नेपालमा एकजना ‘महापुरूष’ छन्, जो कहिल्यै आफूबाट गल्ती हुन्छ भन्ने नै ठान्दैनन् ? ती ‘महापुरूष’को नाम के होला ? कसैका लागि यो प्रश्नको उत्तर भेट्न केही समय गम्नु पर्ला । तर, मेरो लागि त्यस्तो केही गर्नै पर्दैन, सहजै उत्तर हाजिर भैहाल्छ, खड्गप्रसाद शर्मा ओली ।
सम्भवतः नेपाली राजनीतिमा ओली जति गल्ती–महागल्ती गर्ने राजनीतिकर्मी अरू कोही छैन । धर्मप्रसादको खुट्टो समाउनेदेखि दुई–दुई पटक संसद् विघटन गर्नेसम्म भनौँ वा नेकपा र एमाले फुटाउनेदेखि महाकाली सन्धि गर्नेसम्म; उनले अनगिन्ती महागल्ती गरेका छन् । यति मात्र हैन, नेपाली राजनीतिको अपराधीकरण गर्न, यसमा विकृति भित्र्याउन र यसलाई आजको दुर्गतिजन्य स्थितिमा धकेल्न पनि उनको शीर्ष भूमिका छ ।
तर, पनि उनले आजसम्म ती तमाम गल्तीका लागि आफ्नो किञ्चित भूमिका स्वीकारेका छैनन् । कारण प्रस्ट छ, उनलाई लाग्छ कि उनीबाट कहिल्यै गल्ती हुँदैन । जब गल्ती नै हुँदैन, आत्मसमीक्षा गर्ने वा गल्ती स्विकार्ने कुरै हुँदैन । ओलीलाई लाग्ने अजब गजबको कुरा पनि यही नै हो ।
प्रश्न उठ्छ, के ओलीबाट गल्ती नै हुँदैन त ? वा भएकै छैन त ? त्यस्तो पटक्कै हैन । उनीबाट एक गल्ती हैन, अनेक महागल्ती नै भएका छन् । यस पछाडिको कारण प्रस्ट छ, उनी एक सामान्य योग्यता भएका आममानिस नै हुन् ।
पृष्ठभूमि, कार्यदक्षता, उपलब्धि, सफलता आदि–इत्यादिको आधारमा नाप्ने हो भने पनि उनी औसत अंकका हकदार हुँदैनन् । त्यसैले उनीजस्ता सामान्य मानिसबाट गल्ती हुन्छन् । उनीबाट पनि भएका छन् । तर, पनि उनलाई त्यस्तो पटक्कै लाग्दैन ।
आखिर ओलीलाई किन त्यस्तो लाग्छ त ? यस्तो लाग्नु के यो सामान्य कुरा हो ? निश्चित पनि यो सामान्य कुरा हैन । के त्यसो भए ओली त्यस किसिमको अस्वाभाविक सोचाइले ग्रस्त हुने रोगबाट त आक्रान्त छन् ?; जसको कारण उनी त पीडित छन् नै, उनको दल र सिंगो राष्ट्र नै प्रताडित भइरहेको छ । त्योचाहिँ हुनसक्छ ।
एकपटक वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले भनेका थिए, ‘ओली मेक्लोमेनको सिकार भएका छन् ।’ चिकित्सकीय भाषामा मेक्लोमेनको बारेमा यस्तो लेखिएको पाइन्छ, ‘कुनै पनि अंग प्रत्यारोपण गर्दा शरीरको प्रतिरोधात्मक शक्तिले त्यसलाई बाहिरी वस्तु ठान्दै त्यसविरुद्ध संघर्ष गर्न खोज्छ ।
यस क्रममा शरीरको प्रतिरोधात्मक शक्ति कम गरी प्रत्यारोपित नयाँ अंग शरीरमा अभ्यस्त गराउने औषधि प्रयोग गरिन्छ । मिर्गाैला प्रत्यारोपण गरिएपछि ओलीले इमिनोसस्प्रेस्यान्ट नामक त्यस्तो औषधि सेवन गर्दै आएका छन् । यो औषधि एक किसिमको ड्रग्स नै हो जसले आफ्नो सामथ्र्यभन्दा बढी गर्न सक्छु, आफूले भनेको सधैँ सही हुन्छ भन्ने भन्ने भ्रममात्र पैदा गरिदिन्छ ।’
डा. केसीले ‘ओली मेक्लोमेनको सिकार भएका छन्’ भन्नु र ओलीले पनि त्यसका जबरजस्त लक्षणहरू देखाउनुलाई संयोग मात्र भन्न मिल्दैन । यी दुई बीचमा गहिरो तादम्य हुनुपर्छ । के त्यसो भए एमाले एक मेक्लोमेनग्रस्त पार्टी नेताको असामान्य रोगको प्रताडना भोगिरहेको छ ? के नेपाल देश र नेपाली जनता एमालेले भिराएको त्यो रोगको भारी बोक्न अभिसप्त छन् ?
एमाले नेतृत्वमा ओलीको आगमन भएपछिको नेपालको राजनीतिको टाइमलाइनलाई हे¥यो भने लगभग त्यस्तै देखिन्छ । उनी बहुमतमा हुँदा संसद् नै भङ्ग गर्छन्, पार्टी नै विभाजन गर्छन् । अनि अल्पमतमा हुँदा यो वा त्यो नामको ढोक्सा थापेर राजनीतिलाई नै बन्धक बनाइदिन्छन् । त्यतिले नपुगे हलो अड्काएर गोरू चुट्छन् । त्यसका लागि चाहिने अंकगणित एमालेलाई ओमाले बनाएर भए पनि उनले जोहो गरिरहेकै छन् ।
ओलीको विशेषता नै भन्नुपर्छ, उनको बोलीमा लगाम नै लाग्दैन । उनको मुख यति चोथाले छ कि चुप लागेर बस्नै सक्दैनन् । चुप लाग्न नसक्नेले राम्रो कुरा बोले त हुने नि, त्यो पनि बोल्दैन ।
सधैँभरि कसैलाई न कसैलाई घोचपेच गरिरहेकै हुन्छन् । उनको शब्दकोषमा आत्मसमीक्षा भन्ने शब्द त छैन नै, आलोचना भन्ने शब्द पनि छैन । उनका लागि आलोचना विरोध हो भने आलोचक शत्रु । उनलाई जोजोम्यान मात्रै चाहिन्छ । जे भने पनि ‘जी हजूर’ भनेर ‘आरती उतार्ने’ मात्रै उनका लागि ठीक मानिस हुन् ।
हुँदाहुँदा पछिल्लो समय त ओली एक किसिमको कल्ट–लिडर नै भइसके भने पनि हुन्छ । उनलाई भगवान् मान्ने भक्त चाहिएको छ, आलोचनात्मक चेत भएको नेता कार्यकर्ता चाहिएकै छैन । उनले एमालेलाई ओमाले बनाएर त्यस्तै भक्तजनहरूको भजनमण्डली बनाइसके । रातो हराएको एमालेमा अब त्यस्तै गेरुवा रङधारीहरूको बर्चश्व छ ।
ओलीका अनेक गुनासा हुन्छन् । उनको एक सदाबहार गुनासो एमालेलाई घेराबन्दी गरियो भन्ने हुन्छ । तर, त्यसको मूल जड पनि आफैँ हुँ भन्ने उनी कहिल्यै ठान्दैनन् । उनी सधैँभरि कोही न कोहीलाई आक्रमण गरिरहेका हुन्छन् ।
उनलाई विद्वान मन पर्दैनन्, होच्याउन कुनै कसर बाँकी राख्दैनन् । उनलाई पत्रकार मन पर्दैनन्, फोनमा एउटै हेडलाइन बाँडेर समाचार लेखेको सम्म भन्नसम्म भ्याउँछन् । अरू राजनीतिक दलका नेताहरूलाई त तथानाम नै भन्छन् । यही शनिबार मात्रै कुनैबेलाको स्वाँगे भाइ रवि लामिछानेको रास्पवालाई ‘नीलो स्यालको पार्टी’ नै भन्न भ्याए । बालेनसँगको वाकयुद्ध त सुनिसक्नु थिएन ।
उनको चोथाले मुखको पछिल्लो निशानामा कांग्रेस महामन्त्री गगन थापा छन् । केही समय अघिसम्म उनलाई सफल बनाउन लागेका गगनसँग जुहारी खेलिरहेका ओली किन उनको पछाडि लागे त ? कारण प्रस्ट छ, उनले गरेका हरेक निर्णयको गगनले समर्थन गरिदिनुपर्ने आग्रह ।
गगनलाई ओलीका पछिल्ला केही निर्णय मन परेनन् । उनले त्यसको विरोध गरे । ओलीलाई त्यो सह्यै हुने कुरै भएन । त्यसपछि के चाहियो र ?, गगन आफूलाई प्रधानमन्त्री बनाउने कांग्रेसका महामन्त्री र उच्चस्तरीय सत्ता संयन्त्रका सदस्य हुन् भन्ने पनि बिर्सेर जाई लागिहाले ।
यो वाकयुद्धबाट ओलीको सत्ता गठबन्धनभित्रै एक जबरजस्त प्रतिपक्ष सिर्जना हुन्छ, भएको छ । यसले उनको सत्ता सहज हुँदैन, अप्ठ्यारोमा पर्छ । यो कमन सेन्सको कुरा हो । सामान्य मानिसलाई त थाहा हुने कुरा वाचाल ओलीलाई थाहा नहुने कुरै भएन । तैपनि, ओली यसरी किन आफ्नै खुट्टामा बञ्चरो हानिरहेका छन् त ?
यसको उत्तरका लागि फेरि एकपटक बाध्य भएर डा. केसीले भनेको कुरातिरै गएर आशंका गर्नुपर्ने हुन्छ, ‘कतै ओली साँच्चीकै ‘मेक्लोमेन’ नै भएका त हैनन् ?’ जसले उनलाई के बोलिरहेको छु र यसको परिणाम के हुन्छ भन्ने पनि हेक्का दिलाउँदैन ।
यो त एक पछिल्लो प्रतिनिधि उदाहरण मात्र हो । यस्ता बिब्ल्याटा काम त उनले कति गरेका छन् कति ? उनले बिगतमा गरेका अनेकौँ टिप्पणी र निर्णयहरूलाई सिलसिलेवार रूपमा हेर्यो भने पनि उनलाई सामान्य अवस्थाबाट गुज्रिरहेका मानिस भन्न गाह्रो हुन्छ ।
एमालेले देशलाई भिराएको यो घाँडोले देशभित्र गरेका यस्ता अनेकौँ अवाञ्छित टिप्पणीहरू पचेकै छन् । तर, उनका यस्ता टिप्पणीहरू विदेशीले सहन्छन् भन्ने हुँदैन र सहँदैनन् पनि । शायद त्यसैको प्रभाव हुनुपर्छ अहिले नेपालको कूटनीतिक सम्बन्ध इतिहासकै नाजुक मोडमा पुगेको छ । उनीहरू मेक्लोमेन ओलीलाई पत्याउन पटक्कै तयार छैनन् । यसबाट अहिले नै नेपालले गम्भीर कूटनीतिक धक्का बेहोरिरहेको छ । यो क्रम बढ्दै जाने हो भने भविष्यमा त्यसको परिणाम भयावह हुने निश्चित छ ।
अब प्रश्न उठ्छ, ओलीको यो मेक्लोमेन असरलाई किन नेपाल र नेपालीले सहिरहेका छन् ? अझ, त्योभन्दा पनि बढी पेचिलो प्रश्न त एमालेतिरै तेर्सिएको छ । त्यो भनेको, किन एमाले यस्तो घाँडो नेतृत्व बोकेर सत्यानाशको बाटोमा हिँडिरहेको छ ? ल ठीक छ, उसले त बोकोस् रे । त्यसको असर किन नेपाल र नेपालीलाई नै बोकाइरहेको छ ? त्यो अवाञ्छित भारी बोकाएर एमाले किन अभिसप्त भइरहेको छ ? के एमाले सकिएर पुरापुर ओमाले नै भएको हो ?
एमाले यतिबेला यी तमाम प्रश्नहरूको कठघरामा उभिएको छ । इतिहासले एक अभियुक्तको रूपमा उभ्याएर सोधिरहेका यी तमाम प्रश्नहरूको उत्तर दिने जिम्मेवारी एमाले नेता–कार्यकर्ताहरूको हो । तर, मेक्लोमेन ओली सामु निहुरमुन्टी न भएका उनीहरू त्यसका लागि तयार छैनन् । उनीहरूलाई थाहा छ, अहिलेको एमाले भनेकै ओली हुन् । उनलाई खुसी नबनाए कुनै पद वा अवसर नै पाइँदैन । पद वा अवसर बिना त उनीहरूको अवस्था पानी बिनाको माछा जस्तै हुन्छ । यतिबेला सिंगो एमाले यस्तो शरणागत सोचमा छ पुगेको छ ।
शायद एमालेको यो हरितन्नम अवस्था देखेर शायद विद्यादेवी भण्डारीलाई सही नसक्नु भएको हुनुपर्छ । शायद सपनामा मदन भण्डारी आएर भनेका पनि होलान्, ‘अति भयो । केही त गर ।‘ त्यही भएर पनि हुन सक्छ, उनले पार्टी सदस्यता नवीकरण गरेर केही गर्ने संकेत दिएकी छन् । यही बिचमा देश भ्रमण र भेटघाटको सिलसिला पनि सुरु भएको छ ।
विद्यादेवीको यो गतिविधिबाट ओलीको बेचैनी ह्वात्तै बढाएको छ । एमालेलाई रसातलमा नुपर्याएसम्म अध्यक्ष भइरहने सपना देखेका ओलीलाई यसले एक किसिमले ऐँठन नै भएको हुनुपर्छ । त्यसैले यतिबेला उनी साम, दाम, दण्ड, भेद लगाएर भए पनि विद्यालाई रोक्ने प्रयत्नमा छन् । यस क्रममा कहिले फकाइरहेका हुन्छन्, कहिले थर्काइरहेका । कहिले ‘राष्ट्रपति भैसकेको मान्छे फेरि पार्टीमा आउनुहुन्न’ भनेर स्यालहुइँया गराइरहेका छन् ।
तर, उनका यी तमाम हत्कण्डाहरूले खासै काम गरिरहेका छैनन् । ओलीसामु निहुर मुन्टी न हुन बाध्य भएकाहरू विद्या वरिपरि गोलबद्ध हुने क्रम बढ्दो छ ।
हो, हुन त राष्ट्रपति भैसकेको मानिस फेरि पार्टी राजनीतिमा नआएकै जाती हो । तर, प्रश्न नेपालमा कसले चाहिँ पदीय गरिमा कायम गरेको छ र ? भन्ने पनि हो । त्योभन्दा पनि बढी राजनीतिक बुमर्याङमा फसेको नेपाललाई बाहिर निकाल्ने पहिलो सर्त नै ओलीमुक्त एमाले बनेको छ । त्यसका लागि विद्यादेवीको एमाले पुनरागमन अपरिहार्य बनेको छ जुन ओलीलाई सह्यै छैन । उनले राष्ट्रपति भैसकेको मान्छे राजनीतिमा आउनुहुन्न भनेर बार तेस्र्याइदिए । तर, केही दिनअघि त्यो बार भत्काइदिएर माओवादीमा फर्किएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले विद्यादेवीका लागि पनि ‘हरियो–बत्ती’ बालिदिएका छन् ।
यसबाट बेचैन ओलीले अब कुन हत्कण्डा अपनाउने हुन् ? त्यो भने समयको गर्भमै छ । त्यो कसरी र कुन रूपमा उद्घाटित हुन्छ, त्यसका लागि भने केही समय पर्खनैपर्छ ।