शनिबार, १६ नोभेम्बर २०२४

नेताको स्वार्थमा बनेको दुई दलीय गठबन्धन सरकार धेरै दिन टिक्दैन: प्रभु साह

News Image
• • •

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने ठोकुवा गरेका छन्।

आजपाको सर्लाही जिल्ला भेलालाई आज मलंगवामा सम्बोधन गर्दै अध्यक्ष साहले आम जनादेशविपरीतको सीमित नेताको स्वार्थमा बनेको कांग्रेस र एमालेको दुई दलीय गठबन्धन धेरै दिन नटिक्ने बताए।

‘यो दुई दलीय गठबन्धन धेरै दिन टिक्दैन्। यो गठबन्धन नै जनादेश विपरितको छ। केही सीमित नेताजीको स्वार्थका लागि बनेको गठबन्धन हो। वास्तवमा यो गठबन्धन होइन ठगबन्धन हो’, आजपा अध्यक्ष साहले भने, ‘जनादेश विपरित, सीमित नेताको स्वार्थका लागि बनेको यो दुई दलीय गठबन्धन आम जनताको चाहनामा बनेको होइन। केही सीमित नेताको स्वार्थका लागि बनेको दुई दलीय गठबन्धनको सरकार धेरै दिन टिक्दै टिक्दैन।’

भ्रष्ट नेताहरुको अन्त्य र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको विकल्प नभएको बताउँदै उनले दलाल दलतन्त्रविरुद्धको जनआन्दोलनको तयारीमा जुटन आह्वान गरे।

भ्रष्ट नेताहरुको अन्त्य हुनैपर्ने बताउँदै उनले देश लुट्ने नेताहरुलाई राज्यले कारवाही गर्न नसकेकाले अब जनताले नै जनकारवाही गनुपर्ने बताए।

‘भ्रष्ट नेताहरु मालामाल भएका छन्, आम जनता लाचार छन्। काण्डैकाण्डले देश बदनाम छ। युवाहरु विदेशमा मर्नुपर्ने स्थितिको अन्त्यका लागि तेस्रो जनआन्दोलनको बिकल्प छैन’, साहले भने, ‘भ्रष्टाचारीहरु अहिले सम्मानित भइरहेका छन् तर स्वभिमानी युवाहरु अपमानित हुनुपर्ने, विदेशमा मर्नुपर्ने अवस्थाको अन्त्य हुनैपर्छ। राज्यले नै भ्रष्टाचारीलाई जोगाउने सम्मान गर्ने कामले देश कंगाल बन्दै गइरहेको छ। आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि युवाहरु उठनैपर्छ।’

देशमा लोकतन्त्र कमजोर भएको बताउँदै उनले दलाल दलतन्त्रका कारण अहिले युवाहरु देशमै रोजगार नपाउँने अवस्था आएको बताए।

लडेर ल्याइएको लोकतन्त्र दलाल, भ्रष्ट नेताहरुले मास्न लागेको आरोप लगाउँदै साहले भने, ‘लोकतन्त्रलाई पार्टीका नेताहरुले मिलेर मासे र दलतन्त्र ल्याए। आज दुई दल मिलेर त्यही दलतन्त्र मास्न लागिरहेका छन्।’

एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेटले लोकतन्त्र मात्रै नभई दलतन्त्र पनि खतरामा परेको टिप्पणी गर्दै उनले एमाले र कांग्रेसको दुई दलीय सिण्डीकेट तोड्न तोडनुपर्ने बताए।

लुटकारी दलाल दलतन्त्रको विरुद्धमा र आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि तेस्रो जनआन्दोलनको आह्वान गरेका साहले भ्रष्टाचारी नेताहरुलाई देशबाट लखेटनमा युवाहरुले ढिलाई गर्न नहुने समेत बताए।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?