सुन्डोको यात्रा तय गरेको खबर थियो। यो हिसाबले टोली ९ गते फोक्सुन्डो ताल छेउको रिग्मो गाउँ पुग्ने निश्चित थियो।

यता म भने अघिल्लो टोलीलाई फोक्सुन्डोमा कसरी भेटाउने भन्ने ध्याउन्नमा मात्र थिए। असोज ८ गते बेलुका सुर्खेत पुगिसकेपछि वैकल्पिक मार्ग र साधनको खोजी गर्ने क्रममा जुम्लाकै भाइ (उत्तम उपाध्याय)को मोबाइलमा घण्टी बजाउन पुगेँ। भाइले पनि एकै शब्दमा हुन्छ भनिहाले। काम बनिगयो। निराश दिल खुश भइगयाे।

भाइले पनि भर्खर किनेको एक्स- पल्स २००, १६०० किमी मात्र गुडेको मोटरसाइकल ल्याएर म कहाँ आइहाले। मैले पनि सरप्राईजिङ्ग शैलीमा भाइको के छ विचार ? जाने हो, डोल्पा ? भनेर सोधेँ, तिम्रो कार्यालय प्रमुखलाई म अनुरोध गर्छु, भनेँ। उत्तिनै खेर भाइको कार्यालय प्रमुखसँग कुरा भई अनुमति पनि आइगो।

भाइ पनि एकछिन अकमक्क परे र डोल्पा जाने निर्णय गरे। यतिबेलासम्म रातिको लगभग ७ बजिसकेको थियो। हतारहतार मोटरसाइकलको ट्याँङ्की फूल गर्न लाग्याैं, पेट्रोल पम्पतिर। त्यसपछि भाइको कोठामा गएर भएका जे छन्, लुगा पोको पारी त्यो रातसँगै सुत्ने र भोलि बिहानै ५ बजे हिँड्ने निर्णय गर्‍याैं।

दुई भाइका लुगा (भोलिपल्ट लगाउने बाहेक) एउटै झोलामा खाँदियो र खाना खाएर सुतियो। म अघिल्लो दिन नेपालगञ्जमा राम्रोसँग ननिदाएकोले भुसुक्कै सुतेछु।

भोलि बिहान अर्थात् ९ गते ४:३० बजे उठेर र चना–अण्डा खाएर दैनिक नित्यकर्म गरी गन्तव्यतिर लाग्याैं। हामी दुबैजनाको लागि नयाँ बाटो नयाँ उमङ्गसहित पुग्नु थियो, दुनै। अहाे ! त्याे बाइककाे यात्रा। अबका दिनमा म हजुरहरुलाई बाइकमा डाेल्पा पुर्याउने छु। कृपया कुर्दै गर्नुहाेला..।

(लेखक कर्णाली प्रदेश उद्याेग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत हुन्। याे लेखसँगै उनकाे डाेल्पा यात्रा संस्मरण शृङ्खलाबद्ध रुपमा प्रकाशन हुनेछ। )

प्रकाशित मिति: : 2022-01-08 12:47:00

प्रतिकृया दिनुहोस्