बिहिबार, ०८ अक्टोबर २०२६

फ्रान्सबाट सुरु भएको विद्यार्थी आन्दोलन युरोपभर फैलिँदै

बिएल संवाददाता

बिएल संवाददाता

पेरिस, फ्रान्स
News Image
• • •

फ्रान्सबाट सुरु भएको विद्यार्थी आन्दोलन युरोपका अन्य देशमा फैलिन थालेको छ।

शिक्षामा सरकारी लगानी, बढ्दो खर्च र विद्यालयको कमजोर अवस्थालाई लिएर फ्रान्सबाट सुरु भएको विद्यार्थी आन्दोलनको प्रभाव पुरोपका विभिन्न देशमा देखिन थालेको हो।

फ्रान्समा विद्यार्थी आन्दोलन चर्किएसँगै यसको प्रत्यक्ष प्रभाव बेल्जियममा देखिन थालेको छ। बेल्जियमको लिज सहरमा विद्यालय शिक्षा सुधारको माग गर्दै सयौं विद्यार्थी सडक प्रदर्शनमा उत्रिएका छन्। बेल्जियमका विद्यार्थीले आफ्नो शिक्षा प्रणालीसँग सम्बन्धित विषयलाई मुख्य मुद्धा बनाएर प्रदर्शन चर्काएका छन्।

फ्रान्समा विद्यार्थी आन्दोलन नियन्त्रणबाहिर जाने खतरा बढेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। सेप्टेम्बरमा पेरिस र आसपासका क्षेत्रमा माध्यमिक तहका विद्यार्थीले सुरु गरेको प्रदर्शन अहिले देशव्यापी आन्दोलनमा परिणत भएको छ। यसमा विद्यार्थी, शिक्षक, अभिभावक र शिक्षक संघ–संगठनसमेत सहभागी भएका छन्।

प्रदर्शनकारीहरूले एउटै कक्षामा धेरै विद्यार्थी, शिक्षकको अभाव, कमजोर भौतिक संरचना र स्रोतसाधनको कमी लगायत मुद्धा लिएर आन्दोलन गरिरहेका छन्। प्रदर्शनका क्रममा प्रहरीसँग पटक–पटक झडपसमेत भएको छ।

समाचारअनुसार आन्दोलन सुरु भएयता ६ हजार ५०० भन्दा बढी मानिस पक्राउ परेका छन्, जसमा अधिकांश नाबालिग छन्। अक्टोबर ६ मा शिक्षामा थप सरकारी लगानीको माग गर्दै फ्रान्सभर भएका प्रदर्शनमा २ लाख ६६ हजारभन्दा बढी मानिस सहभागी भएका थिए।

प्रहरीले प्रहार गरेको स्टन ग्रेनेडसम्बन्धी घटनामा १५ वर्षीय एक बालकले हात गुमाएपछि तनाव थप बढेको थियो। त्यसपछि फ्रान्सको सरकारले माध्यमिक विद्यालयका विद्यार्थीको प्रदर्शनका क्रममा त्यस्ता ग्रेनेडको प्रयोगमा रोक लगाएको छ।

बेल्जियममा विद्यार्थी आन्दोलन

बेल्जियमको लिजमा शिक्षा सुधार र बढ्दो खर्चको विरोधमा भएको प्रदर्शनका क्रममा सहरका केही क्षेत्रमा हिंसात्मक अवस्था सिर्जना भएको छ। विद्यार्थीहरू विद्यालय आसपास भेला भएर सहरको केन्द्रतर्फ अघि बढेपछि प्रहरीले केहीलाई पक्राउ गरेको जनाएको छ।

बेल्जियमका विद्यार्थीहरूले कक्षाकोठामा अत्यधिक विद्यार्थी संख्या, अध्ययन सामग्री प्राप्त गर्न देखिएको कठिनाइ र उच्च शिक्षाको बढ्दो खर्चलाई प्रमुख मुद्धा बनाएका छन्। बेल्जियममा यसअघि पनि विश्वविद्यालय शुल्क बढाउनेलगायतका निर्णयविरुद्ध प्रदर्शन भएको थियो।

युरोपभर फैलिँदै विद्यार्थी आन्दोलन

आयरल्यान्डमा अक्टोबरको सुरुवातमा हजारौं विद्यार्थीले विद्यालय र विद्यार्थी शुल्क, जीवनयापनको बढ्दो लागत र महँगिदो घरभाडालाई लिएर डब्लिनमा प्रदर्शन गरेका थिए।

इटालीमा विद्यार्थीले विद्यालय तथा विश्वविद्यालयमा कब्जा जमाउनेलगायतका प्रदर्शन गरेका छन्।

ग्रीसमा पनि देशव्यापी विद्यालय आन्दोलनका लागि आह्वान गरिएको छ।

जर्मनीमा शिक्षामा थप लगानी, शिक्षकको संख्या वृद्धि र न्यायपूर्ण शिक्षा प्रणालीको माग गर्दै प्रदर्शन भएका छन्।

अस्ट्रियामा विश्वविद्यालयको बजेट कटौती हुनसक्ने चिन्ताबीच विद्यार्थीहरूले थप प्रदर्शनको तयारी गरिरहेका छन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!