आइतबार, १७ नोभेम्बर २०२४

समाजवादी मोर्चाको बैठक: अध्यादेश नै ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न सुझाव

News Image
• • •

सत्तारुढ दलहरू माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा

चार दल सम्मिलित समाजवादी मोर्चाको बैठकले संघीयता कार्यान्वयनमा सरकार दृढतापूर्वक उभिनुपर्ने निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान बसेको बैठकले संघीयता कार्यान्वयनका लागि आवश्यक कानुनहरु निर्माण गर्नुपर्ने जाेड दिएकाे जसपाका नेता राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।

उनका अनुसार अध्यादेश नै ल्याएर भए पनि संघीयता कार्यान्वयन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई सुझाव दिइएकाे छ।

‘आजकाे बैठकमा संघीयता कार्यान्वयन गर्नका लागि सरकार अग्रसर भएर दृढतापूर्वक उभिनुपर्छ भन्ने विषयमा छलफल भयो। प्रदेशहरू अधिकारविहीन भएकाले संघीयता नै देशका लागि बोझ भएको सन्देश प्रवाह भयो। त्यसैले अध्यादेश नै ल्याएर भए पनि संघहरुलाई अधिकार दिन प्रधानमन्त्रीलाई सुझाव दिइएको छ’, उनले भने।

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतका समाजवादी मोर्चाका नेताहरू सहभागी थिए। 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?