शिक्षकहरूसँग आजै सहमति गरिसक्ने सरकारको तयारी

आन्दोलनरत शिक्षक र सरकारबीच मंगलबार रातिको वार्ता सहमतिमा पुग्न नसकेपछि आज फेरि वार्ता हुने भएको छ। मंगलबार राति साढे १० बजेसम्म शिक्षक महासंघका प्रतिनिधि र शिक्षामन्त्री रघुजी पन्तसहित सरकारी अधिकारीहरूबीच वार्ता भएको थियो। 

त्यो वार्तामा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेकख पनि केहीबेर बसेका थिए। तर राति अबेरसम्म पनि शिक्षकहरूका प्रस्तावमा सहमति जुट्न सकेन। शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौंमै आन्दोलनरत छन्। 

आज शिक्षकहरूसँग वार्ता गर्नुअघि सत्ता साझेदार दलहरूको पनि बैठक बस्दैछ। प्रधानमन्त्री निवास वालुवाटारमा हुने यो बैठकमा सत्ता साझेदार दलका शीर्ष नेताहरूबीच शिक्षक, चिकित्सक तथा कर्मचारीहरूको आन्दोलनलगायत शुक्रबार राष्ट्रपतिले संसदमा पेश गर्ने सरकारका नीति तथा कार्यक्रमहरूको बारेमा पनि छलफल हुने बताइएको छ। 

शिक्षकहरूले विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता, ग्रेड वृद्धि र समायोजन, मर्यादा क्रम, अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था, निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता, राहत शिक्षकका समस्या समाधानलगायतका विभिन्न ९ बुँदे प्रस्ताव सरकारलाई बुझाएका छन्। 

सकेसम्म आज नै सहमतिमा पुग्नेगरी सरकारले गृहकार्य गरिरहेको शिक्षामन्त्री रघुजी पन्तले बताएका छन्। 

प्रकाशित मिति: : 2025-04-30 08:09:00

प्रतिकृया दिनुहोस्