मिति : २०६२ पुस ११
स्थान ः दुम्ला (गैरिगाउँ), रोल्पा
बिहानकाे सात बज्नै लाग्दा आकाशमा चार वटा हेलिकप्टर घुम्न सुरू गरिसकेका थिए। ती हेलिकप्टर किन आएका हाेलान् ? माओवादी लडाकुहरूले साेच्नै भ्याएका थिएनन्, बम बर्सिन थालिहाल्याे। झण्डै १० वर्षदेखि निरन्तर लड्दै आएका माओवादीहरूले साेचेका पनि थिएनन्, यसरी सेनाले आकाशबाट बमका गाेलाहरू बर्साउलान् भनेर। त्याे दिन नसाेचेकाे भयाे।
आकाशबाट बमका गाेलाहरू निरन्तर बर्सिनै रहे। ती बमहरू कतिबेला आफ्नै टाउकाेमा खस्ने हुन्, सबैका मनमा त्रासका लहरहरू तरङ्गित भइरहेका थिए। अझ भनाैँ, मृत्युले नजिकैबाट जिस्क्याउँदै थियाे। तर, पनि मुक्तिकाे लागि जस्ताेसुकै अवस्थामा पनि लड्ने अठाेट गरेर युद्धमा हाेमिएका माओवादी याेद्धाहरू पछाडि हट्ने कुरै थिएन। निरन्तर संघर्ष गरिनै रहे। माथिबाट खसेकाे बमहरू बिस्फाेट भएर पूरै अन्धाकार छायाे। विस्फाेटकाे आवाज कानले थेगिसक्नु थिएन। सयाैँ याेद्धाहरूसँग निरन्तर लडिरहेका थिए, गजुलका राजकुमार कुवँर, (४८)।
लडाइँ दिउँसाे ३ बजेसम्म एउटै गतिमा चलिरहेकाे थियाे। आफूलाई कत्ति पनि कम्जाेर नठानी राजकुमार पनि लडिरहेका थिए। त्यतिकैमा उनकाे छेउमा बम विस्फाेट भयाे। त्याे बमले कुवँरकाे बायाँ खुट्टा नै उड्याे। उनी आत्तिए। छट्पट्टिए। त्यतिबेला उनकाे छेउछाउमा भएका मानिसहरू जीवित थिएनन्। त्याे बम छल्न सकेका जति युद्ध मैदान छाडेर भागिसकेका थिए। आकाशबाट बमका गाेलाहरू बर्सिरहेका बेला उनलाई काे आओस्, बचाउन। उनले आफ्नाे ज्यानकाे माया मारिसकेका थिए। तर, केही साथीहरू ज्यानकाे माया मारेर उनलाई लिनकाे लागि आए। तिनीहरू उनै थिए, जसलाई कुवँरले नै ‘मेराे पिर नगर आफ्नाे ज्यान बचाओ’ भनेर केही बेर पहिला भाग्न लगाएका थिए। तर, सहयाेद्धा त्यसरी मृत्युकाे मुखमा छट्पटाइरहेकाे उनीहरू कहाँ देख्न सक्थे र, ज्यानकाे माया मारेर ल्याउनलाई आए।
‘हामी बिहानदेखि निरन्तर लडिरहेका थियाैँ, मर्न पराेस् हार मान्ने कुरा थिएन। साथीहरूसँगै लडिरहेका बेला मेराे नजिक बम खस्याे। वरिपरी अन्धधुन्ध भयाे, त्यतिबेला मेराे खुट्टा चिसाे भएर दुख्न थाल्याे,’ बिएल नेपाली सेवाकाे कार्यालयमा बसेर कुवँरले १६ वर्षअगाडिकाे कुरा सुनाउँछन्,‘धुवाँसँगै मेराे खुट्टा पनि उडिरहेकाे थियाे। म चिच्याएँ। तर, म पछाडि हटिनँ भएका केही गाेलीले २/४ जना सेनालाई मार्छु भनेर बन्दुक चलाउन छाडिँनँ।’
चाेटकाे दुखाइ सहन नसकेर उनी बेहाेस् भएका थिए। ‘आज पनि एक दर्जन साथीहरूकाे ज्यान गयाे, हामीले चाहेर पनि साथीहरूकाे ज्यान बचाउन सकिएन,’ छेउमा भएका साथीहरू गाइँगुइँ गर्दै थिए, गैरीगाउँकाे स्वास्थ्य शिविरमा बेहाेस भएकाे घण्टाैँपछि कुवँरका आँखा खुल्दा। त्याे भयानक घटनाबाट कुवँरकाे ज्यान त बच्याे तर खुट्टा रहेन। बम लागेकाे ११औँ दिनपछि उनकाे खुट्टाकाे अपरेशन भयाे। उनकाे नाम जनयुद्धमा घाइते अपाङकाे लिष्टमा दर्ज भयाे।
नेपाली जनताकाे सुन्दर भविष्यकाे सपना सझाएर २२ वर्षकाे उमेरमा माओवादी जनयुद्धमा हाेमिएका कुवँरकाे साहस अस्पतालकाे बेडमा थन्कियाे। उनी अस्पतालबाट घर फर्किँदा पार्टी शान्ति प्रकियामा गएकाे थियाे। त्यसरी हजारौंको बलिदानी र खुन, पसिनाले राज्यसत्ता कब्जा गर्न हिँडेको पार्टी शान्ति प्रक्रियामा जाँदा दुई/चार महिना आफू रनभुल्ल परेकाे उनी बताउँछन्। त्यतिबेला उनलाई पार्टीले धाेका दियाे कि भन्ने लागेकाे थियाे।
‘पार्टी शान्ति प्रक्रियामा जाँदा त म रनभुल्ल परेँ। पार्टीले धाेका थियाे भन्ने लाग्याे। सहिदकाे सपना अलपत्र पर्याे भनेर चित्त दुख्याे,’ उनी सम्झिन्छन्,‘तर, पछि गहन रूपमा साेच्दा त्याे सही निर्णय रहिछ भन्ने लाग्याे। शान्ति प्रक्रिया देशकै लागि सेफ ल्याण्डिङ थियाे।’
उनी यसरी ज्यानकाे माया मारेर त्यतिकै माओवादी जनयुद्धमा हाेमिएका हाेइनन्।
उनले कक्षा १० मा पढ्दै गर्दा वि.सं. २०४६ सालमा बहुदलीय व्यवस्था आयो। त्यतिबेला उनले राष्ट्रिय जनमाेर्चा निकट विद्यार्थी संगठन (अखिल छैठौं) मा रहेर राजनीति बुझ्दै थिए। आइए पास गरेर उनी सरकारी जागिर खाने तयारी गर्दै थिए। राम्राे अङ्क ल्याएर पास भएका उनकाे सरकारी जागिर खाएर गाउँमा प्रतिष्ठिन बन्ने सपना थियाे। तर, साेचेकाे जस्ताे भएन। जागिरकाे लागि धेरै काेसिस गर्दा पनि उनले सफलता पाउन सकेनन्। आफू जागिर खान सफल नहुनुकाे मुख्य कारण शिक्षा आयाेगकाे पक्षपाती प्रवृति भएकाे उनी दाबी गर्छन्।
‘मैले परीक्षा त राम्राे गर्थेँ। तर, शिक्षा आयाेगमा मेरा मान्छे थिएनन्, आयाेगले परीक्षा जस्ताे गरे पनि आफ्नाे मान्छेलाई पास गराउँथ्याे,’ उनी भन्छन,‘ सरकारी कार्यालयमा यस्तै गरिने हाे भने त हामी निमुखाकाे पालाे कहिलै आउँदैन भन्ने लाग्याे अनि विद्राेह गर्ने साेच बनाएर माओवादी आन्दाेलनमा लागेँ।’ राज्य सत्ताकाे दमन सहन नसकेर आफू जनयुद्धमा लागेकाे उनी बताउँछन्। जनयुद्धमा लागेर उनी धेरै युद्ध लडे। जनयुद्धका क्रममा देशका विभिन्न जिल्लामा पुगे।
यसरी लड्दा लड्दै उनकाे खुट्टा नै गुम्याे। भाैतिक रूपमा हुने असहजताले उनलाई अहिले पनि दु:ख दिइरहेकाे छ। तर, उनी खुट्टा गुम्दैमा जीवन बर्बाद भयाे भन्ने कहिलै गुनासाे गरेनन्। ‘अहिले पनि घाउ त बल्झिनै रहिन्छ तर मलाई केही गुनासाे छैन,’ उनी भन्छन्,‘हामी जनयुद्ध लडेका थियाैँ र त यत्राे परिवर्त भयाे, लाेकतन्त्र आयाे, संविधान बन्याे। तपाईं हामी यसरी स्वतन्त्र रूपमा कुरा गर्न पाएका छाैँ।’
उनी आफैं पार्टीका विभिन्न तहमा रहेर काम गरे। राष्ट्रियसभा सांसद समेत बनेर देश र जनताकाे लागि काम गर्ने अवसर पाए।
उनलाई जनयुद्ध लडेकाेमा पछुताे छैन। आफू घाइते अपाङ्ग भएकाे गुनासाे पनि गर्दैनन्। बरू, पछिल्लाे समय पार्टी नेतृत्वले बाटाे बिराएकाे भन्दै दुखेसाे पाेख्छन्। पाएका उपलब्धि रक्षा गर्न सकिँदैन कि भनेर उनलाई पिर लागेकाे छ। त्यति ठूलो बलिदान र संघर्षबाट आएको गणतन्त्र/ लोकतन्त्रको रक्षा नै धरापमा पर्दा चित्त दुखेको बताउछन्, उनी।
‘अहिले नेतृत्व तह र ग्राउण्ड लेवलबीच तालमेल मिलेकाे छैन। पूर्व लडाकु, घाइते अपाङ्ग, सहिद परिवारहरुको विश्वासमा ठेस लागेकाे छ। पार्टीले सबैका कुरालाई समेट्न सक्नुपर्छ,’ उनले भने।
पार्टीका नेताहरूकाे फेरिएकाे जीवनशैलीप्रति उनकाे तर्क छ,‘ठाउँ परिवेश अनुसार सामान्य परिवर्तन हुनु स्वभाविक हाे तर आफ्नो आदर्श र उद्देश्य भुल्नु चाहिँ हुँदैन।’
अब पार्टी नेतृत्वले ग्राउण्ड लेभलमा आएर सल्लाह सुझाव लिएर काम गर्नुपर्ने उनकाे सुझाव छ। ‘अबकाे लडाइ बुलेटबाट हाेइन ब्यालेट (मतपेटीका)बाट गर्नुपर्छ। त्यसका लागि पार्टीले जनताकाे मन जित्न जरूरी छ,’ उनले अन्त्यमा भने।