बिएल संवाददाता
काठमाडाैँ
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक)काे छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्ड जाने भएका छन्।
आउँदो सेप्टेम्बर ४ मा हुने सम्मेलनमा सहभागी हुन ओली बैंकक जान लागेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिएका छन्।
बिम्स्टेकमा नेपाल, भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड गरी सात राष्ट्र सदस्य छन्।
शिखर सम्मेलन हुनका निम्ति सबै सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख अनिवार्य उपस्थित हुनुपर्ने प्रावधान छ।
बिम्स्टेक शिखर सम्मेलनको कार्यक्रम सकिएपछि प्रधानमन्त्री ओलीको द्विपक्षीय भ्रमण सुरु गर्ने गरी परराष्ट्रले तयारी गरिरहेको छ। यसो भएमा यसपटक प्रधानमन्त्री भएपछि ओलीको पहिलो द्विपक्षीय विदेश भ्रमण थाइल्याण्डबाट सुरु हुनेछ।
बैंककमा बिम्स्टेक शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओलीको भेट उनका भारतीय समकक्षी नरेन्द्र मोदीसहित अरू सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखहरूसँग हुनेछ।