जुम्लाको तातोपानी गाउँपालिका-८ डुङ्गीका प्रेमबहादुर शाहीको घरमा १२ जना सदस्य छन्। घरमा खर्च-पानी गर्ने उनी भरिला सदस्य थिए। कमाउन भनी भारत गएका उनी चार वर्ष उतै बसे। यता घरमा जसोतसो परिवार पालिएको थियाे।
दुई वर्षअघि फर्किए। घरको अवस्था गतिलो थिएन। घरको अवस्था सुधार्न फेरि काला पहाडै रोज्नुपर्ने भयो। उनी लागे भारतको हिमाचल प्रदेश।
एक वर्ष अगाडिको कुरा हो- उनी काम गर्दै थिए, एक्कासी करेन्ट लाग्याे। हाई भोल्टेजको करेन्टका कारण उनको बायाँ हात पूरै गुम्याे। दायाँ हात हेर्दा चलेको जस्तो देखिन्छ। तर भर पर्दैन। शरीरमा बेलाबेला ऐठन परिरहन्छ। डाक्टरले थप उपचार गर्नुपर्ने भनेका छन्। उनीसँग उपचार गर्नलाई खर्च छैन।
धन कमाउन भनी भारत गएका उनी रित्तो हात फर्किएका भएपनि घरकाले केही मान्ने थिएनन्। तर उनले भएको हात पनि गुमाएर फर्किए। पिर त्यही छ।
नजिकै बसेकी श्रीमती हिरा शाहीले भनिन्, 'हात भएपछि हातमुख जोड्न सजिलो हुन्छ। तर उहाँका हातै छैनन्। हातमुख जोड्नै धौ हुने भइगो।
छोराले आफ्नो कहालीलाग्दो कथा सुनाउँदै गर्दा त्रिपाल अगाडि निराश अनुहार लगाएर बसेकी आमा भगवती शाहीले आँसु बगाइन्। 'छोराका पिरले मर्न आँटिगयाँ,' आँसु पुछ्दै भनिन्, 'दुखीका घरमा झन् दु:ख थपियो।'
उनले भनेको झन् दु:ख छोराको हात गुमेर अशक्त हुनुमात्रै होइन, जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले घर भत्काएर त्रिपालको बास हुनु हो।
कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर भूकम्प गएपछि जाजरकोट र रुकुम पश्चिमका कयौँ घरहरु भत्किए। सयौँको ज्यान गयो। सरकारको ध्यान उतैतिर मात्रै छ।
जाजरकोटसँग सिमाना जोडिएका जुम्लाका केही गाउँहरुमा भूकम्पको प्रभाव छ। भूकम्पले प्राय घरहरुमा आंशिक क्षति पुगेको छ। तर ती घर नभत्काइ बस्न मिल्ने छैनन्। राजनीतिक पार्टी र तिनका भातृ संगठनहरु पनि जाजरकोट र रुकुम पश्चिम केन्द्रित सेवा गरिरहेका छन्।
यसो हुँदा जुम्लाका भूकम्प पीडितहको घाउमा मलम लाउने काम न सरकारी तवरबाट भएको छ, न गैरसरकारी तवरबाट, न त राजनीतिक दलहरुको दरिलो साथबाट नै। यसो हुँदा काला पहाडले शरीरमा पुगेको क्षति र भूकम्पले घरमा पुगेको क्षतिको कसैले हर हिसाब नै गरेका छैनन्।
जिन्दगीको क्याल्कुलेटर नै बिग्रिएका प्रेमबहादुरको जीवनमा दु:खका उतारचढावबाहेक केही छैनन्। यसलाई समाधान गरिदिने गतिलो कालिगढ कोही भेटिएन।
न काठमाडौँको सरकार, न त गाउँका सिंहदरबार, कतैबाट पनि सहयोग नपाएपछि उनको सिंगो परिवार त्रिपालमा पुष-माघका चिसा रात कटाउन बाध्य छ। त्रिपालमुनि हिउँको सिरेटोले चिसो गराइरहेको छ भने मन पिरले चिसिँदैछ।
भूकम्पले घरहरु क्षति भएको खबरपछि तातोपानी गाउँपालिकाले अनुगमन गरेको थियो। केही राहत सामग्री दियो। वडा-पालिकाले पनि एक कट्टी चामल दिएको थियो। १२ जनाको परिवारमा सरकारले दिएको राहत महिनादिन पनि पुगेन।
पालिकाको टिमले अनुगमनपछि घर बनादिने, नबनाइदिनेबारे केही भनेन। बरु सरकारको ध्यान जाजरकोट र रुकुम पश्चिमतिर भएकाले यता केही गर्न सकिने अवस्था नरहेको भनी सुनाएको प्रेमबहादुरले बताए।
उनका अनुसार भूकम्प आउने रात सबैजना घरको माथिल्लो तल्लामा सुतिरहेका थिए। मध्यराति एक्कासी आएको भूकम्पले घर हल्लिएन मात्रै, पर्खालबाट ढुंगामाटो पनि झर्न लागे। त्यसपछि हतारहतार बाहिर आएका हुन्।
'हात चल्दैन। केटाकेटी कसरी ओसारेँ, पत्तो छैन। अलिकति बढी समयसम्म भूकम्प आएको भए हामी सबै मर्ने रहेछौँ,' उनले भने, 'भाग्यले बाँच्यौँ। घरकाे माथिल्लो दुई तल्ला काम नलाग्ने छ। गोठ पनि मस्तै चर्किएको छ। जोखिम भएपछि पालमा बस्न थालेका हौँ।'
त्याे घर उनी आफैँले बनाएका थिएनन्। उनी चार वर्ष इन्डिया बस्दा गाउँलेले घरको नाजुक अवस्था हेरी टिठ मानेर बनाइदिएका थिए। त्यही घर पनि भूकम्पले भत्काइदिएपछि नयाँ संरचना ठड्याउन निकै कठिन भएको प्रेमबहादुरले बताए।
'बाहिरबाट हेर्दा घर केही भएको होइन होला जस्तो लाग्छ। तर भित्र गयो भने पूरै हल्लिन्छ,' उनले भावुक हुँदै भने, 'पूरै नबनाई घरबास हुने नाई। घर बनाउन पैसा पनि नाई। हाम्रो त त्रिपालमै जिन्दगी जान्छ जस्तो लाग्न थाल्यो।'