चीन, क्यानडा र मेक्सिकोसँग ट्रम्पले छेंडे ‘ब्यापार-युद्ध’

Break n Links
Break n Links

‘भन्सार’लाई संसारकै ‘सुन्दर’ शब्द भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालका केही ‘खतरनाक’ निर्णय र आदेशहरूमध्ये एक हो- आयातित वस्तुमाथिको कर। बस्तु-ब्यापारमाथि करको भारी थोपर्ने ट्रम्पको आदेश बुधबारदेखि लागु हुनेछ। 

ट्रम्पको यो निर्णय खासगरी चीन, क्यानडा र मेक्सिकोजस्ता शीर्ष निर्यातकर्ता देशहरूलाई धेरै भारी पर्ने देखिएको छ। र उनीहरूले यसलाई अमेरिकाको ‘दादागिरी’ भनेर सुरुवाती प्रतिक्रिया दिइसकेका छन्। 

चिनियाँ सामान र त्यसका आयात-निर्यात कम्पनीहरूमाथि त ट्रम्पले पटक पटक गरे २५ प्रतिशतसम्म कर वृद्धि गरिसकेका छन्। क्यानडा अनि मेक्सिकोजस्ता देशहरूका लागि भने यस्तो करको दायरा १५ प्रतिशतसम्म रहनेछ। 

चीनसँगको ‘कर-युद्ध’मा एउटा औषधिको मुख्य भूमिका छ। खासगरी दर्दनाशक अर्थात् ‘पेनकिलर’का रुपमा प्रयोग हुने औषधि ‘फेन्टालिन’माथि ट्रम्पले चर्को कर लगाउन चाहन्छन्। यसको अर्थ ट्रम्पले त्यो औषधि अमेरिकामा नआओस् भन्ने चाहना हो। खासगरी क्यानडा र मेक्सिको यसका प्रमुख निर्यातकर्ता हुन्। सामान्य औषधि पसलहरूमा पनि सजिलै पाइने यही पेनकिलर भने अमेरिकीले ‘लागु औषध’का रुपमा प्रयोग गर्छन्। र अमेरिकामा यसको धेरै नै खपत हुन्छ।

क्यानडा र मेक्सिकोले अमेरिकामा निर्यात गर्ने यो औषधि बनाउनका लागि कच्चा पदार्थ भने चीनले पठाउँछ। त्यसैले ट्रम्पले चीनलाई त्यस्तो कच्चा पदार्थको निर्यात घटना वा फेन्टालिनको अवैध ओसारपसार रोक्न पटक पटक चेतावनी दिएका थिए। तर चीनले सुनेन। र ट्रम्पले चिनियाँ सबै सामानहरूमा सुरुमा १० प्रतिशत कर वृद्धि गरिदिए। र पनि चीनले औषधिको अवैध कारोबार रोक्न चाहेन। त्यसपछि फेरि उनले कर वृद्धि गरिदिएका हुन्। 

अमेरिकाको यो निर्णयलाई चीनले भने उसको ‘दादागिरी’को संज्ञा दिँदै कुनै ‘कुनै पनि शक्तिको जबर्जस्ती’ सामु चीन कहिल्यै नझुक्ने प्रतिक्रिया दिइसकेको छ। 

दैनिक आवश्यकताका लागि चाहिने प्रविधिजन्य तथा केही अरु वस्तुहरूका लागि अमेरिका लगभग चीन, क्यानडा र मेक्सिकोजस्ता देशहरूमै निर्भर छ। र यी देशहरू अमेरिकाका मुख्य ब्यापारिक साझेदार पनि हुन्। ट्रम्पको करवृद्धिको निर्णयले यी देशको ब्यापारमा मात्रै प्रभाव पार्ने छैन। बरु कतिपय अमेरिकी आयात र ती देशका निर्यात कम्पनीहरूलाई पनि ठूलै मार पर्नेछ। अनि त्यसले अन्तत: प्रत्यक्ष उपभोक्तालाई नै भार थपिनेछ। 

यद्यपि ट्रम्पले घोषणा गरेको यस्तो करवृद्धि अर्थात् ‘ट्यैरिफ’ सिधै उपभोक्ताले तिर्ने मूल्यमा नभइ बस्तु आयात-निर्यात कम्पनीमाथि लगाइएको कर हो। तर ती कम्पनीहरूले तिर्नुपर्ने मूल्य भने प्रथम पक्ष अर्थात् उत्पादक कम्पनीहरूले उत्पादित वस्तुकै अधिकतम मूल्यमा समाहित गरिदिन्छन्। जसको चर्को मूल्य अन्तत: आम उपभोक्ताले चुकाउनुपर्छ। 

जस्तो कि कुनै कम्पनीले कार आयात गर्दै छ र त्यसको मूल्य ५०,००० डलर छ र त्यसमा २५ प्रतिशत कर तोकिएको छ भने प्रत्येक कार किन्नका लागि उसले थप १२,५०० डलर तिर्नुपर्छ।

यदि अमेरिकाको कम्पनीले आयात गर्दै छ र उसले करको मूल्य जो व्यक्तिले सामान किन्दै छ उसमाथि उच्च खुद्रा मूल्य तोकेर लियो भने आर्थिक भार त्यही अमेरिकी उपभोक्ताले बेहोर्नुपर्छ।

ट्रम्पले यस्तो कर वृद्धि गर्दा आयातित वस्तुको उपभोग कम हुने र आफ्नै देशमा त्यसको उत्पादन वृद्धि हुने तर्क गर्दै आएका छन्। यसले गर्दा आफ्नै देशमा रोजगारीको वृद्धि हुने पनि उनको ठम्याइ छ। 
उनका अनुसार यसले एकातिर अमेरिकाको राजश्व बढ्छ र त्यसले अमेरिकी अर्थतन्त्रको वृद्धिमा सहयोग पुर्‍याउनसक्छ। ‘मेरो योजनाअन्तर्गत, अमेरिकी कामदारहरूले आफ्नो जागिर गुम्ने चिन्ता अब गर्नुपर्दैन’ उनले चुनावी अभियानका बेला भनेका थिए ‘बरु यहाँ निर्यात् गरिरहेका देशहरूले आफ्ना नागरिकको रोजगारी गुम्ने चिन्ता लिनुपर्नेछ।’ 

यसअघिको कार्यकालमा पनि ट्रम्पले केही आयातित वस्तुमा कर वृद्धि गरेका थिए। त्यो बेला वासिङ मेसिन र सोलार प्यानलहरूमा उनले ५० प्रतिशतसम्म कर लगाइदिएका थिए। त्यो बेला उनले बाहिर देशबाट आउने स्टीलहरूमा पनि चर्को कर वृद्धि गरिदिएका थिए। त्यसको जवाफमा युरोपेली राष्ट्रहरूले पनि ३ अर्ब डलरभन्दा धेरै अमेरिकी सामग्रीको निर्यातमा कर लगाइदिएका थिए। त्यो बेला पनि कतिपय चिनियाँ बस्तुमा उनले कर लगाइदिएका थिए। चीनले पनि अमेरिकी सामानहरूमा चर्को कर घोषणा गरिदिएको थियो। 

त्यसको परिणाम चीनलगायत केही देशका सामान आउने क्रममा केही गिरावट आयो तर अमेरिकाले अरु देशबाट ती सामानको आपूर्ति गर्नुपर्‍यो। अमेरिकाले बाहिरी देशबाट ल्याउने सामानको लगभग २० प्रतिशत हिस्सा अहिले पनि चिनियाँ उत्पादन नै हुन्। 

तर ट्रम्प दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित हुनुभन्दा अघल्लो वर्ष अमेरिकामा सबैभन्दा धेरै सामान निर्यात गर्ने चीनलाई मेक्सिकोले उछिन्यो। हालका दिनमा मेक्सिकोले अमेरिकामा ४७६ अर्ब डलरको सामान निर्यात गर्छ जबकि चीनले भने ४२७ अर्ब डलर मात्रै निर्यात गर्छ।

अमेरिकाका वाणिज्यमन्त्री हावर्ड लट्निकका अनुसार मार्च ४ देखि क्यानडा र मेक्सिकोबाट आउने सामानमा आयातकर लाग्ने छ। सीमा सुरक्षामा सुधार गर्न ती देशलाई एक महिनाको समय दिइएको थियो। 

अब क्यानडाबाट आयात गरिने पेट्रोलिअम पदार्थजस्ता ऊर्जाका लागि आवश्यक वस्तुमा पनि १० प्रतिशत कर लाग्ने छ।
चीनले अमेरिकाबाट आयात हुने कोइला, तेल, ग्यास, खेतीपातीका लागि चाहिने उपकरण र ठूला इन्जिन भएका कारमा आयातकर लगाएर अमेरिकी कदमको जबाफ दिइसकेको छ। चीनले विद्युतीय सामग्री र सैन्य उपकरण बनाउन चाहिने 'रेअर अर्थ' भनिने खनिज पदार्थ अमेरिकाबाट आयात गर्न प्रतिबन्ध लगाइसकेको छ।

अमेरिकाले मार्च १२ देखि विश्वका सबै स्थानबाट आयात गरिने स्टील र एल्यमिनिअम आयातमा २५ प्रतिशत कर लगाउन लागेको छ। 
यो कदमबाट ब्रजिल, क्यानडा, चीन, जर्मनी, मेक्सिको, द नेदरल्यान्ड्स, दक्षिण कोरिया, भियतनामजस्ता स्टील उत्पादन गर्ने राष्ट्र र यूएई र बाहरेनजस्ता एल्युमिनिअम उत्पादकहरू मारमा पर्ने छन्।

यदि हाल चर्चामा रहेका करहरू लागु भए त्यसले खास गरी क्यानडा र मेक्सिकोको अर्थतन्त्रमा ठूलो क्षति पुग्नेछ।  
यी दुवै देश ब्यापारका लागि अमेरिकामा धेरै निर्भर छन्। अमेरिकाले अहिले मेक्सिकोले देशबाहिर निर्यात गर्नेमध्ये ८३ प्रतिशत वस्तुहरू खरिद गर्छ भने क्यानडाको निर्यातको ७६ प्रतिशत अमेरिका भित्रिन्छ।
क्यानडाले बियरदेखि घरायसी प्रयोजन र खेलकुदका सामग्रीसम्मका अमेरिका उत्पादनमा २५ प्रतिशत कर लगाएर जबाफ दिने चेतावनी दिइसकेको छ। मेक्सिकोले पनि अमेरिकालाई उसकै शैलीमा जवाफ दिने बताइसकेको छ। 

प्रकाशित मिति: : 2025-03-05 07:00:00

प्रतिकृया दिनुहोस्