मेरा आँखामा अक्षर रोपिदिने गुरूआमा

मेरी गुरूआमाले मलाई सम्झिरहनु भएको छ, कारण मैले उहाँलाई बिर्सेको छैन।

Break n Links
Break n Links

थोरै-थोरै याद छ, म ६ वर्षको हुँदा बुबाले मलाई स्कुल लिएर जानुभयो। ‘भोलिदेखि स्कुल जाने’ भनेर मलाई अघिल्लै दिनदेखि हर्ष लागेको थियो। तर थाहा थिएन स्कुल लगेर बुबाले छोडेर फर्किनु हुन्छ।

बुबाको हात समातेर घरबाट स्कुलतिर हिँड्दा म यति खुसी थिएँ कि मानौं म दशैंमा नयाँ लुगा किन्न बुबासँग बजार जाँदै थिएँ। तर स्कुल पुगेपछि बग्रेल्ती विद्यार्थीहरू देखेँ। सबै नौला थिए। बुबाको हात झन् दह्रो समातेँ। सर–मिससँग बुबाले गर्नुभएको सबै कुरा सुन्दै जाँदा थाहा भयो, बुबाले मलाई त्यहीँ छोडेर जानु हुने रहेछ।

त्यति थाहा पाउने बित्तिकै म रुन थालेँ। बुबाले फकाउनु भयो, सम्झाउनु भयो। सर-मिसले पनि फकाउनु भयो, म मान्दै मानिनँ। बुबाले भोलि दाजुहरूसँगै आउँछ, आज सँगै लिएर जान्छु भनेर मलाई साथमै लिएर घर फर्किनु भयो।

सायद बैशाख लाग्न लागेको थियो। त्यो बेला हाम्रो खेती निकै ठूलो थियो। बैशाखदेखि नै बाँझो जोत्न सुरु हुन्थ्यो। घरमा दार्मे नाम गरेको जिउमा राता र सेता टाटा भएको एउटा गोरु थियो। त्यो साह्रै गुनी थियो। त्यो दाहिने भएकाले त्यसलाई हल देब्रे चाहिएको थियो। पल्लो गाउँमा पदम माङ्मु काकाकोमा एउटा निख्खर कालो गोरु थियो। त्यसको नाम थियो- रिट्ठे।

त्यो रिट्ठेगोरुको एउटा फरक विशेषता थियो, दाहिने-देब्रे जताबाट नारेर जोत्दा पनि हुन्थ्यो। त्यो सालको बर्खाको लागि बुबाले दार्मे गोरुको हल त्यही रिट्ठे गोरु बन्दोबस्त गर्नुभएको रहेछ। रोएर स्कुलमा बस्न नमानेपछि बुबाले मलाई लिएर फर्किँदा त्यही रिट्ठे गोरु खेद्न लगाउनुभयो र आफूले तान्नुभयो।

भोलिपल्ट स्कुल जाने बेलामा म भागेँ। स्कुल जाने बेला बितेपछि घर आएँ। आमाले कराउनु भयो, ‘तँलाई खानै दिन्न’ भन्नुभयो। तर एकछिनमा दिनुभयो।

भोलिपल्ट स्कुल जाने बेलामा भाग्न खोज्दै थिएँ । दाजुले बिहानैदेखि ढुकिराख्नु भएको रहेछ। भाग्न पाइनँ। तर खाना खान मानिनँ, सक्दो रोएँ। बुबाले ‘छोड्देओ भोलिदेखि जान्छ’ भन्नुभयो। मलाई राहत भयो।

केही दिन भाग्ने र रुने प्रक्रिया चलिरह्यो। एकदिन बुबाले भन्नुभयो ‘छोड्देओ, रुवाइ रुवाइ नपठाओ। घरमै अक्षर चिनाउनु। कुरा बुझ्ने भएपछि आफैँ जान्छ।’ त्यो बेला त मलाईं गजप भयो। को जान्छ स्कुल?

घरमा लाल्मु, तिल्कु, लाल्मु र तिल्कुको बाच्छी थिए। मेरो काम गाईबस्तु चराउने थियो। गोरु नजोतेको दिन गोरु पनि थपिन्थे। मलाई स्कुल जानुभन्दा गाई चराउन रमाइलो थियो। आफैँ चर्थे, घरी-घरी फर्काउनु पर्थ्यो। एक्लै पाङ्ग्रा खेल्यो, गट्टी खेल्यो, झुम्राको गोल खेल्यो। पाइपको दुईतिर मुखमा छेस्का लगाएर जोड्यो र चक्काजस्तो गोलो बनायो अनि छाताको करङ बाङ्गो पारेर बाटामा, खेतमा कुदायो, डिलबाट उल्टी खेल्दै तल्लो गह्रामा झर्यो, बाँसका खबटाको फिरफिरे बनाएर हावा चलिरहेको उल्टो दिशातिर कुद्यो।

कुदेर घरमा आयो, मोहीमा बासीभात मुछ्यो नुन छर्केर खायो। दराज खोल्यो, बट्टाबाट एकमुठी चिनी निकाल्यो फाँको मार्यो, फेरि खेल्न गयो। पर्याङको चोया काढेर फुर्लुङ बुन्न थाल्यो। आमाको स्वीटर बुन्ने धागो चोरेर लग्यो, बाँसका सुइरा बनायो र मन लाग्दी के-के बुन्यो बस्यो। को जान्छ स्कुल? स्कुलमा यस्तो रमाइलो हुन्छ?

बिहान बेलुका बुबाले काठको पाटीमा कपडामा चालेको धूलो हालेर क,ख लेख्न सिकाउनु हुन्थ्यो। अरु सबैथोक एकदुई पल्ट देखेको भरमा जानिहाल्ने मेरो दिमागले क,ख र अ,आ केही गर्दा पनि टिपेन। क,का,कि,की सबै सिकाउनु हुन्थ्यो बुबा र दाजुले।

पढ्न भने सुरु गरेपछि कहीँ नरोकी पुच्छार पुग्थेँ तर बीचका छानेर कुनै अक्षर सोध्नुभयो भने मरे चिन्दिन थिएँ। सुरु-सुरुमा धुलौटामा सिकाउनु भयो। केही गर्दा लेख्न जानिनँ। पछि धुलौटामा जानेन पेन्सिलले खातामा लेख्न सिकाउँदा जान्दछ होला भनेर पेन्सिल र खाता पनि ल्याइदिनु भयो।

पेन्सिल र खाता पाएका दिन खुसी त थिएँ तर लेख्न जाने त मर्नु। कतिओटा पेन्सिल भाँचिए, कतिओटा खाता फाटे, बाँसका सिर्कना कति भाँचिए। मैले क,ख चिनिनँ। बुबाले पढेको सुनेर रामायण आधाजति कण्ठ गरेँ। दाजुहरूले पढेको सुनेर पढेको पाठ कण्ठ गरेँ। ‘किरा निला....,’ ‘मुला खाइ वन पस, अदुवा खाइ सभा बस....’, ‘डिमी डिमी डम्मरु बजाऊ, चटकी दाजु भालु नचाऊ...’ के-के थियो के-के त्यो बेलाको किताबमा।

मलाई ती हातले देखाइ-देखाइ पढाउनु हुन्थ्यो दाजु–बुबाले। सबै कण्ठ गरेँ। हरेक पाठमा चित्र हुन्थ्यो। चित्र देख्नेबित्तिकै त्यो चित्र भएको ठाउँमा के लेखेको छ, मलाई थाहा हुन्थ्यो। सिरानदेखि पुच्छरसम्म सबै भटटटट् भनिदिन्थेँ तर बीचको कुनै शब्द सोध्नुभयो भने मेरो बोली फुट्दैन थियो। म अक्षर नै चिन्दिन थिएँ। दाजु र बुबा वाक्क हुनुभयो मलाई अक्षर चिनाउन नसकेर।

बेलुका कुप्पी बालेर ढिकीमा धान कुट्न बहुत दिग्दार लाग्दो काम थियो त्यो बेला। म ढिकी कुट्न सक्दिन थेँ, एकातिर बसेर घान लगाउँथे। बेलुका पढ्नुभन्दा मलाई धानको घान लगाउन सजिलो थियो। बेलुका पढ्न लगाउँछन् भनेर म आफैँ चलाखी गर्थेँ। बुबा हातखुट्टा धोएर बेलुका घरभित्र पसेपछि म एउटा कुप्पी लिएर रामायण फुकाएर बुबाका अगाडि राखिदिन्थेँ, बुबालाई रामायण पढ्न कुप्पी देखाउने बाहाना बनाउँथेँ। त्यस्तो बेला कहिलेकाहीँ आमाले खलनायकको काम गर्नुहुन्थ्यो।

एउटा हर्पे ल्याउनुहुन्थ्यो, बिर्को उल्टो पारेर त्यसमा कुप्पी राखिदिनु हुन्थ्यो र मलाई ‘दाजुहरूसँग पढ्न जा’ भन्नुहुन्थ्यो। म बुबाको अनुहारमा हेर्थेँ, बुबाको प्रतिक्रिया पर्खिन्थेँ। कहिलेकाहीँ वास्तै गर्नुहुन्नथ्यो, आमाले पिट्टा लगाएर खेदाउनु हुन्थ्यो।कहिलेकाहीँ “जा” भन्नु हुन्थ्यो। लुते कुकुरलाई कुट्न खोज्दा टाङमुनि पुच्छर लुकाएर भागे जसरी लुरुक्क परेर हिँड्नुपर्थ्यो। कहिलेकाहीँ ‘बसोस्, छोड्दे’ भन्नु हुन्थ्यो। छोड्दे छोड्दे भनेकादिन म विजेता हुन्थेँ ।

म १० वर्षको भएँ, सबैथोक जान्ने भएँ तर क,ख अ,आ चिनिनँ। पाँच छ कक्षा पढिन्जेलसम्म दाजुहरूलाई मौन पढ्ने अनुमति थिएन घरमा। उहाँहरू जुन-जुन कक्षामा पढ्दै जानुभयो ती सबै कक्षाका पाठहरू मैले कण्ठ गरेँ तर मैले अक्षर चिनिनँ। म १० वर्षको भएपछि फेरि मलाई बुबाले स्कुल लिएर जानुभयो। म फेरि पनि रोएँ तर त्यो पटक मैले रोएर छुट पाइनँ। सरहरूले मलाई थपक्कै लगेर सुरुमै शिशु कक्षामा हालिदिनु भयो। बुबा कता जानुभयो मलाई थाहा नै भएन। दाजुहरूले प्राथमिक तह पास गरिसक्नु भएको थियो। उहाँहरू अर्कै स्कुल जान थाल्नुभएको थियो।

शिशु र कक्षा एक एउटै कोठामा थियो। बेन्चहरू दुई लहरमा राखिएका थिए। एकातिरको लहर शिशु कक्षा थियो र अर्कातर्फको लहरमा एक कक्षा थियो। म रुँदै रुँदै कक्षामा बसिरहेको थिएँ।

त्यसैदिन चक र डस्टर बोकेर रातो र पहेँलो पारी भएको निलो निलो रङको सारी लगाएर एकजना मिस कक्षा आउनुभयो। म रोइरहेको थिएँ। मलाई बोलाउनु भयो, कपाल मुसारी दिनुभयो। के के भन्नुभयो मलाई याद छैन, डाको छोडेर रुँदा रुँदै म ‘घुँक घुँक’मा झरेँ। उहाँले कक्षाका अरुलाई मेरो नाम बताउँनु भयो। ‘आजबाट यो पनि तिमीहरूको साथी हो’ भन्नुभयो। उहाँको नाम योगमाया दाहाल रहेछ। त्यो बेला मलाई थाहा नै भएन।

म १० वर्षको भए पनि नबढेको जिरीगान्टे थिएँ। शिशु कक्षामा मभन्दा सानो भनेको अहिलेको पाँथरको नामचलेको गजलकार, नृत्यकार, निर्देशक समीर पारखी भाइ मात्रै थिए। तर, त्यो बेलामा उनी अधिक चकचके, चुलबुले थिए। मभन्दा पहिलादेखि नै शिशु कक्षामा जान थालेका रहेछन्। ठाउँ सरी-सरी बस्थे।

दिनभरिमा उही मिस दुईचोटी आउनु भयो। दोस्रोपटक आउँदा उहाँले मलाई आफू भएका ठाउँमा बोलाउनु भएन, म बसेकै ठाउँमा आउनु भयो। के के भन्नुभयो, कपाल मुसार्नु भयो। भोलिपल्ट म स्कुल जाने बेलामा रुन थालेँ। यसपटक भने बुबा वाक्क हुनुभएछ क्यारे, मेरो गाला पट्काउनु भयो। म रुँदै रुँदै स्कुल गएँ।

कक्षा पुगुन्जेल रुँदै थिएँ। फेरि उही मिस आउनुभयो। सम्झाउनु भयो। कपाल मुसारिदिनुभयो। म रुन छोडेँ। अर्कोदिन पनि स्कुल जाने बेलामा रोएँ तर जाँदिनँ भन्न सकिन, रुँदै रुँदै गएँ। कहिलेबाट स्कुल जाँदा रुन छोडेँ थाहा छैन। पछि कुनै दिन पनि स्कुल बिराइनँ। घरमा आमाले ‘आज काम छ, स्कुल नजा है’ भन्नुभयो भने पनि भागेर पनि स्कुल गएँ।

योगमाया मिस हरेक पटक कक्षामा आएपछि सोधखोज गर्नुहुन्थ्यो। कपाल मुसार्नु हुन्थ्यो। सायद उहाँ शिशु कक्षामा सबैलाई त्यसै गर्नुहुन्थ्यो तर मलाई चैँ लाग्थ्यो ‘उहाँले मलाई विशेष माया गरिरहनु भएको छ।’

मलाई निक्कै दिनसम्म कसैले पनि केही पढ्न सिकाउनु भएन। सायद बुबाले भन्नु भएको थियो होला मैले केही गर्दा पनि अक्षर चिन्न सकेको छैन भनेर। म सबै कुरा छिटोछिटो जान्दथेँ। यदि अक्षर पनि चिन्नु हो भने म पढ्न राम्रो जान्ने विद्यार्थी हुनेवाला थिएँ।

उहाँले कालोपाटीमा क,ख लेख्नु हुन्थ्यो र सार्न लगाउनु हुन्थ्यो। अरुले के गर्थे थाहा भएन, म सार्न जान्दिनथेँ। उहाँले दैनिकजसो कहिले क,ख कहिले अ,आ लेख्दै मेट्दै गर्नुहुन्थ्यो। कसरी पेन्सिल समाउने, कसरी पेन्सिलको टुप्पो घुमाउँदा ‘क’ बन्छ, ‘ख’ बन्छ, दैनिक कुनै न कुनै तरिकाले बताउनुहुन्थ्यो।

मलाई प्रत्यक्ष रूपमा ‘क,ख लेखिस्, लेखिनस्’ भन्नु हुन्न थियो तर अप्रत्यक्ष रुपमा मेरो प्रगति के हुँदै छ खुब चासो गर्नु हुन्थ्यो सायद। किन कि उहाँ जति पटक कक्षामा आउनुहुन्थ्यो त्यति नै पटक मेरो छेउमा आएर रोकिनु हुन्थ्यो। बिस्तारै मेरो दिमागमा क,ख दोहोरिन थाल्यो। खेल्दा पनि क,ख लेख्ने खेल खेल्न थालेँ। स्कुल जान थालेको लगभग दुई महिनामा मैले क, ख र आ, आ चिन्न र लेख्न थालेँ।

अरुले कसरी अक्षर चिन्छन् मलाई थाहा छैन, मैले यसरी नै अक्षर चिनेको थिएँ। प्रत्येक व्यक्तिको अक्षर चिन्ने तरिका फरक होला। कुन कुन तरिकाले चिन्छन् त्यो कुराको सबैभन्दा धेरै अनुभव मेरी गुरुआमालाई छ। उहाँले लगभग ३५ वर्ष मजस्तै विद्यार्थीहरूलाई क,ख र अ,आ चिनाउनु भयो।

सायद उहाँसँग कसै-कसैलाई जति गर्दा पनि अक्षर चिनाउन नसकेको पनि अनुभव होला। यसरी कालोपाटीमा सेतो चकले लेखेका अक्षर टिपेर पहिलो पल्ट एउटा अबोध बच्चाको आँखामा र जिब्रोमा राखिदिन सक्नु सानो कुरा होइन। ‘कुन बच्चाको आँखा र जिब्रोमा कसरी राखिदिँदा अक्षरहरू सधैँका लागि स्थायी भएर बस्न सक्छन्’ भन्ने कुरा जान्नु सामान्य कला होइन।

त्यस्तो विशेष कलामा निपूर्ण मेरी गुरूआमाले मलाई जङ्गली अवस्थाबाट टिपेर अक्षरमात्रै चिनाउनु भएन, कक्षा प्रथम मात्रै नभएर स्कुलमै सबैभन्दा धेरै अङ्क ल्याउने विद्यार्थी बन्नसक्ने प्रेरणा दिनुभयो। उहाँलाई सम्झेपछि मलाई आज पनि नयाँ उर्जा प्राप्त हुन्छ।

योगमाया मिसले ३५ वर्ष पढाएर स्कुलबाट अवकाश लिनुभयो। उहाँले स्कुलबाट अवकाश लिनु भनेको त्यही ठाउँमा, त्यसरी नै उभिएर, त्यही कला प्रस्तुत गर्दै अर्को अबोध बच्चाको आँखामा अक्षरहरू रोपिदिने कार्यबाट सन्यास लिनुभएको हो।

अक्षर चिनाउनु भनेको, केवल अक्षर चिनाउनु होइन, त्यस व्यक्तिलाई त्यस्तो बाटोमा लगेर उभ्याउनु हो, जहाँ उभिँदा उसले संसारलाई जसरी देख्न चाहन्छ त्यसरी नै हेर्न सक्छ। ऊ जहाँ पुग्न चाहन्छ, त्यतै जान सक्छ। किताब पढाउने सबैलाई गुरु मान्न सकिँदैन। गुरू त्यो हो जसले कुनै पनि व्यक्तिको पूरा जिन्दगीलाई सकारात्मक प्रभाव पार्ने चेतना दिनसक्छ। कुनै पनि व्यक्तिले अक्षर चिन्नु भनेको त्यसपछिको उसको पूरै जिन्दगीमा आमूल परिवर्तन आउनु हो।

मेरी गुरूआमाले कतिजनाका आँखामा अक्षरका बिरुवा रोपिदिनु भयो होला। पक्कै पनि उहाँले सबैलाई सम्झन सक्नुहुन्न। मलाई गर्व यस अर्थमा छ कि उहाँले मलाई सम्झिरहनु भएको छ, कारण मैले उहाँलाई बिर्सेको छैन।

प्रकाशित मिति: : 2025-02-23 17:55:00

प्रतिकृया दिनुहोस्