स्थानीय तहलाई चुनाैती

गुठीचाैर चिनाउन व्यक्तिगत लगानीमा खेलकुद

जुम्लाकाे गुठीचाैर गाउँपालिका- २ गुठीगाउँका रतनसिंह बाेहाेरा आफ्नाे माेटरसाइकललाई ‘एम्बुलेन्स’ बनाएर बिरामी बाेक्ने स्वयंसेवक हुन्। उनकाे स्वयंसेवाबाट गुठीचाैर गाउँपालिका वडा नम्बर १ र २ का अधिकांशले लाभ लिएका छन्। हरेकका दु:ख र पीडामा मलम/पट्टी लगाउन आफैँ तम्सिने उनकाे चर्चा त्यस क्षेत्रभरि छ।

उनै रतनसिंहकाे निजी लगानीमा गुठीचौरमा भव्य खेलकुद प्रतियोगिता सम्पन्न भएकाे छ। गुठीचौर- २ कोल्तेमा पहिलो पटक व्यक्तिगत तवरबाट आयाेजित खेलकुद प्रतियोगितामा खेलाडी र दर्शकको उत्साहजनक सहभागिता रहेको थियाे।

चार दिनसम्म चलेकाे प्रतियोगितामा भलिबल, फुटबल, देउडा र घैंटाेफोडलगायतका विधामा प्रतिस्पर्धा गराइएकाे आयाेजक बोहोराले बताए।

उनकाअनुसार, भलिबलमा सहभागी १० वटा टिममध्ये पातारासी- ४ लुमकाे टिम प्रथम भएको छ। उक्त टिमले नगद १२ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै गुठीचौर- २ को शिवलाल बोहोराको टिम दोस्रो भएको छ भने उक्त टिमले नगद ८ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ।

फुटबलमा सहभागी ७ वटा टिममध्ये विवादका कारणले दुई वटा टिमलाई आउट गरिएकाे थियाे। बाँकी रहेका टिमहरुबीच प्रतिस्पर्धा हुँदा गुठीचौर- ३ को टिमले प्रथम पुरस्कार पायाे। प्रथम हुनेलाई १५ हजार नगदसहित मेडल, प्रमाणपत्र प्रदान गरिएकाे बाेहाेराकाे भनाइ छ।

देउडामा सहभागी ३ वटा टिममध्ये गुठीचौर- २ की विर्मी ऐडीको टिम प्रथम भएको छ। उक्त टिमलाई १ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ भने गुठीचौर- २ का राजकली बुढाको टिम दोस्रो भएको छ। उक्त टिमलाई १ हजार रुपैयाँ पुरस्कार प्रदान बाेहाेराले बताए।

त्यस्तै घैँटोफोड प्रतियोगितामा गुठीचौर- २ कोल्तेका कर्ण बोहोरा प्रथम भए। उनले नगद ७ सय रुपैयाँ पुरस्कार हात पारे।

भदौ १५ गतेदेखि सुरु भएको प्रतियोगिता मंगलबार विधिवत रुपमा सम्पन्न भएको हाे। उनले झण्डै १ लाख रुपैयाँ निजी लगानी गरेर प्रतियोगिता संचालन गरेका थिए।

कुनै पनि निकायकाे सहयोग विना नै उनले प्रतियोगिता संचालन गरेका हुन्। ‘गुठीचाैर खेलकुद र कलाकाे प्रशस्त सम्भावना भएकाे क्षेत्र हाे,’ आयाेजक बाेहाेराले भने, ‘हामीले थाेरै लगानी मात्रै गर्न सकेकाे खण्डमा याे क्षेत्रले राम्राे प्रगति गर्ने भएकाे हुँदा प्रतियोगिता एकल रुपमा भएपनि गर्ने आँट गरेकाे हुँ।’

स्वस्थ जीवनका लागि खेलकुद चाहिने भएकाे हुँदा, ‘स्वस्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद’ भन्ने नारा आत्मसाथ गरेका रतनसिंहले व्यक्तिगत लगानीमा यति धेरै प्रतियोगिता संचालन गरेका हुन्।

व्यक्तिगत लगानीमा प्रतियोगिता संचालन गरेका उनले घर नजिकैकाे स्थानीय सरकार र सराेकारवाला निकायलाई चुनाैती दिएका छन्।

‘सरकार र सराेकारवाला निकायले नियमित रुपमा प्रतियोगिता गरिदिएकाे भए  निकै राम्राे हुन्थ्याे,’ उनले भने, ‘नभए एकल रुपमा भएपनि आगामी दिनमा यस्ता प्रतियोगिता संचालन गर्नेछु।’

आकर्षक पर्यटकीय क्षेत्रकाे रुपले परिचित गुठीचाैरमा थप पर्यटकलाई तान्न गरिएकाे आयाेजनाले पर्यटन प्रवर्द्धनलाई टेवा पुगाएकाे कर्णाली स्पार्ट क्लबका अध्यक्ष सराेज शाहीले बताए।

‘याे साह्रै सकारात्मक पक्ष हाे। यति ऊर्जाशील युवाकाे साहसलाई गाउँपालिकालगायत सराेकारवाला निकायले सम्मान गर्नैपर्छ,’ उनले भने, उहाँकाे सम्मान भनेकाे सराेकारवाला निकायले नियमित रुपले प्रतियोगिता संचालन गरिदिनु हाे। भावनाकाे कदर गरिदिनु हाे।’

जिल्लाका सबै खेलाडीलाई एकपटक गुठीचाैर पुगाउन गरिएकाे प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अध्यक्ष शाहीले थपे।

स्थानीय सरकारले सहयोग नगर्दा पनि विवादरहित रुपमा प्रतियोगिता संचालन हुनु सकारात्मक रहेकाे रतनसिंहकाे अनुभव छ। उनले थपे, ‘स्थानीय युवाको स्वयंसेवी सहयोगले पहिलो पटक आयोजना गरिएको प्रतियोगिताबाट धेरै कुरा सिकेका छाैँ। अब हरेक वर्ष कोल्तेमा प्रतियोगिता संचालन भइरहने छन्।’

जुम्लालगायत छिमेकी जिल्लाका खेलाडीहरुलाई पनि गुठीचौरको कोल्तेमा झार्ने उनकाे लक्ष्य छ। ‘गुठीचौर क्षेत्र पर्यटकीयस्थलका रुपमा परिचित छ। खेल खेल्ने र हेर्ने निउमा उहाँहरु आउँदा यताकाे चर्चा सबैतिर हुनेछ,’ उनले भने, ‘याे पर्यटकीयस्थललाई खेलका माध्यमबाट चिनाउन खोजेको हुँ।’

थप सामाग्री
प्रकाशित मिति: : 2023-09-06 08:00:00

प्रतिकृया दिनुहोस्