बिएल संवाददाता
काठमाडाैँ
नेपाली काँग्रेस र नेकपा एमाले गठबन्धनको नयाँ सरकारमा मुगुका ऐनबहादुर शाही वन तथा वातावरणमन्त्री बनेका छन्। उनी नेपाली काँग्रेसबाट पहिलो पटक मुगुबाट मन्त्री बनेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्तिसमेत हुन्। शाहीको राजनीतिक अवस्था मन्त्री ऐनबहादुर शाही मुगुमा लोकप्रिय छन्।
आम नागरिकसँगै पार्टीभित्र र अन्य पार्टीका कार्यकर्तासँग पनि राम्रो सम्बन्ध बनाएका शाहीसँग मुगुवासीले ठूलो अपेक्षा राखेका छन्।
शाही हाल मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् भने वहालवाला मुगुका जिल्ला पार्टी सभापति पनि हुन्।
२०२६ साल फागुनमा मुगुको अति विकट मानिएको सोरु गाउँपालिका २ धुपि भन्ने गाउँमा एक गरिव बिपन्न घर परिवारमा जन्मेका शाही २०४४।०४५ सालबाट नेपाल विद्यार्थी संघबाट संक्रिय राजनीतिमा होमिएका थिए।
बहुदलीय व्यवस्थापछि काँग्रेस जिल्ला पार्टी सदस्य हुँदै २०६८ मा शाही मुगु जिल्ला सभापतिमा निर्वाचित भएका थिए।
२०७० मा पहिलो पटक संविधान सभा सदस्यको उम्मेदवार बनेका शाही झिनो मतान्तरले पराजित हुन पुगेका थिए। शाही फेरि दोस्रो पटक २०७८ मा काँग्रेस मुगु सभापति बनेका थिए।
उनी २०७९ को आम निर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए।
यस पटक मतदाताले शाहीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीलाई पराजित गराएका हुन्। झण्डै चार हजार बढीको मन्तारन्तरले पहिलो पटक शाही संसदीय अभ्यासमा प्रवेश गर्न सफल भएका हुन्।
भद्र र सालिन नेताका रुपमा परिचित शाहीले समग्र मुगु जिल्लाका लागि राम्रो काम गर्नेमा जिल्लाबासी सबै आशावादी छन्।