बिएल संवाददाता
बुटवल
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका उप-नेता चेतनाराण आचार्यले संसदीय दलको बैठक बुटवलमा बोलाएपछि केही सांसदहरु असन्तुष्ट भएका छन्।
शनिबार दिउँसो २ बजे बस्ने संसदीय दलको बैठक प्रदेशको राजधानी भालुवाङमा राख्नुको साटाे बुटवलमा राखेको भन्दै पश्चिमी भेगका सांसदहरु आचार्यसँग असन्तुष्ट भएका हुन्।
प्रदेशको पश्चिमी क्षेत्रबाट निर्वाचित सांसदहरुले प्रदेशका गतिविधिहरु राजधानीमा हुनुपर्ने राय राख्दै आएपनि आचार्यले सबै गतिविधि बुटवलबाट नै गर्दै आइरहेका छन्। उनले मुख्यमन्त्रीमा नियुक्त भएको भाेलि नै बुटवलमा सम्पर्क कार्यालय खोलेका थिए।
उनले प्रदेशकाे राजधानीबाट काम गर्नुको साटाे बुटवलमा अड्डा जमाउन खोजेको भन्दै सांसदहरु पहिलादेखि नै असन्तुष्ट थिए। यही असन्तुष्टिबीच मुख्यमन्त्री आचार्यले संसदीय दलको बैठक बुटवलमा बाेलाएपछि सांसदहरु असन्तुष्ट बनेका हुन्।
बुटवल लुम्बिनी प्रदेशको अस्थायी राजधानी हो। बुटवलमा नै प्रदेशको राजधानी तोक्नु पर्ने भन्दै ठुलाे विवाद भए पनि पछि राजधानी भालुवाङमा सारिएको थियो। मुख्यमन्त्री आचार्य अर्घाखाँची १ (क)बाट निर्वाचित सांसद हुन्। उनले लुम्बिनीको राजधानी बुटवलमा हुनु पर्ने अडान लिँदै आएका छन्।
नेताहरु प्रतिष्ठासँग जोडिएको याे विवादका कारण यसअघिका मुख्यमन्त्री र मन्त्रीहरुले पनि कार्यालयका काम/कारबाही कहिले बुटवलमा त कहिले भालुवाङमा गर्दै आइरहकाे थिए।
नवनिर्वाचित मुख्यमन्त्री आचार्यले पनि बुटवलमा गतिविधि बढाउन थालेपछि दलभित्रको विवाद पुनः सतहमा देखिन थालेकाे छ।