बिएल संवाददाता
म्यान्मार
सशस्त्र विद्राेहीहरूकाे लालकिल्ला मानिने ‘लाइजा’मा दिउँसाेतिर बेग्लै उत्साह छ । अनि उस्तै डर । जंगलभित्र थुप्रै छाप्राहरू छन् । चारैतिर छापामार, जताततै हतियार । पिठ्युँमा बन्दुक छ । हातमा धारिलो ‘गोर्खाली’ खुकुरी । निर्दोष अनुहार तर कडा स्वभाव । सिलिक्क टाँसिएको कपाल ।
तनक्क परेको खाइलाग्दो शरीर । शिरदेखि पाउसम्म सैन्य पोशाक । सूर्य अस्ताउँदै गरेको समयमा डाँडामा कम्ब्याट ड्रेस । दायाँ पाखुरामा टल्किरहेको केआईएको फुली । सशस्त्र विद्रोही समूहको घनघोर सैन्य अड्डाको अग्रपंक्तिमा खटिएकी छिन्– २७ वर्षीया ‘कमरेड अनिता’ ।
उनी दुई वर्षअघि मिचिनाको एउटा सरकारी स्कुलमा पढाउँथिन् । तर अहिले म्यान्माको युद्ध मैदानमा छिन् । ‘हामी युद्धमैदानमा होमिएका छौँ । जनता हाम्रो साथमा छन् । म म्यान्माको जनसेना हुँ । यो देशमा गोर्खालीहरूको ठूलो मान–सम्मान छ । मलाई लाग्यो– गोर्खालीहरू यस्तो बेलामा पछि हट्नुहुँदैन,’ उनले भनिन्, ‘मैले सोचे, बहादुर गोर्खाली देशका लागि नलडे को लड्छ ? यही विचार लिएर मैले पनि लड्ने निर्णय लिएँ । एउटा खुकुरी बोकेर लाइजा आएँ ।’
म्यान्माको लडाकु दस्ता (फोर्स) मा भर्ना भएकी अनिता गोर्खाली चेली हुन् । उनी बर्मेली ‘तमी’ हुन् । बर्मेली भाषामा तमीको अर्थ छोरी हुन्छ । उनी क्रान्तिकारी छोरी हुन् । उनी विद्रोही स्वभावकी राष्ट्रपुत्री हुन् । उनी स्वतन्त्रता र प्रजातन्त्रवादी नागरिक हुन् । मिचिनाको गोर्खा–गाउँबाट झुल्किएकी एउटा ‘ज्वाला’ हुन् । उनी आफ्नो वास्तविक नाम लुकाउँदै म्यान्माको क्रूर सेनाविरुद्ध लड्न मैदानमा खडा भएकी ‘कमरेड अनिता’ हुन् ।