बिएल संवाददाता
वासिङ्टन डीसी
नोभेम्बर ५ आउन अब एक साताभन्दा पनि कम समय भएको यो बेला अमेरिका इतिहासकै एक संगीन चुनावको पूर्वसन्ध्यामा उभिएको छ । अझै पनि ३ प्रतिशत मतदाताले कसलाई मत दिने हो निश्चित छैन । चुनावी परिणामका लागि निर्णायक हुने ब्याटल ग्राउण्डको अवस्थाका रहेका सात वटा स्विङ राज्यहरूमा यही ३ प्रतिशत मत निर्णायक छ ।त्यो मत कसको पक्षमा जान्छ? अहिले नै यसै भन्न नसकिने अवस्था भएकाले अमेरिकी चुनावी परिणामको पूर्वानुमान सकसपूर्ण भैरहेको छ ।
चुनावको दिन नोभेम्बर ५ भएपनि धेरै दिनदेखि मतदान भैरहेको छ । अर्ली भोटिङ र मेल इन ब्यालेटमार्फत ६ करोड २५ लाख अमेरिकी मतदाताले ४७औं राष्ट्रपतिका लागि मतदान गरिसकेका छन् । एक किसिमले भन्ने हो भने हार–जीतका लागि निर्णायक मतदान भैसकेको छ भन्दा पनि हुन्छ । अनौपचारिक र औपचारिक मत परिणामका लागि मात्र समयको प्रतिक्षा हो ।
अमेरिकाको यो चुनाव इतिहासमै सबैभन्दा खराब पनि छ र महत्वपूर्ण पनि । खराब यसकारणले कि यो चुनावमा राष्ट्रपतिका एकजना प्रतिस्पर्धी ट्रम्प ३४ फेलोन छन् र उनले यो चुनावको हुर्मत लिन कुनै कसर बाँकि राखेका छैनन् ।उनका कारण यसपटकको अमेरिकी चुनाव लालु यादवको समयको विहारी चुनाव भन्दा पनि तन्नम भएको छ । महत्वपूर्ण चुनावको कुरा गर्दा यो चुनावमा कमला ह्यारिसको जीतले एक गैर–श्वेत महिला अमेरिकाको पहिलो महिला राष्ट्रपति भएर एक हैन अनेक कीर्तिमान बनाउन सक्नेछिन् । त्यसकारण यो चुनाव अमेरिकाका लागि एक किसिमको महाभारत जस्तै हो । यो कुरूक्षेत्रमा सत्य र न्यायको पक्षमा पाण्डवरूपी कमला उभिएकी छन् भने कौरवरूपी ट्रम्प त्यसको प्रतिरोधमा छन् ।
द्वापर युगको महाभारतमा त पाण्डव पक्षको जीत भएको थियो । तर, यो कलियुगको महाभारत हो, त्यसैले यसै भन्न सकिने अवस्था नभएको हो । यद्यपि, सत्य र न्याय त जुन युगमा पनि एउटै हो । त्यसैले यो युगमा पनि सत्य र न्यायकै जीत हुने सम्भावना बढ्दो छ ।
यसपटकको अमेरिकी चुनावको इपिसेन्टर पेन्सेल्भेनिया राज्य हो । यो राज्यको १९ कलेज इलेक्ट्रल मत जसको पक्षमा जान्छ, जीत लगभग उसकै हुन्छ । २०१६ मा ट्रम्पले जितेको यो राज्य २०२० मा बाइडेनले जितेका थिए । यसपटक कमलाकै पक्षमा जाने संकेत त देखिएको छ यद्यपि ढुक्क हुन सकिने अवस्था छैन । यो समाचार टिप्पणी लेखिरहेको बेला मत सर्भेक्षणहरूले दुबै राष्ट्रपति उम्मेद्वारहरू ४८-४८%को 'डेड हिट'मा रहेको देखाएका छन् ।
झट्ट सुन्दा अचम्म लाग्न सक्छ तर तथ्य के हो भने यसपटकको अमेरिकी चुनावमा नेपाली मूलका मतदाता निर्णायक छन् । पेन्सेल्भेनियामा हजारौं संख्यामा नेपाली मूलका मतदाता छन्, उनीहरूले जुन उम्मेद्वारलाई मतदान गर्छन्, जीत लगभग उसकै हुने अवस्था छ ।
तर, यी नेपाली मूलका मतदाताहरू अझै पनि पूरै खुलेका छैनन् । अनुमान चाँहि के गर्न सकिन्छ भने उनीहरूको मन ‘कमला देवी’तिरै ढल्केको छ । त्यसैले यसपटक अमरिकाले नेपाली मतका कारण पहिलो राष्ट्रपति महिला पाउँन सक्नेछ । त्यसका लागि भने नोभम्बर ६ को मध्यरातिसम्मको व्यग्र प्रतिक्षा गर्नुपर्ने हुन्छ ।