‘फाइभ स्टार’ मेनुमा ‘गुन्द्रुक र सिन्की’

इलामको रोङ गाउँपालिका कृषिका लागि उर्वर क्षेत्र हो। स्थानीय स्तरमा उत्पादन भएको गुन्द्रुक सिन्कीको बजारीकरणका लागि भनेर स्थानीय सरकारले नै यसको ब्राण्डिङ सुरु गरेको हो। गुन्द्रुकका कारण ८० प्रतिशतभन्दा बढी रकम गाउँमा प्रवेश गर्ने, स्थानीय सरकार जनतासँग उत्पादनमा प्रत्यक्ष जोडिने र रोजगारीसमेत सिर्जना हुनेलगायतका बहुआयामिक फाइदा हुने भएकाले गुन्द्रुक र सिन्कीको ब्राण्डिङ गरी बजारमा पुर्याउन थालिएको हो।

कृषिजन्य उत्पादनले बजार पाइएन भनेर नागरिकहरु सरकारलाई गाली गर्न  तछाडमछाड गरिरहेका बेला यस्तो योजना आएको हो। पालिकाको नीतिलाई फेरबलद गरेर जानुपर्ने आवश्यकतालाई मध्यनजर गरेर रोङ गाउँपालिकाले कृषि नीतिको हकमा उत्पादन, प्रशोधन र बजार तीनवटा कुरालाई पिलरको रुपमा राखेर काम गरिरहेको छ। बजारलाई सामूदायिक मोडल कम्पनीहरुबाट अथवा विभिन्न मार्केटिङ नीतिहरुलाई आत्मसाथ गर्दै प्रचारप्रसारमा पनि उत्तिकै सक्रिय भएर लागिरहेको छ। 

त्यस्तै प्रत्येक वडामा एउटा प्रशोसन केन्द्र स्थापना गर्ने भनेर योजना आयोगको विशेष अनुदान लिएर कारखाना पनि निर्माण गर्दैछौं। उत्पादनमा क्वालिटी, क्वान्टिटी र कन्टीन्यूटीको ग्यारेन्टी किसानकै हातमा सुम्पिएका छौं। हामीले सहजीकरण चाहीं गरिरहेका छौं। तर गफाडी र अल्छे किसानबाट त्यो सम्भव छैन्। सरकारले यीनै अल्छे किसानको पछाडि लागेर आज परिणाम केही नआएको र गाली खाएर बसेको अवस्था छ। रोङ गाउँपालिकाले उत्पादनमा किसानलाई जोड्ने काम गरेको छ।  किसान भित्रको गुरु भनेर ‘रोङ किसान व्यवस्थापन कार्यविधि २०८०’ जारी गरेर मेहेनती अगुवा, अनुशासित किसानलाई निश्चित मापदण्ड बनाएर ‘गुरु किसान’ घोषणा पनि गरिरहेका छौं। 

गुरु किसानले ज्ञानका रुपमा सहयोग गर्ने, प्रविधिको हस्तान्तरण गर्दै जाने उद्देश्यले उत्पादन प्रशोधन र बजार यी तीनवटा नीतिलाई अपनाएका छौं। पछिल्लो समय अध्ययन गर्दा अहिलेको उपभोक्ता ब्राण्डकै पछि लागेको देखिन्छ। जुत्ता, मोबाइल, ज्याकेट किन्दा अर्थात हरेक सामग्रीको खरिद गर्दा ब्राण्ड हेर्ने गर्छौं। त्यसैले हामी सबैको मनोविज्ञान ब्राण्डको पछि लागेको देखिन्छ। त्यसैले किसानले उत्पादन गरेको सामग्री फ्रेस मार्केटमा बिक्छ भने बेच्न सकिहाल्छ। मूल्य नपाउँदा सरकारले बनाइदिएको प्रशोधन उद्योगमा प्रशोधन गरेर ब्राण्डिङसहित बजारमा लैजान सक्यो भने बेच्न सकिन्छ। त्यसैले रोङ गाउँपालिकाले किसानको उत्पादनले बजार पाउन्जेल बजारमा र नपाएको खण्डमा प्रशोधित बस्तुको ब्राण्डसहित बजारमा लैजाने लक्ष्य लिएका छौं। यसमा उपोभोक्ताको मनोविज्ञानलाई अध्ययन गरेर वाण्डको काम गरिरहेका छौं।
त्यसमध्ये रोङ गुन्द्रुक रोङ सिस्नो, रोङ करेला, रोङ मह, रोङ बेसार जस्ता विभिन्न ब्राण्डहरु बनाउने काम गरिरहेका छौं। त्यसका लागि ब्राण्डमा क्वालिटीलाई प्राथमिकतामा राखेका छौं। गुणस्तरीयता र निरन्तरतालाई मेन्टेन गरेर बजारको तयारीमा छौं। थोरै स्केलको उत्पादनलाई लोकल बजारमा नै बेच्दैछौं। स्केल बढिसकेपछि बजारलाई कसरी व्यवस्थित गर्ने भनेर नीति बनाएर अगाडि बढेका छौं।

चुनौति धेरै छ 
रैथाने उत्पादनलाई ब्राण्डिङ गरेर बजार खोज्ने काममा चुनौती धेरै नै छ। वास्तवमा एउटा नीजि कम्पनी पनि स्थापना हुने वित्तिकै पूर्ण नाफामा जाँदैन्। पाँच वर्षसम्म घाटा खाएर त्यसपछि उद्योगलाई नाफामा लाने गरेको छ। हाम्रा नेपालीहरु तुरुन्तै आजको भोलि नै नाफा चाहिने हिसाब गरिहाल्ने, नाफा भएन भने छाडेर जाने गरेका छन्। छाड्नेले कहिल्यै जित्दैन्। जित्नेले कहिले पनि छाड्दैन्। त्यसैले धैर्यताकासाथ यो अभियानमा जोडाउनका लागि एउटा चुनौती छ। मार्केट विशेष चुनौतीपूर्ण छ। वास्तवमा मार्केट निर्दयी र कठोर पनि छ।

नेपालको उत्पादन विक्री भएन भने नेतालाई गाली गर्ने चलन छ। हामी नेपालीको जीवनशैली कस्तो पनि छ भने भाटभटेनीमा गएर विदेशी ब्राण्डको उत्पादन किनेर उपभोग गर्ने चलन छ। स्वदेशी उत्पादन उपभोग नगर्ने अनि बजार पाएन भनेर सरकारलाई गाली गर्ने वानी छ। त्यसैले चुनौती, बजार, किसान र उत्पादनका कुरामा धेरै मेहेनत गर्नुपर्छ।

फाइभ स्टार होटलमा नेपाली गुन्द्रुक
अर्को कुरा भनेको आयातलाई प्रतिस्थापन गर्न सरकारको पनि नीति स्पष्ट हुनुपर्छ। सँगै हाम्रो उत्पादनको पनि गुणस्तर चाहिन्छ। यी सबै भएपछि विदेशी उत्पादन जुन आयात हुन्छ यसलाई प्रतिस्थापन गर्न सकिन्छ। केही बस्तुहरुको नीतिमा सरकारले ध्यान दिन जरुरी छ। जस्तै गुन्द्रुक हाम्रो राष्ट्रिय तरकारी हो। राष्ट्रिय तरकारी भएकाले नेपालका स्टार होटलहरु अनिवार्य गरिनुपर्छ। स्टार होटलहरुमा चीनबाट आयात गरिएका गुणस्तरहीन गुन्द्रुक खुवाउने चलनलाई निरुत्साहित गर्नपर्छ। राट्रिय तरकारी भएको नाताले स्वदेशी उत्पादन खपत बढाउनुपर्छ। यही उद्देश्यले सरकारले थ्रि स्टारदेखि फाइभ स्टार होटलहरुमा नेपाली गुन्द्रुक अनिवार्य प्रयोग गर्नुपर्ने नीति लिनु जरुरी छ। जसरी अन्य सामग्रीहरु त्यहाँ ब्राण्ड मात्रै उपभोग गर्नुपर्छ भनिन्छ त्यसैगरी गुन्द्रुकलाई पनि कडाइकासाथ लागू गर्नुपर्छ।


नेपालकै लागत कष्ट महंगो परेको गुन्द्रुकहरु फाइभ स्टार होटलहरुको डिमाण्ड धान्न सकेको छैन्। तर राष्टिय तरकारी गुन्द्रुक भनिएको छ । नेपालमा नै गुणस्तरहिन गुन्द्रुक खुवाएको छ। पर्यटकहरुले कति पटक गुन्द्रुकमा कपाल भेटाउने गरेका छन्। विदेशी उत्पादलाई आयात प्रतिस्थापन पर्ने कुरामा नागरिक आफै पनि सचेत हुनुपर्छ। आयात पूरै रोक्न त देशले सक्दैन। तर आयात भएपनि उपभोक्ताले किनेर खानेबेला स्वदेशी उत्पादनलाई प्राथमिकता दिने गर्नुपर्छ। यसमा सरकारबात्र होइन नागरिक पनि जिम्मेवार हुनुपर्छ। 

रोङ गाउँपालिकाले गुन्द्रुक, सिस्नो, करेला, तितेपाती जे होस् यी सबै हामीले प्राथमिकतामा राखेका खेतीहरु हुन्। पाँच महिनामा त्यसको आम्दानीसहित फिर्ता लिनसक्ने प्रकृतिका खेतीहरुलाई फोकस गरेको छौं। श्रम सृजना गर्ने र बिहान बेलुकीको छाक टार्न सक्ने आत्मनिर्भर बनाउने हाम्रो पहिलो उद्देश्य हो। किसानलाई व्यवसायिक बनाउनुपूर्व आत्मानिर्भर चाँही बनाउनुपर्छ । उनीहरुको आफ्नो आम्दानीले घर व्यवहार चल्नसक्ने हुनुपर्छ। अनि मात्र व्यवसायिकताको पाटोमा चढाउनुपर्छ। गुन्द्रुक, सिस्नो, करेला, तितेपाती सबै खेतीको काम चाँही किसानलाई आत्मनिर्भर, स्वरोजगार बनाउने र आर्थिक रुपमा धान्न सक्ने बनाउने लक्ष्यकासाथ सुरु गरेको हौं।

पृथक मोडालिटी
हामीले गुन्द्रुक, सिस्नो, करेला, तितेपाती सबै खेतीका लागि आफ्नै मापदण्ड एवम मोडालिटी अपनाएका छौं। पालिकाले खेती गर्ने नभइ किसानलाई नै व्यक्तिगत रुपमा खेती गर्न प्रोत्साहित गर्ने गरेका छौं। किसानले आ–आफ्नो खेतबारीमा उत्पादन गरेको कच्चा बस्तुलाई ब्राण्डिङ गर्न पालिकाले सहजीकरण गर्छ। तर विभिन्न समूह बनाएर काम गरिरहेका छौं। स्केल होस भनेर, परिणाम पुगोस् भनेर समूह बनाउने गरेका हौं। नेपालमा सामूहिकताको संस्कार अलि कम छ। साझा काममा बाझाबाझ भइहाल्छ। 

हामीले तितेपातीमा धेरै काम गर्न पाएका छैनौं। यो अध्ययनकै विषय हो। करेला, सिस्नो साथै गुन्द्रुकको लागि रायो सागको खेतीमा धेरै किसान संलग्न हुनुहुन्छ। रायोको साग विक्री भएन भनेर दुःखेसो गरिरहेका किसानहरुलाई प्रोत्साहित गरेर गुन्द्रुक सिन्की बनाउने काममा अग्रसर गराएका छौं। यसका लागि एउटा कारखाना बल्ल सञ्चालनमा ल्याएका छौं। त्यसको क्षमता भनेकै १५ देखि २० हजार केजीको साग हो। तर किसानहरुले ८–१० लाख केजी रायोको साग उत्पादन गरिरहेका छन्। साग रोपेको तीन महिनामा फलाएर बेच्न सकिन्छ। त्यसपछि जग्गा खाली हुन्छ र अरु वालीनाली लगाउन पाइन्छ। त्यसैले राम्रो भएको छ। रोगको चुनौती कम छ। त्यही जमिनमा खुर्सानी रोप्न पर्यो भने फल्नेबेलासम्म चार पटक गोड्नपर्छ। रोगहरु छ जमिन होल्ड हुन्छ। महंगोमा बिक्छ तर लागत बढि छ। त्यसैले रायोको सागमा किसान सक्रिय भएका छन्। तर पालिकाले सबै खरिद गर्न सकिरहेको छैन्। 

रैथाने उत्पादन प्राथमिकता
स्थानीय सरकारले रैथाने उत्पादनलाई विशेष प्राथमिकता दिएको छ। ठूलो सपना देख्दा असफल हुने संभावना रहेकाले सानोबाट काम सुरु गरेका हौं। रैथाने बालीमा पुर्खाले गरेको अनुभव छ, उत्पादन गर्ने ज्ञान सीप पनि छ। उपभोक्तालाई बुझाइ राख्नुपनि पर्दैन्। परम्परादेखि गरिआएको खेतीलाई प्रवद्र्धन गर्दा सफलता पनि चाँडो मिल्छ। सहज पनि हुन्छ। त्यसैले रैथाने उत्पादनलाई हामीले प्रवद्र्धन गरिरहेका हौं। रैथाने उत्पादनको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ भन्ने पहिलो प्राथमिकता हो। यसको स्थायित्वका लागि सबै नागरिक लाग्नुपर्छ। आफ्नो देशको उत्पादनलाई प्रयोग गरेमा यसको स्थायित्व उपभोक्ताको हातमा धेरै प्रतिशत हुन्छ।  

रैथाने सामग्रीका उपभोक्ता तपाई–हामी सबै हौं। काठमाडौं त झन् उपोभोक्ताको नै सहर हो। यहाँ भएका सबै उपभोक्ताहरु आर्थिक अवस्था राम्रो नै भएजस्तो लाग्छ। दुई रुपैयाँ महँगो पर्दैमा हाम्रो उत्पादन खरिद नगर्ने मनस्थिती बनाउनु हुँदैन्। स्वदेशी नै खानुपर्छ अभियानकै रुपमा काम गर्नुपर्छ। जसका कारण गाउँका किसानले आफ्नो उत्पादन बिकेन भनेर रुदैँ हिड्नुपर्ने अवस्था आउँदैन्। त्यसकारण यसको स्थायित्वको सबैभन्दा मुख्य पाटो भनेको उपभोक्ता हो। उपभोक्ता सचेतनाको कार्यक्रमहरु संघीय, प्रदेश सरकार सबैले सञ्चालन गर्न जरुरी छ।

सुधारका धेरै काम बाँकी

सरकारले कृषि क्षेत्रमा सुधार गर्नुपर्ने कुराहरु धेरै छन्। हामीले गुन्द्रुक, सिस्नो, करेला, तितेपाती सबैलाई व्यवसायिक रुपमा काम गरिरहँदा सरकारले सुधार गर्नुपर्ने कामहरु पनि देखिरहेका छौं। पैसाबिना वा थोरै पैसामा सुधार गर्ने योजनाहरु बनाउनुपर्छ।  साना योजनामा सफलता पाएपछि मात्र ठूला योजनामा लगानी गर्न जरुरी छ। लगानी भयो भने मात्र कृषि हुन्छ भन्ने मानसिकता त्याग्नुपर्छ। सामान्य आधारभूत व्यवस्था नगरी ठूलो लगानी गर्दा डुब्न सकिन्छ।

त्यसैले हामीले व्यवस्थापकीय कामहरु गर्नुपर्छ। किसानहरु योग्य र क्षमतावान हुनुपर्छ। आफूले गर्दै गरेको खेतीकाबारे जानकार हुनुपर्छ। जलवायु परिवर्तन, उद्यमशिलताको बारेमा जानकार हुनुको साथै वित्तिय साक्षर पनि हुनुपर्छ। यी सबै कुरामा किसान जानकार भयो भने राज्यले गरेको सहायता वा सहुलियतपूर्ण ऋणको परिणाम राम्रो निकाल्न सकिन्छ। कृषिमा पनि सम्भावना र भविष्य छ भनेर नेपालमा नै बस्न युवाहरुलाई प्रोत्साहित गर्न सकिन्छ। 

विशेषगरी किसानको क्षमता विकास गर्ने कुरा महत्वपूर्ण रुपमा अघि बढाउनुपर्छ। क्षमतासँगै उत्पादनको बजारीकरण र बजारीकरणको लागि गर्नैपर्ने काम उपभोक्ता सचेतना हो।  थोरै लगानीमा हुने कामलाई वास्ता गरिएको छैन् अनि ठूलो ठूलो योजना बनाएर ठूलो बजेट असफल भएका प्रशस्त उदाहरणहरु हामीले देखिरहेका छौं। संघ, प्रदेशले योजनाहरु बनाउँदा गाँउका अनुभव हासिल गरेका समूदायसँग बसेर बनाउनुपर्छ। सोही अनुसार नीति नीति डिजाइन गर्नसक्नुपर्छ।

शिक्षा क्षेत्रमा रोल मोडल
नेपालमा विद्यार्थीको संख्या घट्दो क्रममा छ। नेपालको शिक्षा बिग्रिनुमा शिक्षकहरुको हात छ भनेर गाली गर्ने गरिन्छ तर सबै शिक्षक गलत छैनन्। सबैलाई एउटै नजरले हेर्नु हुँदैन्। त्यसकारण गुण र दोषलाई विश्लेषण गरेर दण्ड र प्रोत्साहनको व्यवस्थासहित काम गर्नुपर्छ। रोङ गाँउपालिकामा शिक्षा सुधार क्षेत्रमा नयाँ मोडल अपनाइरहेको छ। अभिभावक, शिक्षक र विद्यार्थी तीन पक्षलाई जिम्मेवार बनाएर काम गरिरहेको छ। 

रोङ गाँउपालिकामा शिक्षाको गुणस्तर सुधार गर्नको लागि अभिभावकलाई जिम्मेवार बनाउने अभियानमा जुटेको छ। बाल स्याहार, पोषण, कर्तव्य, अधिकार, रहनसहन, संस्कार परिवारले कस्तो दिने भन्ने कुरा घरबाट नै हुने भएकाले त्यसलाई प्राथमिकता दिएको छ। विद्यार्थीहरुको ७० प्रतिशत समय अभिभावकसँग बित्ने भएकाले अभिभावकहरुलाई बढी जागरुक गराइरहेका छौं। वालवालिकाको शिक्षा सुधारमा शिक्षकहरु भन्दा बढि जिम्मेवार अभिभावक हुन्। तर उहाँहरु जिम्मेवार हुनुहुन्न।  त्यसकारण रोङ गाँउपालिकामा महिनामा एक दिन अभिभावक विद्यालय आउनैपर्ने व्यवस्था गरेको छ। नआए वडाको सिफारिस रोकिन्छ।

हामीले अभिभावक शिक्षाका लागि सहजीकरण पुस्तिका बनाएका छौ। त्यसमा ४० जना शिक्षकहरु हुनुहुन्छ। महिनाको एकदिन सबैलाई पढाउने व्यवस्था गराएका छौं। देशको पहिलो कार्यक्रम हामीले सुरु गरेका हौं। यसले अभिभावकहरु जिम्मेवार र सचेत हुन्छन्। शिक्षकलाई पनि योग्य र अनुशासित, प्रविधिमैत्री बनाउन सहज गराएको छ। यही परियोजना अन्तरगत विद्यालयमा पाँच करोडको हाराहारीमा इलेक्ट्रोनिक डिभाइसहरु जडान गरेका छौ। हामीसँग भएका शिक्षकहरु केहीलाई बाहेक कम्प्युटरको ज्ञान थिएन। समयले प्रविधि ल्याइसक्यो नजान्नु अपराध होइन तर सिक्नुपर्छ भन्ने वानीको विकास गराएका छौं। प्रविधिमैत्री तरिकाले शिक्षकहरु पनि योग्य बनाएका छौ। यसका साथै उनीहरुलाई अनुशासित बनाउनका लागि पनि अनुगमनको पाटो अगाडि बढाएका छौ।

विद्यार्थीहरुको लागि पनि सरकारी विद्यालयमा उद्यमशिलताको विषय राखेका छौ। स्कुल तहबाट नै उद्यमशिल बनाउने भनेर यस्तो कार्यक्रम सुरु गरेका हौं। यसको लागि अति आवश्यक कुरा भनेको वित्तिय साक्षरता हो। त्यस्तै पैसाको महत्व बुझ्नु पर्छ, बचतको संस्कार हुनुपर्छ भन्ने मानसिकताको विकास गर्न यस्तो नौलो अभियान थालेका हौं। उद्यमी भयो भने सफलता हासिल गर्न सकिन्छ भनेर हामीले विद्यालय स्तरबाट नै सिकाउन थालेका हौं। सबै विद्यार्थीहरुको बैंक खाता खोलिदएका छौ। दिनको एक रुपैयाँ गाँउपालिकाले सबै विद्यार्थीको खातामा जम्मा गरिरहेको छ। उनीहरुले पनि न्यूनतम जम्मा गर्नैपर्ने अनिवार्य व्यवस्था गरेका छौं।

हाल खोलिएको बैंक खाता लक भएर बसेकाले १२ पास गरेपछि अथवा कलेज जाने बेलामा उसको खाता खुल्ने व्यवस्था मिलाएका छौं। कुनैपनि गरिबका छोराछोरी कलेज जाने पैसा नभएका कारण घरमा बस्न नपरोस भनेर ‘अध्यक्षसँग विद्यार्थी’ भन्ने कार्यक्रममार्फत बचत कार्यक्रमलाई चलाएका छौ। कलेज जाने विद्यार्थीहरुलाई जीवनउपयोगी सीपहरु पढाइसँगै कसरी सिकाउदैँ लाने भनेर अन्य सीप सिकाउने कामहरु पनि भइरहेका छन्।

चारवर्षभित्रै जीवनउपयोगी सीप कसरी दिन सकिन्छ भनेर देशभर रहेका विद्यार्थीहरुको डाटा संकलन गरेर अहिले यसको पूर्वतयारीमा छौं। अभिभावक, विद्यार्थी र शिक्षकलाई जिम्मेवार, योग्य, अनुशासित बनाएर समुदायलाईसँगै जोडेर लाने हो भने शिक्षको गुणस्तरमा सुधार आउछ। तर शिक्षक एक्लैलाई गाली गरेर केही हुदैँन्। सोही कारण बचत, अभिभावक शिक्षा र शिक्षकलाई नै पढाउने कार्यक्रम नेपालमै पहिलो पटक सुरु गरेका हौं। हामीले सुरु गरेपछि धेरैवटा पालिकाले त्यसलाई लागू गर्नु भएको छ। यही मोडलाई अघि लैजाने हो भने दुई चार वर्षमा सामुदायिक विद्यालयले नै राम्रो भविष्य दिन्छ भन्ने अवस्था आउन सक्ने सम्भावना छ। विद्यार्थीहरुको बचत कार्यक्रमका बारेमा बुझाउन सुरुमा निकै चुनौतिको सामना गर्नुपरेको थियो।

काम गर्न अझै बाँकी छ
रोङ गाउँपालिकाले सबै क्षेत्रमा उत्तिकै महत्वका साथ काम गरिरहेको छ। लोपन्मुख जातिहरुको उत्थानको लागि गर्नुपर्ने थुप्रै कामहरु छन्। उनीहरुको धर्म संस्कृति, परम्परा, भाषा, संस्कृतिको संरक्षण सम्बद्र्धन र प्रवद्र्धनमा गर्नुपर्ने धेरै काम छन्। उहाँहरुलाई आर्थिक रुपमा सक्षम बनाउनुपर्छ। आर्थिकरुपमा सक्षम भएपछि उहाँहरुको लगानी शिक्षा, स्वास्थ्यमा गर्नुहुनेछ। त्यस कारण उहाँहरुलाई व्यवसायी बनाउने, उत्पादनको बजारीकरण गर्ने, रोजगारी सिर्जना गर्ने, अवसरहरु दिने कुरामा हामीले काम गरिरहेका छौं।
कृषि उत्पादको ब्रान्डिङ, प्याकेजिङको कुरा वास्तवमा सिमान्तकृत, आदिवासी, जनजाति, लोपोन्मुख, गरिब, दलितहरु, गाउँमा रहेका किसानहरुका पक्षमा गर्नुपर्ने छ।  उनीहरुको उत्पादनलाई बजारीकरण गरेर समग्र आर्थिक अवस्था मजवुद पार्ने काम पहिलो प्राथमिकता राख्नुपर्नेछ। धर्म संस्कृति, परम्परा, भाषा, संस्कृतिको संरक्षणमा राज्य र उहाँहरु स्वयम्ले गर्न सक्ने बनाउनु नै दिगो समाधान हो जस्तो लाग्छ। 
युवाहरुलाई पनि प्रविधिमैत्री बनाएर गाउँमै बस्नसक्ने अवस्था बनाउन थुप्र्रै कामहरु गरिरहेका पनि छौं। अहिलेको आधुनिक समयमा गुन्दु्रक पुरानो मोडल हो। यसले मार्केट लिदैन भन्ने छैन। यो त जति पुरानो भएपनि पुरानो हुनेवाला छैन। पुर्खाले बनाएको गुन्दु्रक स्वास्थ्यको हिसावले पनि उतिनै फाइदा छ। यो सुपरफुड हो। हामी यसलाई सब्जी मात्र भनेर व्याख्या गर्छौ यो त औषधी हो। गुन्दु्रक खाएपछि पेटको कब्जियतको समस्या समाधान हुन्छ। त्यसैले आधुनिकताको नाममा गुन्दु्रकलाई पुरानो भन्न पर्दैन। त्यसैले यस्ता रैथाने व्यवसायमा युवाहरुलाई आकर्षिक गराउने कुरामा पालिकाले काम गरिरहेको छ। 
दुई भागमा विभाजित भएका युवाहरुमध्ये सहर र गाउँको तुलना गर्न सकिदैन्। सहरी भेगमा भएका युवा पुस्ताहरु उत्पादनमा जोडिन चाहदैनन्।  गाउँ त अझै पनि गाउँ नै छ। गाउँले गर्ने काम र बजारले गर्ने काम त फरक छ। बजारले उपभोग गर्ने हो। गाउँमा बस्ने युवाहरुले उत्पादन गर्ने हो। सहरकाले उपभोक्ता लागि सप्लाइ गर्ने हो। त्यसैले हामी गाउँ र सहरलाई उत्पादनसँग जोडेर समृद्ध समाज निर्माणमा क्रियाशील छौं।

(इलामको रोङ गाउँपालिका अध्यक्ष मनि कुमार स्याङ्बो(सुवास)सँग कुराकानीमा आधारित)
 

प्रकाशित मिति: : 2025-03-06 13:15:00

प्रतिकृया दिनुहोस्