युएसएमएलईलाई नेपाल र नेपालीको मानमर्दन गर्ने स्टेटमेन्ट सच्याउन आग्रह
नेपाली चिकित्सकहरूको यूएस्एमएलई परीक्षाको नतिजा रद्द भएको घटनालाई लिएर नेपाल र अमेरिकामा रहेका नेपाली चिकित्सकहरूमाझ चासो र चिन्ता बढेको छ। अधिकांश चिकित्सकहरू यस प्रकरणबाट नेपाली परीक्षार्थीमाथि ज्यादति भएको भन्दै यसबाट नेपालको मानमर्दनसमेत भएको बताइरहेका छन्।
यसै क्रममा अमेरिकामा रहेका रामु खरेलले चेन्ज डट ओराजीमा युएसएमएलईको नेपालका आवेदकसम्बन्धी भनाइ परिमार्जन र परिबर्तन गर्न एक सार्वजनिक याचिका दायर गरेका छन् । दुई हजार पाँचसय हस्ताक्षरकर्ताको लक्ष्य राखेर शुक्रबार आव्हान गरेको याचिकामा शनिबारसम्ममा एकहजार छसय ८४ जनाले हस्ताक्षर गरिसकेका छन्।
याचिकामा नेपालमा सञ्चालित युएसएमएलईको परिक्षाको सम्बन्धमा जनबरी ३१ मा जारी भएको स्टेटमेन्टप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै 'जारी अनुसन्धानको एक भागको रूपमा, युएसएमएलई कार्यक्रमले नेपालसँग सम्बन्धित असामान्य परीक्षा प्रदर्शनको ढाँचा पहिचान गरेको छ, जसले परीक्षार्थीहरूको समूहको लागि परीक्षा परिणामहरूको वैधतालाई चुनौती दिन्छ' भन्ने भनाइ परिवर्तन र फिर्ता लिन आग्रह गरिएको छ। युएसएमएलईले सम्बन्धित परीक्षार्थीका बारेमा यस्तो भन्न सके पनि समग्रमा देश र सम्पूर्ण परीक्षार्थीलाई त्यसो भन्न नपाउने भनिएको छ ।
यो प्रकरणलाई लिएर अपवादलाई छोडेर सबै नेपाली चिकित्सकहरुको समर्थन रहेको देखिन्छ।
अेरिकाको नर्थ क्यारोलाइनामा रेसिडेन्सी गरिरहेका एक नेपाली चिकित्सकले युएसएमएलईको परिक्षा प्याट्रनमा भएको कमजोरीको फाइदा उठाउँदै केहीले त्यसो गरेका हुन सक्छन्। यसका लागि ती विद्यार्थी जति जिम्मेवार छन्, युएसएमएलईको परिक्षा प्याट्रन पनि त्यतिकै दोषी छ। त्यसैले विद्यार्थीलाई मातेर एकतर्फि दोषी ठानेर कारबाही गर्नु न्यायोचित हैन।'
चेन्ज डट ओआरजीमा दायर गरिएको सार्वजनिक याचिकाको पूर्ण पाठ का लागि यहाँ क्लिक गर्नुहोला।
उनले विगतमा भएका कमी कमजरोीलाई सच्याउनतिर लाग्नुपर्नेमा सबै नेपाली चिकित्सकलाई एउटै बास्केटमा हालेर नेपालकै मानमर्दन गर्नु निन्दनीय भएको बताउँदै युएसएमएलईले आफ्नो स्टटेटमेन्ट सच्याउनुपर्ने मात्र हैन, गरिएको कारबाही नै फिर्ता लिनुपर्ने बताए।
अपवादमा रहेका केही चिकित्सक भने केही नेपाली खराब चिकित्सकको अमेरिकामोहका कारण समग्र नेपाली चिकित्सकमाथि यो दुर्भाग्यपूर्ण परिस्थिति सिर्जना भएको बताइरहेका छन्। न्युयोर्कमा रेसिडेन्सी गरिरहेका एक नेपाली चिकित्सक भन्छन्, 'नेपालको मेडिकल काउन्सिलको परीक्षा तीनपटक फेल हुनेले एकै वर्ष युएसएमएलईका तीन चरणका परीक्षा उत्कृष्ट अंकका साथ पास गरेका छन्। यो आफैंमा अस्वभाविक छ।'
उनले अगाडि थपे, 'यो त सुरूवात मात्र हो । अमेरिकामा रहेका चिकित्सकका नालायक आफन्त र फाइदा लिएर भित्राएका नेपाली रेसिडेन्सी चिकित्सकको परिणाम आउन बाँकि नै छ।'
नेपाली चिकित्सकहरुले युएसएमएलई परीक्षाको नतिजा रद्द गर्दै नेपाल र नेपाली चिकित्सकको मान मर्दन गर्ने स्टेटमेन्ट जारी गरेको भन्दै यूएसएमएलईको निर्णयको विरोध गरेका छन्।यही क्रममा चेन्ज डट ओराजीमा युएसएमएलईलाई आफ्नो स्टेटमेन्ट सच्याउन आग्रह गर्दै एक सार्वजनिक याचिका दायर गरिएको छ।
यो पछिल्लो प्रकरणसँगै अमेरिकामा नेपाली चिकित्सकको रेसिडेन्सी प्रिम्याचिङ नै प्रभावित हुने देखिन्छ । केही भारतीय, पाकिस्तानी र बंगलादेशी प्रशिक्षार्थीहरूले सबै नेपाली चिकित्सकको रेसिडेन्सीको आवेदन नै रद्द गर्नुपर्ने माग गरेका छन्। रद्द नै नभए पनि अमेरिकामा भारतीय, पाकिस्तानी र बंगलादेशी चिकित्सकहरूको राम्रै प्रभाव भएकाले त्यसको प्रभाव देखिन सक्छ।
तर, नेपाली चिकित्सकहरूले भने यो एक किसिमको जातिवादी सोच भएको भन्दै यस्तो सोचको भत्सर्ना गरेका छन्। उनीहरूले सबैलाई एउटै बास्केटमा हालेर नहेर्न र व्यवहार नगर्न आग्रह गर्दै यस्तो सोच घृणा गर्न लायक भएको बताएका छन्।
युएसएमएलई प्रकरण नेपाल र नेपालीका लागि मात्र हैन, अमेरिका र नेपालको सम्बन्धमै पनि असर पार्ने विषय भए पनि यसबारेमा दुबै सरकारको खासै ध्यानाकृष्ट भउको देखिदैन । तर, चिकित्सक र चिकित्सा क्ष्त्रमा भने यो विषय गम्भीर चासो र चिन्ताको विषयका रूपमा हेरिएको छ।