रेखा थापाविना ‘अधुरो’ राप्रपा

तेजन खड्का

विराटनगर

नेपाली सिनेमा उद्योगमा आफ्नो छुट्टै पहिचान बनाइसकेकी रेखा थापा जब राजनीति यात्रामा प्रवेश गरिन्, धेरैले आशंका व्यक्त गरेका थिए। कलाकारहरूको राजनीतिक यात्रा छोटो हुने सामान्य सोच रहँदै आएको थियो।

तर, उनले त्यो गलत सावित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र आफूलाई सशक्त नेतृका रूपमा उभ्याइन्। संगठन निर्माणदेखि चुनावी रणनीति बनाउने र पार्टीलाई जनतासँग जोड्ने काममा उनको सक्रियता उल्लेखनीय रह्यो।

राजनीतिक यात्रा सहज भने थिएन। संगठन शून्य रहेको ठाउँमा पनि उनी एक्लै चुनावी मैदानमा उत्रिइन्। पार्टीभित्रको विभिन्न आरोह-अवरोहलाई सामना गर्दै, उनले आफ्नो नेतृत्व क्षमता प्रमाणित गरिन्। एक समय थियो, जब राप्रपाभित्र उनको उपस्थितिले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने आशा गरिएको थियो। तर, आज परिस्थिति बदलिएको देखिन्छ।

पछिल्लो समय उनलाई राप्रपा भित्रैबाट अलग गर्ने प्रयास भइरहेका छन्। फरक विचार राख्नेहरूमाथि आक्रमण गर्नु स्वाभाविक राजनीति हुन सक्दैन।

लोकतान्त्रिक अभ्यासमा स्वस्थ बहस र भिन्न मतको सम्मान आवश्यक हुन्छ। तर, रेखा थापाको योगदानलाई बिर्सिएर, उनलाई पछाडि धकेल्ने प्रवृत्ति देखिनु दु:खद छ।

रेखा थापा कुनै साधारण कार्यकर्ता होइनन्। संगठनलाई बलियो बनाउन उनले गरेको मेहनत र समर्पण गहिरो छ। चुनावको समयमा उनले पार्टीलाई धोका दिएर हिँडेकी होइनन्, बरु पार्टीले नै उनको योगदानको उचित कदर गर्न सकेन। पार्टीको स्थायित्वका लागि इमानदार, मेहनती, जनप्रिय नेताहरूको आवश्यकता हुन्छ। रेखा थापा त्यस्तै नेतृ हुन्, जसले राप्रपालाई नयाँ पुस्तासँग जोड्न महत्वपूर्ण भूमिका खेलिन्।

उनको कलात्मक छवि मात्र होइन, संगठन निर्माणमा देखाएको प्रतिबद्धता र लोकप्रियताले राप्रपालाई एक नयाँ धारमा लगेको थियो। जब पार्टीलाई नयाँ पुस्ता आकर्षित गर्नुपर्ने आवश्यकता थियो, उनले त्यस दिशामा प्रभावकारी भूमिका निर्वाह गरिन्। यस्ता नेतृलाई सशक्त रूपमा अगाडि बढाउने साटो कमजोर बनाउने सोच पार्टीकै लागि घातक हुनसक्छ।

रेखा थापाबिना राप्रपा अधुरो देखिन्छ। उनको संघर्ष, इमान्दारी, लोकप्रियता र संगठन निर्माणमा देखाएको दृढ इच्छाशक्ति पार्टीका लागि अमूल्य सम्पत्ति हो। 

यदि राप्रपाले बलियो संगठन निर्माण गर्न चाहन्छ भने, रेखा थापाको भूमिका अझ मजबुत बनाउनुपर्छ। उनलाई राजनीतिक रूपमा पछाडि पार्न खोज्नु आफैंमा गलत रणनीति हुनेछ। 

गोरखकालीको सदा आशीर्वाद रहोस्, रेखा थापाले आफ्नो राजनीतिक यात्रालाई अझ मजबुत बनाएर अघि बढून्।

प्रकाशित मिति: : 2025-02-05 18:08:00

प्रतिकृया दिनुहोस्