आइतबार, १७ नोभेम्बर २०२४

कांग्रेस बदनाम हुनथाल्यो: सुजाता कोइराला

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं

News Image
• • •

नेपाली कांग्रेसकी नेत्री एवम पूर्वमन्त्री सुजाता कोइरालाले कांग्रेसलाई एक तहका नेता तथा कार्यकताहरुले बद्नाम गरिरहेको टिप्पणी गरेकी छिन्।

कांग्रेस अहिले सिद्धान्तविहीन जस्तै भएको भन्दै बिपी कोइरालाको सिद्धान्त आत्मसाथ गरेमात्र संगठन जोगाउन सकिने पनि बताइन्।

शनिबार काठमाडौंमा आयोजित ४२औं बिपी स्मृति सप्ताहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेत्री कोइरालाले पुर्खाहरुले संघर्ष गरेर जन्माएको पार्टीलाई एक तहका मानिसहरुले बद्नाम गर्न खोजिरहेकाले यसमा सजग हुनुपर्ने धारणा राखिन्।

‘हामी सबै एक भएर पार्टीलाई बचाउनुपर्छ। कांग्रेस गणेशमान सिंह, सुवर्णशमशेर, किशुनजी जस्ता नेताहरुले जन्माएर गर्भिलो इतिहास बनाएको पार्टीलाई एक तहका मान्छेहरुले बद्नाम गर्न खोजिरहेका छन्। कांग्रेस अहिले बद्नाम भएको छ। अब यसलाई सुधार्ने काम समग्र नेता कार्यकर्ताको हो,’ उनले भनिन्,‘पार्टीभित्र जसले बिपीको विरासत बोकेको छ, जसले बिपीको सिद्धान्तलाई आत्मसात गरेको छ उसले मात्र यो पार्टीलाई बचाउन सक्छ। मलाई अरु पार्टीबाट कुनै आशा पनि छैन, सरोकार पनि छैन। तर, नेपाली कांग्रेस आज सिद्धान्तविहीन भएको छ, पार्टी बचाउन ढिला भइसकेको छ।’

सिद्धान्तबिना राजीतिक पार्टी बाँच्न नसक्ने बताएकी कोइरालाले कांग्रेस अहिले त्यही अवस्थामा पुगेको बताइन्। डा. शेखर कोइरालाले बिपीको सिद्धान्तलाई आत्मसाथ गरिरहेको उल्लेख गर्दै उनले सबैले उनलाई समर्थन गर्नुपर्ने बताइन्।

‘शेखर कोइरालाले बिपीको सिद्धान्तलाई केही हदसम्म बचाउने काम गर्नुभएको छ। उहाँलाई हामी सबैले खुलेर समर्थन गर्नुपर्छ। बिपीले परिकल्पना गर्नुभएको राष्ट्रियता, प्रजातन्त्र, समाजवाद केही पनि नरहेको अवस्थामा शेखरले केही हदसम्म त्यो प्रयास गर्नुभएको छ’, उनको भनाइ थियो।

केही दिनअघि मात्र नेत्री कोइराला विशालनगरस्थित डा. शेखरको सचिवालयमा पुगेर भावी सभापतिका रुपमा डा. शेखरलाई अघि बढाउनुपर्ने बताएकी थिइन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?