बिएल संवाददाता
दाङ
रुस पुगेका प्रतीक पुन एक हप्तादेखि परिवारको सम्पर्कमा आएका थिएनन्। घरमा बहिनी र आमाले फोनमाथि आँखा लगाइरहन्थे, तर हप्ता दिनदेखि फोन पनि मौन भयो। त्यो मौनताभित्र आमा तिलकुमारी र बहिनी बिपनाको मनभित्र भने आँधिहुरी मच्चिरहेको थियो।
आइतबारका दिन मलेसियाबाट प्रतीकलाई चिनेका एकजना गाउँलेले एउटा भिडियो पठाइदिए। त्यहाँ प्रतीक बोलिरहेका थिए, छोराको त्यो भिडियो हेर्दाहेर्दै आमा तिलकुमारी धेरैपटक भक्कानिएकी थिइन्।
दाङ तुलसीपुर उपमहानगरपालिका- १९ बिजौरीका प्रतीक गत असार महिनामा रुस पुगेका थिए। विद्यार्थी भिसा लिएर मस्को पुगेका प्रतीकले केही समय त्यहिँको होटेलमा काम गर्दै पढ्दै पनि थिए। त्यसको महिना दिनपछि उनले यता फोन गरेर भने- म त सेना भएँ, रुसको…।
अहिले भिडियो हेर्दा थाहा भयो, उनी युक्रेनी सेनाको नियन्त्रणमा रहेछन्। त्यो भिडियो एक जना युक्रेनी पत्रकार आन्द्रे चाप्लिएङ्कले सार्वजनिक गरेका थिए। भिडियोमा प्रतीकले अरु नेपालीलाई रुसको सेनामा नआउन सन्देश दिएका छन्। युद्धभूमिबाट रिपोर्टिङ गर्दै आएका पत्रकार आन्द्रेले त्यो भिडियो एक साताअघि सामाजिक सञ्जालमा राखेका थिए।
अंग्रेजी भाषामा रेकर्ड गरिएको भिडियोमा उनले यस्तो सन्देश दिएका छन्-
‘मेरो नाम प्रतिक पुन हो, मेरो घर नेपाल दाङ बिजौरीमा हो। म रुसी सेनामा भर्ना भएँ र अहिले युक्रेनको कब्जामा छु। म यहाँ (रुस) स्टुडेन्ट भिसामा आएको थिएँ। दुई –तीन महिना मस्कोमा बसेँ र त्यहाँ मैले एकजना एजेण्टबाट रुसी सेनामा हुने भर्तीका बारेमा सुनें। उनै एजेण्टमार्फत नै म रुसी सेनामा भर्ती भएँ। मलाई यहाँ(रुस)को युद्धमैदानमा के भैरहेको छ भन्ने पनि थाहा थिएनँ। म अहिले युक्रेनको कब्जामा छु, म नेपालीहरुलाई भन्न चाहन्छु रुस नआउनुस्, सेनामा भर्ती नहुनुस्, युद्धमा नफस्नुस्। उनीहरूले पैसाको ठूलो लोभ देखाउँछन्,रुसी पासपोर्ट पाउने आश्वासन पनि दिन्छन्। तर पैसा र पासपोर्ट मात्रै सबथोक हैन। नेपालीहरूलाई लाग्छ युद्ध छिट्टै सकिन्छ अनि पैसा कमाउन सकिन्छ भनेर, मैले पनि यही सोच्थें, तर यो युद्ध सकिनेवाला छैन। यहाँ जताततै खतरैखतरा छ, कोही नेपाली पनि यो भ्रममा परेर यहाँ नआउनु होला, तपाईं मर्नुहुन्छ ।’
दक्षिण पूर्वी युक्रेनको जापोरिजी भन्ने स्थानमा प्रतीक खटिएका थिए। युक्रेनी सेनाले प्रतीकलाई त्यहीं स्थानबाट नियन्त्रणमा लिएको हो। उनी रुसको ७०औँ मोटोराईज्ड राइफल रेजिमेन्ट अन्तर्गत युक्रेनी सेनासँग लड्न त्यहाँ पुगेका थिए।
रुसको सेनामा भर्ना भएका दर्जन नेपाली मारिएको खबरसँगै अघिल्लो साता काभ्रेका सिद्धार्थ ढकाल र बर्दियाका विवेक खत्री पनि युक्रेनी सेनाको नियन्त्रणमा छन्। त्यसबाहेक अरुबारे नेपाल सरकार नै बेखबर छ।
साताअघि सामाजिक सञ्जालमा भाइरल भइरहेको प्रतीकको भिडियो आइतबारमात्रै उनकी आमा र बहिनीले देखे र प्रतीकलाई चिने। तर अब उनीहरूलाई थाहा छैन, रुस कहाँ छ? कोसँग लड्दैछ, अनि प्रतीक फर्किन्छन् कि फर्किन्नन्?
होटलमा काम गर्दा गर्दै एजेन्टमार्फत रुसको सेनामा भर्ती भएका उनले सुरुका दिनमा परिवारलाई केही भनेका थिएनन्। केही दिनको तालिमपछि उनी युद्धमैदानमा खटिए र सिधैं अग्रमोर्चामा उभिए।
नेपालका एजेन्टलाई ९ लाख रुपैयाँ तिरेर रुस छिरेका प्रतीकले दुई पटक गरेर परिवारलाई अहिलेसम्म १ लाख २५ हजार रुपैयाँ पठाएका छन्।
तीन महिनाअघि उनले बहिनी बिपनालाई फोनमा भनेका थिए– ‘म रुसको सेनामा गएँ। कमाई पनि राम्रै हुन्छ भन्छन्।’ त्यसपछि मात्रै बहिनीले आमालाई भनिन्। त्यसपछिका संवादमा आमाले त्यहाँ लडाईं भइरहेको थाहा पाएपछि पुरानै काममा फर्किन भनेकी थिइन्। तर प्रतीकले ‘केही हुन्न’ भन्दै आमा र बहिनीलाई सम्झाए।
त्यसको केही दिनपछि प्रतीकले फोन गरे अनि भने ‘अब अनलाईनमा आउन पाँदिन होला…’
‘गाडी आइसक्यो अब म जान्छु भन्नुभयो दादाले’ बहिनी बिपना भन्छिन्, ‘अनलाईन आउन मिल्दैन अब नआत्तिनु भनेर फोन राख्नु भएको थियो।’ त्यसयता प्रतीकको कुनै अत्तोपत्तो थिएन। एकैपटक भिडियो देखेपछिमात्रै थाहा भो- उनी युक्रेनी सेनाको कब्जामा परेका छन्।
‘मिर्गौला सक्केर त्यसका बा मरिगए। मेरो आड भरोसा भनेको त्यति एक्लो छोरो हो,’ आमा तिलकुमारी भन्छिन् ‘राम्रोसँग पैसा कमाउला भन्ने बेलामा छोराले कस्तो ठाउँमा खुट्टा हालेछ, फर्केर आए त हुन्थ्यो।’
तर उनलाई थाहा छैन अब प्रतीक आउँछन् कि आउँदैनन्। कसरी ल्याउने? त्यो पनि पत्तो छैन। सरकार के गरिरहेछ त्यो पनि जानकारी उनलाई छैन।
‘काठमाडौँ, नेपालगन्ज जस्तो ठाउँ भएको भए नि लिन जान हुन्थ्यो। तिलकुमारीको पुकार छ, ‘रुस भन्ने कता हो कता, कसरी आउने होला छोरो घरमा? अब भगवान भरोसा हो, छोरो चाँडै फर्काइदिए हुन्थ्यो भगवानले।’
आर्थिक अवस्था उति राम्रो छैन घरको। तीन वर्षदेखि मिर्गौला फेल भएर लडिरहेका प्रतीकका बुवा अघिल्लो वर्षको साउनमा बिते। त्यसपछि परिवार झन्–झन् ऋणमा डुबिरहेको थियो।
‘त्यही ऋण फाल्न विदेश जान्छु भनिरहन्थ्यो। अलि राम्रो देशमा गएर राम्रो कमाई गर्ला भनेको थिएँ,’ तिलकुमारी भन्छिन्, ‘रुस पो जान्छु भन्यो। ठिकै होला भनेको पछि त फेरि लडाईंमा लागें भन्छ। यस्तै हुन लेख्या रैछ…।’
परिवारमा उनी एक्ला छोरा हुन्। कान्छी बहिनी बिपना स्कुल पढ्दैछिन्। अरु दुई दिदीहरूको बिहे भइसकेको छ।
‘ऋण फाल्न भनेर कमाई गर्न हिँडेको छोरो कस्तोमा पर्यो भगवान!’ तिलकुमारी भन्छिन् ‘अब भगवानकै भरोसा छ, अरु त हामीले केही गर्न सकें पो!’
भिडियाे