आजका प्रमुख समाचार:

‘हिंसा’ शब्दले फेरि तात्याे संसद, एमालेले सम्झियाे सुवास नेम्वाङ

‘हिंसा’ शब्दले गिजोलियो संसद

दलहरू माओवादी द्वन्द्वलाई हिंसा भन्न पाउने वा नपाउने भन्नेमा विभाजित हुँदा सार्वभौम संसद गिजोलिएको छ। माओवादीले हिंसा भन्न नपाइने र सत्तारुढ दल एमालेले भन्न पाउनुपर्ने अडानले गर्दा संसद बैठक गिजोलिएको हो।

भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले संसदमा बोल्दा माओवादी द्वन्द्वलाई हिंसा भनेका थिए। उक्त शब्द माओवादीले संसद रेकर्डबाट हटाउन माग गरेपनि आज बुधबार बसेको बैठकमा रेकर्डबाट हटाउन नपर्ने सभामुख देवराज घिमिरेले भनेपछि संसद बैठक नै चल्न सकेन।

माओवादीले बैठक अवरुद्ध गरेपछि आइतबार ३० गतेसम्म संसद बैठक स्थगित भएको छ।

सुवास नेम्वाङको स्मृति दिवस आज

प्रधानमन्त्री केपी शर्मा ओलीले सुवासचन्द्र नेम्वाङ इतिहासले सम्झिरहने पात्र भएको बताएका छन्। एमालेका तत्कालीन उपाध्यक्ष नेम्वाङको प्रथम स्मृति दिवसको अवसरमा उनले यस्तो बताएका हुन्।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बुधबार आयोजित श्रद्धाञ्जली सभामा ओलीले संविधान निर्माण गर्न र जारी गर्न नेम्वाङको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

यस्तै  सुवासचन्द्रका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्नेसमेत ओलीले जानकारी गराए।

कलाकार ईकु ठगी आरोपमा पक्राउ

ईकु भनेर चिनिने कलाकार सुलेमान शंकर ठगी आरोपमा पक्राउ परेका छन्। कलाकार भिसाको नाममा क्यानडा, अष्ट्रेलिया तथा युरोपेली देशमा पठाउने भन्दै ठगी गरेको आरोपमा उनी मंगलबार पक्राउ परेका हुन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उनलाई पक्राउ गरी जिल्ला अदालत काठमडौंबाट ५ दिनकाे म्याद थपेर अनुसन्धान गरिरहेको छ।

पश्चिम नेपालमा तीन दिन झरी

पश्चिम नेपालमा आज रातीदेखि ३ दिनसम्म भारी वर्षा हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाले मनसुनी प्रणाली थप सक्रिय भएकाले ३ दिन वर्षाको सम्भाना रहेको जनाएको छ।

बिहीबार साँझदेखि शनिबार बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहने र बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली हुनेछ।

सुकिला नोट सटही असाेज १३ गतेदेखि

आउने असोज महिनाको १३ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ। दसैं, तिहार र छठका लागि सर्वसाधरणले असोज १३ देखि २२ सम्म सुकिला नोट साट्न पाउने भएका हुन्।

यस वर्ष राष्ट्र बैंकले नयाँ नोट छपाइ नगरेपछि पुराना तर सुकिला नोट सटही गर्ने भएको हो। बैंकले दिएको जानकारी अनुसार नोट नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैकिङ विभागबाट सटही गर्न सकिनेछ।

यस्तै राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीबाट पनि नोट सटहीको सुविधा लिन सकिने छ। साथै इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिला नोट सटही गर्ने सकिनेछ।

प्रकाशित मिति: : 2024-09-11 20:07:00

प्रतिकृया दिनुहोस्