आइतबार, १७ नोभेम्बर २०२४

एउटै पार्टीको बहुमत पुग्न गाह्रो भएकाले गठबन्धन गर्नु परेकाे हाे: देउवा

News Image
• • •

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान संविधानअनुसार एउटै पार्टीको मात्रै बहुमत पुग्ने अवस्था नरहेकाले अन्य दलसँग गठबन्धन गर्नुपरेको बताएका छन्।

काँग्रेस स्याङ्जाको प्रथम जिल्ला सम्मेलनलाई आज सदरमुकाम पुतलीबजारमा सम्बोधन गर्दै उनले हालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत नआउने भएकाले गठबन्धन गर्नु रहर नभई बाध्यता रहेको बताएका हुन्।

‘संविधानमा समानुपातिक समावेशी प्रणालीको व्यवस्था गरिएकाले पनि एउटा मात्रै पार्टीले बहुमत ल्याउन सक्ने अवस्था देखिंदैन’, उनले भने, ‘बहुमत पुर्‍याउनका लागि कुनै न कुनै पार्टीसँग गठबन्धन गर्नुपर्ने बाध्यता छ।’

कांग्रेसले अहिले नेकपा माओवादी केन्द्रलगायत अन्य पार्टीसँग गठबन्धन गरेको उनले बताए। अहिले अन्य पार्टीसँग गठबन्धन गरिएपनि कुनै समस्या नभएको उनको भनाइ थियो।

कांग्रेसको इतिहासमा स्याङ्जा क्रान्तिकारी ठाउँ भएको स्मरण गर्दै उनले पार्टीलाई अझै बलियो बनाउन नेता कार्यकर्तालाई निर्देशन दिए। ‘पार्टीको इतिहासलाई सम्झेर अझै बलियो बनाउने गरी अगाडि बढ्नुहोस्’, उनले भने, ‘कांग्रेसले बहुमत ल्याउने गरी लाग्नुहोस्।’

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?