शनिबार, १६ नोभेम्बर २०२४

अमेरिकाका ३ राज्यमा अर्ली भोटिङ सुरू, पहिलो दिन नै उत्साहजनक मतदान

बिएल संवाददाता

बिएल संवाददाता

वासिङ्टन डीसी

News Image
• • •

अमेरिकामा आगामी नोभेम्बर ५ मा हुने आमनिर्वाचन हुन ४५ दिन बाँकि छ । तर, अमेरिकाका तीन राज्य भर्जिनिया, मिनेसोटा र साउथ डकोटामा भने अर्ली भोटिङ सुरू भएको छ ।अर्ली भोटिङको पहिलो दिन आज शुक्रबार नै उत्साहजनक रूपमा मतदाताहरूको सहभागिता देखिएको छ ।

अमेरिकाको पूर्वीमध्य भागमा अवस्थित भर्जिनिया राजधानी वासिङ्टन डीसीसँगै जोडिएको छ भने मध्यपश्चिमका मिनेसोटा र साउथ डकोटा क्यानाडासँग जोडिएका छन् । राजनीतिक रूपमा भर्जिनिया र मिनेसोटा डेमोक्रेट बहुल नीला राज्य हुन् भने रिपब्लिकन बहुल साउथ डकोटा रातो राज्य हो । भर्जिनियामा १३, मिनेसोटामा १० र साथ डकोटामा ३ कलेज इलेक्ट्रोल मत रहेको छ । 

यसपटकको चुनावमा दुई वृद्ध डोनल्ड ट्रम्प (७८) र जो बाइडेन (८१)  राष्ट्रपति उम्मेद्वार हुँदा भर्जिनिया र मिनेसोटाको नीलो रङ खुइलिएर फिक्का भएको थियो । तर, डेमोक्रेटिक उम्मेद्वार जो बाइडेनको ठाउँमा ५९ वर्षीय कमला ह्यारिस उम्मेद्वार भएपछि यी दुबै राज्य पुन: नीला भएका छन् । मिनसोटाका लोकप्रिय डेमोक्रेटिक गभर्नर टिम वाल्स डेमोक्रेटिक पार्टीका तर्फबाट उपराष्ट्रपतिका उम्मेदेवार भएकाले यो राज्य त गाढा नीलो भएको छ । भर्जिनियामा पनि डेमोक्रेटिक राष्ट्रपति उम्मेद्वार कमला ह्यारिस  प्रतिद्वन्दी डोनल्ड ट्रम्पभन्दा धेरै अगाडि छन् । चुनावी पोलहरूको औसत हेर्दा उनी १२ अंकले अगाडि छिन् । 

अमेरिकामा हुलाकबाट मतदान गर्ने मेल इन ब्यालेट, निर्वाचनको दिन अगाडि नै  मतदान केन्द्रमा गएर मतदान गर्ने अर्ली भोटिङ र निर्वाचनकै दिन गरिने मतदान गरी तीन प्रक्रियाद्वारा मतदान गरिन्छ । सबै राज्यमा निर्वाचन दिन नोभेम्बर महिनाको पहिलो मंगलबार नै भए पनि अर्ली भोटिङ र मेल इन ब्यालेट कहिले र कसरी गर्ने बारेमा भने राज्यहरूका निर्वाचन कार्यालय नै निर्णय गर्छन् । अपवादका रूपमा मिसिसिपी, अलाबामा र न्यू ह्याम्पसायर राज्यमा भने अर्ली भोटिङको व्यवस्था छैन ।

अमेरिकाले आगामी नोभेम्बर ५ मा आमचुनाव हुँदैछ । चुनावमा डेमोक्रेटिक राष्ट्रपति उम्मेद्वार कमला ह्यारिस र रिपब्लिकन राष्ट्रपति उम्मेद्वार डोनल्ड ट्रम्पबीच देशको ४७औं राष्ट्रपतिका लागि तीब्र प्रतिस्पर्धा छ । ट्रम्प अमेरिकाका ४५औं राष्ट्रपति हुन् भने कमला अमेरिकाकै पहिलो उपराष्ट्रपति महिला हुन् । पछिल्ला एक्जिट पोलहरूमा कमला ह्यारिसले डोनल्ड ट्रम्पलाई पछाडि छोडेकी छन् । नोभेम्बर ५ सम्म नै यही गतिमा अगाडि बढिन् भने उनको चम्केको गधा सामु ट्रम्पको लम्कनुपर्ने हात्तिको केही लाग्दैन । स्मरणीय रहोस्, गधा डेमोक्रेटिक पार्टीको चिन्ह हो भने हात्ती रिपब्लिकन पार्टीको चिन्ह हो ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?