आइतबार, १७ नोभेम्बर २०२४

कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी

File Photo
• • •

नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिने भएको छ। शुक्रबार माओवादीका चार मन्त्रीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै पदबाट राजीनामा दिने भएका हुन्।

कोशी प्रदेशमा एक जना राज्यमन्त्रीसहित माओवादीका ४ जना मन्त्रीहरू रहेका छन्।

माओवादीबाट गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्रीमा, राजेन्द्र कार्की स्वास्थ्य मन्त्री, नारायण बुर्जा मगर पर्यटन वन तथा वातावरण मन्त्री रहेका छन् भने बन्दना झाँगड पर्यटन वन तथा वातावरण राज्यमन्त्री रहेकी छन्।

केन्द्रमा काँग्रेस-एमाले गठबन्धन बनेदेखि नै कोशीमा माओवादी सरकारबाट बाहिरिने अनुमान गरिएको थियो।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यसअघि नै केन्द्रीय सत्ता समीकरण अनुसार प्रदेश सरकार पुनर्गठन गर्नुपर्ने भन्दै माओवादीलाई सरकार छाड्न सन्देश पठाएका थिए। तर, माओवादी भने मुख्यमन्त्रीले बर्खास्त नगरेसम्म सरकारमा नै रहने अडानमा थियो।

केन्द्रमा काँग्रेस-एमालेबीच कोशी प्रदेशमा पहिले एमालेले सरकारले नेतृत्व गर्ने सहमति भएकाले हालका मुख्यमन्त्री कार्कीको पद सुरक्षित रहेको छ।

कोशीमा कांग्रेस एमालेले आधा आधा कार्यकाल सरकारको नेतृत्व गर्ने गरी सहमति भएको बताइएको छ। माओवादी सरकारबाट बाहिरिने निश्चित भएपछि काँग्रेस-एमालेका नेताहरुले मन्त्रीको भागबन्डाबारे छलफल सुरु गरेका छन्।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?