मनै लाेभ्याउने गुठीचाैर (फाेटाे फिचर)

BreaknLinks
BreaknLinks

दैनिक कामकाे चापबाट व्यहाेरिने थकान र तनावबाट टाढिएर एकान्तमा बस्न काे चाहँदैन र ? त्यसमाथि प्रकृतिकाे समीपमा गएर रमाउने हरकाेहीकाे चाहना हुन्छ। मानिस स्वभावैले प्रकृतिप्रेमी छ।

यदि तपाईं शान्त परिवेश खोज्दै हुनुहुन्छ भने जुम्लाकाे गुठीचाैर गाउँपालिका– २ मा पर्ने गुठीचाैर आकर्षक गन्तव्य हुन सक्छ।

बर्खामा गाई/गाेरु राख्ने गुठीचाैर पछिल्ला वर्षहरुमा धेरैले रुचाएकाे आकर्षक गन्तव्य बनिरहेको छ। जुम्ला सदरमुकाम खलङ्गा बजारबाट हिँडेर तीनदेखि चार घण्टामा गुठीचाैर पुग्न सकिन्छ भने गाडी वा माेटरसाइकलमा एक डेड घण्टामा पुग्न सकिन्छ।

स्कुल, कलेजका विद्यार्थीहरु प्राय: शुक्रबार हिँडेर गुठीचाैर जाने, साँझ उतै बस्ने र शनिबार फर्किने गरिरहेका छन्। फराकिलो पाटन चिरेर बागेकाे खेला, निस्फिक्री चरिरहेका वस्तुभाउ हेरिरहुँ लाग्ने देखिन्छन्।

गुठीचाैर गाउँपालिकाकाे वडा नं. २ मा पर्ने गुठीचाैरमा नेपाल सरकारकाे भेडा बाख्रा अनुसन्धान केन्द्र छ। नेपाल सरकारले भेडा उत्पादन बढाउन, जीविकोपार्जनमा सुधार ल्याउनलगायतका उद्देश्यसहित २०२७ सालमा भेडा तथा बाख्रा अनुसन्धान केन्द्र स्थापना गरेकाे थियाे।

त्यहाँकाे अनुसन्धानले कति जुम्ली जनता लाभान्वित भए ? त्यसकाे कुनै हरहिसाब छैन। तथापि, अनुसन्धान चलिरहेकाे छ। कहिले वैज्ञानिक नहुने त कहिले गाेठालाले धान्ने अनुसन्धान केन्द्र कसरी अगाडि बढ्नुपर्छ कसैले चासाे लिएका छैनन्।

हरेक हप्ता घुम्न जाने विद्यार्थी, सराेकारवालाहरु यसकाे जवाफ खाेज्दैनन्। प्रकृतिकाे समीपमा गएर निरन्तर स्वतन्त्रताकाे कावा खानेका निम्ति यी चासाेका विषय पनि हाेइनन्।

फराकिलो पाटनकाे पश्चिमपट्टी भेडा/बाख्रा अनुसन्धान केन्द्र छ। जहाँ सुनिने भेडाकाे भ्या-भ्या एउटा मधुर संगीतजस्ताे लाग्छ।

पूर्वपट्टी गुठीचाैर गाउँपालिका– २ काे काेल्त्या गाउँ छ। जसले एक्लै हुने पर्यटकलाई समेत आड भराेसा दिन्छ। यी दुई संरचनाका बीचमा फराकिलो पाटन छ। पाटनलाई बिच-बिचमा चिरा पारेर खाेलाहरु सदाबाहार बगिरहन्छन्।

ती खाेलाबाट निस्कने आवाज कर्णप्रिय लाग्छ। किनारमा गएर सुसेली हाल्न मान लाग्छ। फराकिलो पाटनका बिच-बिचमा अस्थायी प्रकृतिका गाेठहरु छन्। ती गाेठमा गाई र भैंसीकाे दूध, दही पाइन्छ।

जाजरकोट देखिका गाेठालाहरु बर्खामा गुठीचाैर आउँछन्। गाेठालासँग कुरा मिलायाे भने थाेरै पैसामा खिर खान पाइन्छ भने गाेठाले जीवनका अनुभूतीहरु पनि सुन्न पाइन्छ।

हाल आएर विभिन्न खालका जडीबुटी मात्रै देख्न सकिने गुठीचाैरमा कुनै समय जंगली जनावरहरु पनि पाइन्थे। युएनडीपीले नेपाललाई चन्दास्वरुप दिएकाे स्वीस जहास प्ल्याटर पीसी सिक्स पाेर्टर चलाउएर गुठीचाैर पुग्ने हार्डी फेररले त्यहाँ सिकारसमेत खेल्थे।

तर, पछिल्लो समय सिकार खेल्नलाई जंगली जनावरहरु उस्ता नभेटिने स्थानीय बताउँछन्।

प्रकाशित मिति: : 2023-08-03 06:00:00

प्रतिकृया दिनुहोस्