सोलुखुम्बुमा प्रहरी चौकी कब्जामा लिने विप्लव माओवादीको असफल प्रयास!

नेत्र विक्रम चन्द विप्लव

नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सोलुखुम्बुको विकट पहाडी क्षेत्रमा प्रहरी चौकी कब्जा गर्ने असफल प्रयास गरेका छन्।

जिल्लाको महाकुलुङ गाउँपालिका–३, छेस्काममा आइतबार राति विप्लव कार्यकर्ताले प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेका थिए।

तर, उनीहरूको गतिविधिबारे अग्रिम सूचना पाएको प्रहरी टोली आइतबार दिउँसै अन्यत्र सरिसकेको प्रहरी उच्च स्रोतले दाबी गरेको छ।

एक उच्च सुरक्षा अधिकारीका अनुसार २०/२५ जनाको संख्यामा रहेका विप्लव कार्यकर्ताहरू गाउ पसेको सूचना प्रहरीले पाए लगत्तै चौकी खाली गरेर अन्यत्रै सरेका थिए।’

ती अधिकारीका अनुसार त्यो समूह चौकीभित्र प्रवेश गरे पनि कागजपत्र वा अन्य कुनै भौतिक सम्पत्तिमा तोडफोड र क्षति नपुर्‍याएको दाबी गरे।

थप अनुसन्धानका लागि काठमाडौंबाटसमेत सुरक्षाकर्मीको टोली  सोलुखुम्बु पठाइएको ती अधिकारीले बिएल नेपालीलाई जानकारी गराए।

पछिल्लो समय गाउँमा विप्लव समूहको गतिविधि केही बढेको महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किँरातीले जानकारी गराए।

उनले गाउँपालिकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीले गस्ती बढाएकोसमेत जानकारी गराउँदै गएरातिको घटनाबारे वास्तविक आइनसकेको बताए।

यसैबीच काठमाडौं र विराटनगरबाट हेलिकोप्टरमा थप नेपाल प्रहरी र सशस्त्र प्रहरी पठाइएको हो।

नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको सुरक्षा स्रोतले जानकारी दिएको छ। 

 

प्रकाशित मिति: : 2019-06-03 13:48:48

प्रतिकृया दिनुहोस्