बिएल संवाददाता
काठमाडाैं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज (शनिबार) पनि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग छलफल गरेका छन।
सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्माले पेश गरेको प्रस्तावबारे बूढानीलकण्ठमा पार्टीका पूर्व तथा वर्तमान पदाधिकारीहरुबीच छलफल भएको र ठोस सहमतिमा पुग्न नसकेको एक पदाधिकारीले बताएका छन। अब आइतबार केन्द्रीय समितिको बैठक अघि फेरि छलफल हुने बताइएको छ।
सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग यसअघि पटक-पटक गरेका छलफल निष्कर्षमा पुग्न सकेका छैनन।
पार्टीको महासमिति बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरु एकपटक राष्ट्रपति, दुईपटक प्रधानमन्त्री, तीनपटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा विवादित बनेको छ।
सभापति देउवाले दुवै महामन्त्रीका प्रस्तावलाई परिमार्जित गरेर पारित गर्न चाहेका छन। महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुनेछ। सभापति देउवाले चुनावमा गठबन्धन गर्ने विषय नीतिगत नभएर पार्टीको रणनीतिक योजना भएकाले यसलाई अहिले नै निर्णय गरेर जान नहुने पक्षमा रहेका छन।
त्यस्तै देउवा पक्षले महामन्त्री शर्माले राखेको प्रस्ताव मान्य नहुने भन्दै सो प्रस्ताव फिर्ता लिनुपर्ने धारणा राख्दै आएका छन।
महामन्त्रीद्वयको प्रस्तावमा सहमति हुन नसक्दा मंगलबार बस्ने भनिएको केन्द्रीय समितिको बैठक भदौ १६ गते आइतबारका लागि बोलाइएको छ।